गोसाइँकुण्ड पदयात्राको रोमाञ्चक अनुभूति


पदयात्रा भन्नेबित्तिकै त्यो खास र विशेष हुन्छ नै, चाहे जसरी र जहिले गरियोस् । अथवा मलाई यस्तो लाग्छ । पहाड, हिमालतिरको पदयात्रा त एक किसिमको ध्यानजस्तो पनि लाग्छ । हरेक साल कतै गइन्थ्यो, पछिल्लो समय कोभिडको महामारीका कारण भ्रमण तालिकामा खालिपन आएको थियो । २०७६ सालमा सिन्धुपाल्चोकको पाँचपोखरी गइएको थियो । मैले मेरो २०७७ सालको तालिकामा चाहिं “महामारी” लेखिसकेको थिएँ । महामारी हल्का मत्थर भएको मौकामा सके त डोल्पाको शे-फोक्सुण्डो वा नभए कम्तीमा संखुवासभाको गुफापोखरी जान पाए त्यसलाई मेट्न पाइन्थ्यो कि भन्ने आशा थियो । झीनो आशामा सँधैको यात्री समूहमा केही सरसल्लाह पनि भयो । तर त्यही त हो, भनेजसरी फुर्सत सबैलाई कहाँ मिल्छ र? 
गुफापोखरी लगभग निश्चित थियो, तर त्यहाँ जाँदा बाटोमा तीनजुरे-मिल्के-जलजले (टीएमजे) हुँदै गइन्छ र यसलाई ‘गुराँसको राजधानी’ मानिन्छ । यो पालि गुराँस नफुलेर पनि हामीले उचालिसकेको खुट्टा थाम्यौं र विभिन्न जात-प्रजातका गुराँस ढकमक्क फुलुञ्ज्याल कुर्ने निर्णय गऱ्यौं ।
लगभग यो वर्षको लागि कतै नगइएला कि भन्ने बेलामा नेपा-लयबाट मेरो पाण्डुलिपिसम्बन्धी फोन आयो र आखिर काठमाडौं जाने निधो गरें । यो संयोगलाई गोसाइँकुण्ड जाने साइतसँग जुराएँ । फेरि पनि केही भ्रमणका शौखिनहरूलाई सोधें । तर कसैको पनि साइत जुरेन । 
मसँग वर्षान्तमा लिन सकिने चार-पाँच दिन छुट्टी बाँकी थियो । त्यसैले तीन दिनको बिदा मिलाएर म धरानबाट निस्किएँ ।
कुरा सुरु गरौं, चैत्र २८ गते शनिबार, काठमाडौंको चीसो बिहानीबाट । ट्याक्सी व्यवसायीसँग पौंठेजोरी खेलेर तङ्ग्रिएका पठाओहरू सहरभित्रका गन्तव्य पुऱ्याइदिन एकदमै सहायक हुन्छन् तर यिनीहरूलाई हरेक कुनाकान्दरा नै थाहा हुन्छ भन्ने चाहिं छैन । स्वभाविक पनि हो सबैलाई सबैथोक थाहा हुन्न । 
मैले गोसाइँकुण्ड यात्राको सुरुवात विन्दु माछापोखरी भन्नेसम्म थाहा पाएको थिएँ । तर पठाओका सहयोगी मित्रको राम्रै प्रयासले पनि मैले खास बसपार्क भेटिनँ जहाँबाट धुन्चे जान सकियोस् । उनले गोंगबु बसपार्कमा मलाई छोडिदिए अनि म एक्लै धुन्चे जाने बस खोज्दै चहार्न थालें । थाहा छैन भने नम्र वा अनम्र नै भएर बरु “थाहा छैन” भन्नु नि । विश्वस्त भएर “उः त्याँ हो” भनेर देखाइदिन्छन् । नेपालीहरू यस्तो हुन्छन् भन्ने त सुनेको थिइँन तर भोग्न पाइयो । तीन ठाउँ गलत देखाइएपछि चौथो भने सही ठाउँमा पुगियो । एकल यात्राको पहिलो मजा त यै थियो । 
ठूलो झोला र उस्तै पोशाक देखेपछि पक्कै लाङटाङतिर होला भन्ने सोचेर तीनजनाले तीनतिर तान्न थाले । 
‘यही हो गइहाल्छ’ भनेर तीनैजना भनिरहेका छन् । म एकजना कोसँग पो जाने? 
