कथाको कथा
कथाको कथा
कथा उम्रनलाई उर्वर भूमि, जलवात र खनजोतको त्यत्रो विधि आवश्यकता पर्दैनरहेछ । अकस्मात् पानी परेझैं नीलो आकासबाट, अनि हरियाली छाएझैं मरुभूमिमा । हलक्कै बढ्दारहेछन् इच्छाका बिरुवाहरू । तिनीहरूमा कोपिला लाग्दारहेछन् आशाका । अनि फक्रिदारहेछन् चाहनाका फूलहरू । र, कथा सयपत्रीको पहेंलो थुँगाजसरी मुस्कुराउँदोरहेछ । नवीन अनुभूतिको नभमा उदाउँदोरहेछ जूनझैं ।
कथारम्भ
कथाको आगमन यसरी अपर्झट भइदिन्छ । श्रोताहरू सुन्ने छैनन्, दर्शकहरू हेर्नेछैनन्, पाठकहरू पढ्नेछैनन् किनकि अनगिन्ति पर्दाहरूमा अनेक कथाहरू यसरी झुल्किरहँदारहेछन् । कसैले कुनै चासो नराखे पनि यो कथा अगाडि बढेको छ । अनगिन्ति नयनहरूमा कथाहरू यसरी नै नाच्दारहेछन् । कथारुपी फूलहरू सुवास छर्दारहेछन् अनेकौं कथाबस्तीहरूमा । यो कथामय संसारमा बेमेल कथाका समान पात्रहरू मिल्दाजुल्दा कथानक बोकेर मिसिदा पनि रहेछन् ।
त्यस्तै श्लेष कथाका नङमासुतुल्य चरित्रहरू नदीका दुई किनारा बनेर बग्दा पनि रहेछन् । यसैले पनि यो कुनै विशिष्ट कथा होइन । यस कथामा फुल्ने सुनगाभा र रमाउने मयुरहरू फगत यै कथाका लागि विशिष्ट होलान् । कथाको असरल्ल ताँतीमा अरु कसैका लागि के नै हुन् र ती ? पृथक मूल्य र महत्व बोकेका यस्तै कथाहरूबीचमै यो कथाको आरम्भ भइसकेको छ ।
कथा सागरको अथाह गहिराइमा डुबुल्की मार्दै जान्छ यो। सागरमा प्लावित रहँदासम्म कथा कलात्मक छ, सुन्दर र शालीन छ । सागरको गहिराइमा बटुलेका सपनाहरू सतहको यात्रापर्यन्त परिवर्तित हुनेछन् । कथाले आरोहहरूमा ताली पाउनेछ, प्रशंसा पाउनेछ । कथामा फुल्ने पुष्पवाटिकामा अलमलिएर बेचैनीबाट राहत महसुस गर्न अरु कथाहरू आइपुग्नेछन् । यो कथामा उघ्रिएको नीलो आकास र न्यानो घाममा ढाड सेक्न उद्यत हुनेछन् तिनीहरू । तर कथामा लतपतिएका मैला रङहरू पुछ्न कुनै कथाहरू आउनेछैनन् । घँगेरीका काँडाले घोचेका डामहरूमा मल्हम लगाउन आइपुग्ने छैनन् ती कथाहरू । कथामा खँजमजिएका विकृत अवयवहरूलाई सम्हाल्न होइन गिज्याउन रुचाउनेछन् ती कथाहरू । किनकि सबै सबै कथाहरूको गन्तव्य माथितिर छ तल कसैको छैन । माथि माथि जाँदा सहयात्री बन्नेछन् धेरै धेरै कथाहरू र तल तल जाँदा पर पर सर्नेछन् समीपस्थ कथाहरू ।कथाको पूर्वार्धमा कथाले स्वच्छन्द उडान भर्नेछ । मुस्कुराहट, हाँसो, उल्लास र स्वैर कल्पना ।
मध्यान्तर
अब कथाको संघर्ष सुरु हुन्छ । कथाको सुन्दर फूलमा बोझिलो झुसिल्कीराले स्पर्श गर्छ । कलिलो डाँठमा शंखेकीराले घाउ बनाउँछ । सागरको सतहबाट माथि उठेपछि कथामा अनेकौं दुदृष्टिहरू लाग्दारहेछन् । तर कथाको नियति अगाडि बढ्नु नै हो । कथाको उत्तरार्धमा कथा क्रूर बन्दै जानेछ । पापी र निर्दयी बन्नेछ । कथा हिंडेका पदचापहरूमा यस्तै विश्वासघातको गन्ध छ । कथाले डोऱ्याएका गोरेटाहरूमा दुर्नियति र षडयन्त्रका पासोहरू प्रशस्तै छन् । कथाले उकासिनको लागि पात्रहरूलाई अलमल्याउँछ । बेइमानीका पाठहरू सिकाउँछ । बदनामीका श्रृंखलाहरू घटाउँछ कथाभित्र । कथामा फुलहरूको बगैंचा दुर्गन्धित पाइखाना बन्दछ । च्याउहरू मौलाउन थाल्छन् । कथाले विश्वास, प्रेम, परिश्रम र इमानदारिता पखाल्न थाल्दछ र कथा तिलस्मी बन्न रुचाउँछ ।
अन्त्य
कथा लत्रक्क परेको छ । कथालाई घटनाहरूले तिरस्कार गर्न थाल्दछन् । कथाले अलमल्याएर राखेका पात्रहरू एकाएक गायब भइदिन्छन् । शनै शनै कथा एकोहोरो बन्छ । यस्तो एकाकीपनमा कथाको फूलबाट पत्रदल, पुष्पदल आदि झरेर कथा कुरुप बन्दोरहेछ । कथाको मयुरका प्वाँखहरू रङहीन बन्दारहेछन् । कथाको सारंगी कोलाहल गाउन थाल्दोरहेछ । हेर्दाहेर्दै कथा आफैं अभिशाप बन्दछ । र, कथा खंग्रंग झरेको छ । कथा झर्नलाई पनि त्यस्तो हुण्डरी नचाहिदो रहेछ जसरी कथा उम्रनलाई त्यस्तो उर्वर वातावरण चाहिएको थिएन ।

Comments
Post a Comment