कथाको कथा
कथाको कथा कथा उम्रनलाई उर्वर भूमि, जलवात र खनजोतको त्यत्रो विधि आवश्यकता पर्दैनरहेछ । अकस्मात् पानी परेझैं नीलो आकासबाट, अनि हरियाली छाएझैं मरुभूमिमा । हलक्कै बढ्दारहेछन् इच्छाका बिरुवाहरू । तिनीहरूमा कोपिला लाग्दारहेछन् आशाका । अनि फक्रिदारहेछन् चाहनाका फूलहरू । र, कथा सयपत्रीको पहेंलो थुँगाजसरी मुस्कुराउँदोरहेछ । नवीन अनुभूतिको नभमा उदाउँदोरहेछ जूनझैं । कथारम्भ कथाको आगमन यसरी अपर्झट भइदिन्छ । श्रोताहरू सुन्ने छैनन्, दर्शकहरू हेर्नेछैनन्, पाठकहरू पढ्नेछैनन् किनकि अनगिन्ति पर्दाहरूमा अनेक कथाहरू यसरी झुल्किरहँदारहेछन् । कसैले कुनै चासो नराखे पनि यो कथा अगाडि बढेको छ । अनगिन्ति नयनहरूमा कथाहरू यसरी नै नाच्दारहेछन् । कथारुपी फूलहरू सुवास छर्दारहेछन् अनेकौं कथाबस्तीहरूमा । यो कथामय संसारमा बेमेल कथाका समान पात्रहरू मिल्दाजुल्दा कथानक बोकेर मिसिदा पनि रहेछन् । त्यस्तै श्लेष कथाका नङमासुतुल्य चरित्रहरू नदीका दुई किनारा बनेर बग्दा पनि रहेछन् । यसैले पनि यो कुनै विशिष्ट कथा होइन । यस कथामा फुल्ने सुनगाभा र रमाउने मयुरहरू फगत यै कथाका लागि विशिष्ट होलान् । कथाको असरल्ल ताँतीमा अरु ...