यात्राका लागि केही रकम पनि त लिनुथियो । गोंगबुभित्रको एटीएममा पैसा निस्केको थिएन । 
मैले भनें, “म अलिकति ढिलो बसमा जान्छु ।” 
साँढे सात बजे जाने बसको मान्छेले मलाई जित्यो र काउण्टरमा लगेर भाडा मिलाइदिनू है भन्यो । रू. ६५० को टिकट ६००मा पाइयो । 
यसपछि पैसाको जोहो गरेर चिया खाँदै बस जाने समय कुर्न थालें ।
साँढे सात भनिएको बस लगभग सवा आठ तिर निस्क्यो । अगाडिको सीटमा थिएँ । सीटको छेवैमा एकजना पचासी वर्षीय ब्लोन अंकल भेटिए । उनको शारीरिक अवस्था भने पचासी भन्नलायक थिएन । एकदम खाइलाग्दा । तुरुन्त परिचय भयो । रोगको नाममा उच्च रक्तचापको मात्रै दबाइ खाँदै रहेछन् । हेर्दै निरोगी थिए उनी । स्याप्रुबेसी जाँदै थिए । उनको घर स्याप्रुबेसीसम्म जाने बस यही थियो । मैले खास खास जानकारी लुकाएँ किनकि पेशागत कुराहरू गरेर उपल्लो ठहरिन मलाई मन लाग्दैन । उनी राजनीतिक व्यक्तित्व पनि रहेछन् । उहिले सूर्यबहादुर थापाको पञ्चायती कालमा पूर्वतिर कुनै सम्मेलनको लागि गएको पनि बताए । केही क्षणमै हामी भलाकुसारीमा अभ्यस्त भयौं र उनी मेरो पथप्रदर्शकझैं भइहाले ।
“अब त तपाईं आएकै बाटो फर्कनुपर्छ ।” उनले भने । मैले विराटनगरबाट आएको भनेको थिएँ र बस काठमाडौंबाट उत्तर लाग्नुको सट्टा क्रमशः उही कलङ्की, उही थानकोट हुँदै नौबिसे तिर लाग्ने थियो । मेरो मनकै जिज्ञासालाई उनले थाहा पाएका रहेछन् । 
बाटैभरि हामीबीच अन्तरङ्ग कुराकानी हुन थाल्यो । नागढुङ्गाको निर्माणाधीन सुरुङ मार्ग देखाएर उनले विकासप्रति गौरव गरे । मैले झ्यालबाटै मुश्किलले हेरें । धादिङको सिग्रेखोला पुगेर हामी चढेको पर्यटक बस रोकियो खाजाको लागि । मैले केही खाइँन । खान मन लागेन । टहल्दै बसें । ब्लोन अंकलले केही क्षणमा धादिङ सकेर नुवाकोट पस्ने जानकारी दिए । 
गल्छी भन्ने ठाउँबाट बाटो छुटिने रहेछ । त्यहाँबाट झन् राम्रो बाटो पक्रिएर तेज गतिमा गाडी गुड्यो । केही स्थानमा भने बाटो भत्किएर उबडखाबड भएको थियो । केही सानो खोल्सो जस्तो नदी देखाएर ब्लोन अंकलले भने, “यो चाहिं ठ्याक्कै गोसाइँकुण्डबाटै उत्पन्न भइआएको नदी हो है ।”
यसरी केही दूरी पार गरेर हामी नुवाकोटको ढुङ्गेमा पुग्यौं र खाना खानको लागि उत्रियौं । एघार बजेको थियो । बसले रोकेको स्टाफ होटलभन्दा अर्कै होटलतिर जान आग्रह गर्दै उनले भने, “यता राम्रो पाउँछ खाना ।” 
यति नै बेला दुई अरु किशोरीहरू पनि थपिए उनलाई ‘आस्याङ’ भन्दै नमस्कार गरे । अलिक परतिर लाग्यौं हामी । उनीहरू तामाङ भाषामा बोलिरहेका थिए । चारजना खानाको लागि बस्यौं । साहुजी पनि तामाङ नै थिए । मलाई अलिअलि शङ्का पनि लाग्यो । मनै त हो, सोच्यो, भाषा नबुझ्दा लुटपाट भएको कुरा उहिले गाउँतिर कथा गर्थे । 
साँच्चै भान्छा स्वादिलो भयो । खानाको रू. एक हजार मैले नै तिरिदिएँ । उनीहरू अप्ठेरो मान्दै थिए । तर मलाई ती वृद्धलाई खुवाउन पाउँदा अपार खुसी आयो ।
ब्लोन अंकल त्यस बजारमा पनि परिचित थिए । सबैसँग बोल्दै घुल्दै थिए । उनले गाडी चढेपछि पनि गुनासो गरे, “तपाईं त पाहुना पो त । तपाईंलाई हामीले खुवाउनुपर्ने हो ।”
उनले ‘तपाईं’ भन्दा पनि मलाई अप्ठेरो लागिरहेको थियो । उनको भाइको लज रहेछ चन्दनबारीमा । अब उनले मलाई धुन्चेबाट जसरी नि चन्दनबारी पुग्न भनेर सम्झाउन थाले । त्यहाँबाट त बिहान तीन घण्टामै गोसाइँकुण्ड पुगिने बताए । उनले उक्साएका होलान् भन्ने सोचें । 
“बस्नको लागि म फोन गर्दिन्छु धुन्चे पुगेर ।” उनले आश्वस्त तुल्याए ।
कालिकास्थान पुगेर बसले अनावश्यक रोकावट लियो । यत्तिकै रोकेर बस्दिएपछि के गर्ने? यसै घुम्दै बसियो । ब्लोन अंकल भने केही खाजा किन्दिने प्रस्ताव गर्दै थिए । मैले कसैगरी मानिनँ ।
गाडी त चल्यो तर राम्चे नजिक बाटोमा सुख्खा पहिरो खसेको हो कि बाटोको विस्तार हो फेरि रोकावट आयो । एउटा डोजरले त्यहाँको ढुङ्गामाटो पन्छाइरहेको थियो । यसैले सानै भए पनि जाम भयो । केही मोटरसाइकल र तीनवटा जति गाडी रोकिए । धुन्चे समयमै पुगेदेखि चन्दनबारी पुग्ने आशा थियो । अन्ततः बाधा हटाएर बाटो सुचारु भयो । यी अनेक खालका ढिलाइले गर्दा तीन बजेको छेउमा धुन्चे पुगियो । अंकलका भाइसँग धेरै चोटि फोनसम्पर्क प्रयास गरे उनले, तर लागेन । यसैले चन्दनबारी पुग्नुपर्ने नैतिक बाध्यताबाट म मुक्त भएँ । आखिर म यसै निस्किएको थिएँ । म जहाँ पुगे पनि खासै फरक पर्ने थिएन ।
गाडी फेरि रोकियो । स्याप्रुबेंसी जाने र गोसाइँकुण्ड जाने बाटो अब केही क्षणमा छुट्ने जानकारी पाइयो । केही गोसाइँकुण्ड जाने मान्छेहरूले उत्रिनैपर्ने दोबाटोमै रोक्ने आग्रह गरेका थिए एक इन्च तलमाथि नगरी । पाँच मिनेट यत्तिकै बसियो र गाडी चल्यो । 
मलाई पनि लाग्यो केही किलोमिटर बाँकी नै होला । ब्लोन अंकलसमेत झुक्किएछन् । पाँच मिटर पनि नपुगी गाडी रोकियो । 
जानकारीमूलक नक्सा
झोला झिकेर म छुट्टिएँ । पैदल यात्रा सुरु भयो २:५५ बजे । एउटा जानकारीमूलक नक्सा देखें । त्यसको तस्वीर खिंचे । “तिमी यहाँ छौ” भनेर शिव मन्दिर धुन्चे लेखिएको थियो, यसको उचाइ समुद्र सतहदेखि २००० मिटर । त्यहाँबाट १ घण्टामा घट्टेखोला (उ. १९६०मिटर), त्यसको २ घण्टामा देउराली (उ. २५००मिटर), अनि डेढ घण्टामा धिम्सा (उ. २९००मिटर) र त्यसको डेढ घण्टामा सिङ गुम्बा अथवा चन्दनबारी (उ. ३२५०मिटर) पुगिने उल्लेख थियो । यसरी ६ घण्टापछि गन्तव्य पुगिन्थ्यो । तर यस्ता नक्सामा अक्सर बढी समय लेखिएका हुने हुँदा मैले यसलाई पत्याइँन । 
केही मिटरमै दुईटा उस्तै बाटो देखिए । पहाड चढ्ने मान्छे ओरालो कता लाग्नु भनेर उकालो रोजें । अलिक मास्तिर पुग्दा मसँगै निस्किएका अन्य यात्रुहरू देखिएनन् । उनीहरू चिया खान बसेका थिए । चिया खाइसकेर त मलाई पछ्याउनुपर्ने हो । म हिंड्दै थिएँ र सशङ्कित पनि हुँदै । गलत बाटोमा समय नाश भयो भने म देउराली पनि नपुग्न सक्थें र यो बीचमा बस्ने कुनै ठाउँ थिएनन् । 
झोलामा मैले लेख्दै गरेको उपन्यासको पाण्डुलिपी थियो- “झाँक्रीलोक…………”। सोचें, ‘अब धुन्चेमै दुई दिन बसेर यसमा सम्पादन, पुनर्लेखन गरिने भयो’ । तत्कालै योजना परिवर्तन भयो । समय घर्किएपछि हिंड्नुभन्दा यै ठीक थियो । आखिर म धार्मिक मान्छे पनि त होइन जसले गोसाइँकुण्डको तीर्थयात्रा भाकल गरेको होस् । बरु “झाँक्रीलोक………..” भित्र पुत्रप्राप्तिको भाकल गरेर तालमा पुगेर नुहाएको कहानी थियो । 
सोध्ने मान्छेधरि नदेखिएको समय थियो । यस्तैमा एकजना बालिका देखें एउटा घरमा । उनलाई सोधें बाटो । अनुमान एकदमै सही भयो । म गलत बाटोमा थिएँ । 
‘पहिलो गाँसमै ढुङ्गा’ भनेको यही हो सायद । अघि छोडेको बाटोतिर झरें । थप सोधनी गरें, अनि खुरुखुरु हिंड्न थालें । 
पर हुरुरु बच्चाहरू आए । लौरो बोकेर । उनीहरू लौरो बेच्न आएका थिए । मलाई पनि लौरो किन्नु थियो । एक छिनमा लौरो-व्यापारी तामाङ केटाहरू भेट्टाएँ । जिस्किंदै तामाङ भाषाका केही शब्दहरू बोलेको त उनीहरूले के के जाति भन्न थाले । पक्कै छाडा गालीहरू गरे होलान् । गरून् न त भनेर एउटा राम्रो लौरो छानें र बीस रुपियाँ दिएँ । होचो मान्छेलाई अलिक लामो लौरो परेछ । 
लौरो किनिसकेको भए पनि लौरो व्यापारी केही बच्चाहरू मतिर आए, ‘कि चकलेट कि चकलेट खाने पैसा’ माग्न थाले । मसँग खुद्रा जति थियो सबै दिएँ । एउटा बच्चोलाई दश दिएर अर्की बच्चीसँग “बाँड्नू” भनें । तर ती बच्ची गुनासो गर्दै थिइन्, “यसले बाँड्दैन अंकल । मलाई पनि दिनू न ।”
अब मसँग हजारका नोटहरू थिए । त्यत्रो त दिन सक्दिनथें । मैले “बाँड्नू है भाइ” भनेर सम्झाएँ र तिनीहरूबाट छुट्टिएँ ।

घट्टेखोलासम्म जाने बाटोलाई कङ्क्रीट बनाउँदै थिए केही ज्यामीहरू । मलाई मन परेन यो चाहिं । बरु माटो-ढुङ्गाकै छोडिदिएको भए हुने । यस्तो कङ्क्रीटमा हिंड्न मजा आउँदैन । अलिक पर एकजना ज्यामी कम्मरमा खुकुरी भिरेका थिए । उनीसँग लौरो मिलाउन लगाएँ । अब यो छरितो भयो । पदयात्राको सहारा लौरो नै हो । यसरी स्थानीय बच्चाहरूले बनाएको लौरो अझ काइदाको हुन्छ । 
हिंड्दाहिंड्दै म अन्य यात्रीहरूभन्दा अघिअघि हुँदै घट्टेखोला पुगें । भिडियो बनाउँदै तरें । एकल यात्रामा फोटो-भिडियो खिच्न चाहिं गाह्रो हुने । समूहमा जाँदा पोज दिए पुगिहाल्थ्यो । त्यसो त म फोटोको शौखिन मान्छे हुँदै होइन । अथवा आजभोलि छुइन । 
खोला तरेर उकालो सुरु भयो । जङ्गलको बाटो । यहाँ त बाटैभरि पदयात्रीहरू थिए । म तिनीहरूभन्दा बिस्तारै अघि लागें । धेरैजसो हैरान भएर हिंडिरहेका थिए । एउटा उकालो सकिएपछि सानो चौतारो आयो । त्यहाँ तीन जना यात्रुहरू थिए । लाग्यो, यिनीहरू चैं पोख्त हुन् । अंग्रेजी गीत बजाउँदै उनीहरू त्यहाँबाट हिंडिहाले । 
म एकछिन विश्राम गरेर बसें । झोलामा केही पनि खानेकुरा थिएन । पानीसम्म बोकेको थिइँन । ‘किन्छु’ भन्दाभन्दै बिर्सिएको थियो । 
जङ्गलको बीचमा बाटोको यता र उता कोही पनि थिएन । बाटैमा मुतिदिएँ । हुन त ‘बाटोमा मुत्यो भने धुँवाले खेद्छ’ भन्ने उक्ति सुनेको थिएँ । तर धुवाँले खेदेरै त सहरहरूबाट जङ्गलहरूतिर हिंडिदै थियो । देश वायुप्रदूषणमा विश्वमै पहिलो नम्बरमा आइरहेको खबर थियो । 

बाटोमा एक्लै हिंड्नुको मजा यस्तै नै हुन्छ । उहिले एकचोटि काठमाडौंबाट नगरकोट पैदल जाने क्रममा एकजना दाइले भनेको सम्झिएँ, “एक्लै हिंड्दा जे पनि सोच्न पाइन्छ जब कि दुईजना भयो भने सोच्दा पनि लाज लाग्न सक्छ ।”
सल्लाहरूको सिरेटो सुन्दै उकालो लागियो । केही बेरमा अघिका पोख्त तीन युवा भेटिए । सानो पसलमा उनीहरू ‘शिवजीको प्रसाद’ माग्दै थिए । उनीहरूसँग छोटो कुरा भयो । मैले कोक र केही चकलेट किनें । एउटै चकलेटको पचासी वा नब्बे रुपियाँ थियो क्यार । 
म उकालो लागें । उनीहरू केहीबेर अलमलिए । मजा लाग्दै थियो ‘सबै यात्रीहरूलाई जितियो’ भनेर तर अब पो भेटिए पसिना खलखली बगाउँदै हिंडिरहेका एक हूल यात्रीहरू । धनुषाका साथी थिए त्यस टोलीको अग्रस्थानमा । उनी पनि ठाडो उकालोमा लुसुलुसु हिंड्दै थिए । मैले केहीबेर उनीसँग गफ गर्दै हिंडे । त्यो समूह ६ जनाको रहेछ । उनीहरू धुन्चेबाट एक बजे नै हिंडेका रहेछन् । देउरालीमै बस्ने खालको योजना सुनाए । 
अब भने म सबभन्दा अगाडि भएँ । प्रतिस्पर्धा गरेको त होइन तर त्यस्तै भयो भनूँ न । देउराली पुग्दा सवा पाँच भएको थियो । त्यहाँ पानी पिएँ । त्यहाँका साहुजीले माथि जान टाढै पर्ने बताइरहेका थिए तर ब्लोन अंकलले त ६ बजेसम्म जसरी नि चन्दनबारी पुग्ने हौसला दिएका थिए । 
धनुषाका मित्रसहितको समूह पनि आएपछि म उकालो लागें । पातलो पातलो जङ्गल तर एकदमै अग्ला रूखहरू भएको रमाइलो बाटो थियो । ठाडो उकालो । सायद यस्तो उकालोलाई टोपी खस्ने भन्न मिल्छ नै होला ।
भुइँमा झरेका पातहरूमा सुमुसुमु हिंड्दै, गोधुली साँझको मजा लिंदै, पहाडहरू हेर्दै जब धिम्साको पहिलो लज पुगियो, ठीक ६ बजेको थियो । अब भने अगाडि बढ्न सकिने थिएन । हिंडाइको चरम मजा आइसकेको थियो । शरीरले विश्राम नै खोजेको थियो । एउटा कुकुर भुक्दै आयो । केही दिउँ भनी गोजी छामेको उही महँगो चकलेट भेटियो । त्यही टक्र्याएँ त्यसलाई । कपाकप खायो । पक्कै खुसी भयो होला त्यो ।
कोठा हेरें अनि केही लुगा फेरेर म भान्छाकोठातिर पसें । तान्दुर वरिपरि दुई जना विदेशी रहेछन् । खासमा विजेता त यिनीहरू पो रहेछन् । सबैलाई उछिनी आएर बसिसकेका रहेछन् । 
मैले सोझै सोधें, “फ्रेन्च?”
तिनीहरू बोलेकोबाट बाठो भइटोपलेर सोधेको त, हो पो रहेछ । ढाँटेका होइनन् भने उनीहरू फ्रेन्च थिए । तिनीहरू यस्तो महामारीको बेला पनि नेपालको पर्यटन धान्न आएको भनेर मैले जिस्काएँ तर उनीहरू यतैका कर्मचारी हुन् रे कुनै संस्थाका । 
मैले अंग्रेजी बिगारेर बोलें, क्रियापद र कर्ता नमिलाई । आखिर हाम्रो भाषा उनीहरू बिगारेरै बोल्छन् । त्यसमाथि फ्रेन्चसँग अंग्रेजी बोल्दा नि किन उपर-जान्ने हुनु?
एकछिन विभिन्न पदयात्राको गफ लाएँ । अन्नपूर्ण आधार शिबिरको कुरा गर्दै गर्दा हल्का दाह्री पालेको नेपाली आएर जिभ्रो फड्कारेर झन् धेरै गफ लाउन थाल्यो । ‘बीचमा किन बोल्छ’ भनेको त तिनी त विदेशीहरूको पथप्रदर्शक पो रहेछन् । परिचय भयो र हिमचिम पनि भयो । 
उनीसँग गफ गरिसाध्ये भएन । अन्नपूर्ण ५०-५२ पटक, सगरमाथा आधार शिबिर नै ६०-७२ पटक, अरू त कति हो कति । 
पेशा नै त्यही भएपछि कुदेको कुद्यै रे । जे होस्, मान्छे त आत्मीय लागे । 
एकैछिनमा सबै तल छोडिएका यात्रुहरू थपिन थाले । त्यो लज भरिभराउ भयो । सबैले विभिन्न खानेकुरा खाइयो । लसुन हालेको चाउचाउ खाएँ सुरुमा मैले । अनि फेरि पछि खाना खाइयो ।
तीन जनाको टोलीका गफ सुन्न थालियो । तिनीहरू युवा थिए काँचो उमेरका । एकजना मेरोझैं दाह्री पनि पालेकोले झन् निकट भए ।
उनीहरू पनि यत्तिकै हिंडेका थिए योजनाविहीन । ‘पोखरा जान नि सकिन्थ्यो तर यता आइयो’ भनेर गफ सुनाए । एकजना थिए, जापान बसेर मस्त कमाएको रे । तर फर्कँदा चाहिं यताबाट हवाइ भाडा पठाउनुपरेको रे । अर्को अष्ट्रेलिया बसी आएको । उस्तै कहानी । उनीहरू लगायत पर्यटकको गाइड र थप केही भाइहरूले मासु र झ्वाइँखट्टे दन्काए ।
बाउको रेडलेबल लुकेर खाने, अनि बोतलमा पानी हालेर टक्कसँग लेभल मिलाएर राखिदिने कहानी सुनायो कसैले । रक्सी पिएर घर आउँदा ढोका नखुलेपछि बाहिरै सुत्नुपरेको कथा सुनायो अर्कोले । सबैका रमाइला कहानीहरू सुन्न पाइयो । 
बाउले गाली गरेको प्रसङ्गमा उनीहरूको वार्तालाप जस्ताको तस्तै-
“हाम्रो बाउले हामीलाई गाली गरे, हाम्ले हाम्रो छोरालाई गाली गर्छौं । सिकाउनैपर्दैन के । कुट्ने, गाली गर्ने हाम्रो हेरिडिटीमै छ के ।”
अर्कोको भनाइ, “विदेशाँ बच्चा कुट्यो भने फोन गरेर आमाबाउ जेलाँ, बच्चा केयर वालामा ।”
फेरि अर्कोको भनाइ, “फेरि ऐलेसम्म बाउले बना’को घरमै बसिराछौं, बाउले ल्याइदियो भने खाने, नभए भोकै ।”
“अरु के कुरा? यही गोसाइँकुण्ड जान नि बाउसँग पैसा माग्नु परिरा’छ ।” भनेर अर्कोले हँसायो ।

आत्मीयता बनिसकेपछि म सुतें । कोठामा थप उही पथप्रदर्शक सुत्ने कुरा हुँदैथियो । तर कोही आएन । केहीबेर “झाँक्रीलोक……..”को पहिलो प्रिन्टेड खेस्रा खोलें र केही थपघट गरें । मीठो निद्रा पऱ्यो ।
बिहान सबेरै उठिएछ । बाहिरी वातावरणमा केहीबेर रमाएँ । सेता र गुलाबी रङका गुराँसहरूको तस्वीर लिएँ । अब खास कुर्नु थिएन, बाटो हिंड्न मन लागिसकेको थियो । ब्रश गरें, चीसो पानीले हातै हराउला जस्तो थियो । मुख धुने हिम्मत आएन ।
साहुले ‘सबेरै उठ्छु’ भनेका त थिए, तर उठेनन् । पटकपटक ढोका ढकढक्याएँ पाँच मिनेट । अँहँ खोलेनन् । अब ओछ्यानमै पसिने भो भन्दै अलिक पर पुग्दा ढोका खुल्यो । केही बिस्कुट किनें अनि चिया बनाउन लगाएर खाएर ठीक ६ बजे फेरि उकाल्लिएँ ।
मास्तिर एउटा रूखको आडमा मोबाइल अड्याएर आफ्नै तस्वीर लिएँ । 
सेल्फ टेकन इमेज
यो भने मजाको आएछ । चालीस मिनेटमै चन्दनबारी पुगियो । अघिल्लो दिन अलिकति कसरत गरेको भए त पुगिने रहेछ । त्यहाँ दुई मिनेट बिसाएर फेरि हिंडे । एउटा चीज कारखाना पनि थियो अनि धेरैवटा लजहरू र एउटा राम्रो गुम्बा पनि । एकजना ओरालो झर्ने मान्छेले मलाई ढुक्क बनाउँदै भने, “ल ल तीन बजेसम्म आरामले पुग्नुहुन्छ ।”
यसभन्दा माथिको बाटो भने रमणीय थियो । दृश्यहरू रमाइला । जङ्गलका अग्ला रूखहरू । बाटो पनि मट्यौलो । पूरै उकालो पनि होइन । सुस्त गतिमा हावाको बहावमा शीतलता लिंदै हिंड्दै बाटो पार गरें । 
चौलाङपाटि
अबको अर्को स्टेशनको नाम चौलाङपाटी जसको उचाइ समुद्र सतहदेखि ३५५० मिटर उल्लिखित थियो । यहाँ मलाई खाजा खानुथियो । दुई घण्टाभन्दा बढी लाग्यो यहाँ पुग्न । यहाँ चारजना पदयात्रीहरू थिए तीन केटा र एक केटी । खासमा सबैलाई जित्ने यिनीहरू रहेछन् । अघिल्लो राति आठ बजे त्यहाँ आएर बसेका । बस्नुपर्ने ठाउँ त यो पो रहेछ । लाङटाङ हिमालसहितका हिमशिखरहरूको पङ्क्ति कति मजाको देखिने रहेछ । एकदमै सपाट । 
लसुनमिश्रित चाउचाउ खाएँ टिम्मुर हालेर । साह्रै स्वादिलो थियो त्यो । यताउता टहलेर आधा घण्टा बिताएँ अनि फेरि हल्का उकालो खालको बाटो लिएँ । 
अब रूखहरूको उचाइ ह्वात्तै घटेको पाएँ । पोथ्रापोथ्रीहरू मात्रै थिए । गुराँस, धूपी अनि काँडेदार झाडीहरू । भुइँफूलहरू । 
ती चारजना फुर्तिला थिए । उनीहरूले फटाफट हिंडेर मलाई उछिने । केहीबेरमै उनीहरू मास्तिरको डाँडाको घर पुगेको देखें । त्यो थियो लौरीबिना (उ. ३९०० मिटर) । लौरीबिना त पाँचपोखरी जाँदा पनि भेटिएको थियो । लौरीबिनादेखि अगाडि लौरो नलिई जानुपर्छ भन्ने मान्यतालाई शिरोपर गरिएको थियो गत साल । तर यसपालि जानु धेरै थियो । लौरी छोड्ने कुरा भएन । 
लौरीबिनामा चिया पाइएला कि सोचेको बन्द देखें । बेयाममा यात्रा गर्नुको पीर यहि हो । नजिक धारा पनि देखिनँ । पानीको अभाव भयो । जताततै हिउँको थुप्रो भने पग्लिन नसकेर बसेको थियो । पुरै हिममय त थिएन तर कापोतिर अड्किएको हिउँ मनग्गे थियो । मसँग कोक खाइसकेको बोतल छँदै थियो । पानी निर्माणको लागि त्यसैमा हिउँ भरेर गोजीमा हालें । शरीरको तापक्रमले पग्लिएला भन्ने मेरो सोचाइ ।
म आफ्ने गतिमा उकालो लागें । कसैले ससाना ढुङ्गाहरू खातखात पारेर राखेको थियो । त्यसको कोण मिलाएर तस्वीर लिने क्रममा एकजना दाह्रीवाल ओरालो झर्दै आए । उनले मसँग परिचय गरेर केही फोटो लिइदिने प्रस्ताव राखे । मैले स्वीकारें । 
नाम र फेसबुक ठेगाना पनि आदानप्रदान भयो । मैले ‘बैशाख एक गते फेसबुक खोल्छु त्यसपछि साथी बनूँला’ भनें । 
डाँडाको टुप्पोमा गुम्बा थियो । बौद्ध विहार यसको नाम थियो  र उचाइ ४१५०मिटर । डाँडाको धारैधार हिंड्नुपर्ने भएकोले उत्पातै हावा चल्ने । सोचें, झोला नबोकेको भए मलाई उडाउँथ्यो होला हावाले । 
बौद्ध विहार पुग्दा दुईजनाको समूहसँग भेट भयो । कृषिसम्बन्धी कुनै विज्ञ थिए । दुवै भ्रमणका शौखिन । मलाई समूहमा आबद्ध गराइहाले युवाचाहिंले । अर्का अलिक पाका उमेरका व्यक्ति त्यति बोलेनन् । युवाले शे-फोक्सुण्डो भ्रमणको पूरा वर्णन सुनाए । 
यहाँदेखि अगाडिको बाटो तेर्पाया तेर्पाया थियो । उकालोको समाप्तिले मन फुरुङ्ग भयो । सेनाद्वारा निर्मित फलामे बार रहेछ बाटोको एकतिर जसले लड्नबाट बचाउन सकोस् । हुन त तिलिचो जाँदा ‘ल्याण्डस्लाइड एरिया’ भन्ने ठाउँजत्तिको बिसिलो यो बाटो थिएन । तैपनि २.५८ किलोमिटर बाँकी बाटो यसरी नै बारिएको थियो । 
हिंड्दै जाँदा हिउँ-बोतल निकालेको त, पानी बनेकै रहेनछ । पाका साथीसँग पानी मागेर खाइदिएँ । केहिबेरमा त्यही बारेको बाटोमा पनि मस्ति मर्ने उकालो आयो । खुइय्य भइयो । अलिक अक्सिजन कम थियो होला त्यहाँ । गति सुस्त थियो । 
तिनीहरूसँग हिंड्नुको फाइदा त्यहाँ देखिने साना कुण्डहरूको नाम जानकारी पाइयो । सुरुमा देखिने सरस्वती कुण्ड अनि अलिक ठूलो भैरव कुण्ड र यससँगै गोसाइँकुण्ड, जुन बाटो सकिएपछि मात्रै देखिने थियो । लगभग पाँच मिनेट जति दूरी बाँकी हुँदा उनीहरू पनि सरासर अघि बढे । 

मलाई केको हतार? म सुस्तरी प्रवेश गरें । एउटा ठूलो त्रिशुलनेर १७ वटा कुण्डहरूको नाम र समुद्र सतहदेखिको उचाइ लिखित थियो । अनेक तालहरूमध्ये गोसाइँकुण्डको ४३८०मिटर र अझ माथि गए सूर्यकुण्डको ४६७० मिटर लिखित थियो । 
यहाँबाट मेरो गन्तव्य आइसकेको थियो । समय मध्यान्ह १२:३७ भएको थियो । त्यहाँको हावाको स्वादै बेग्लै थियो । म पुलकित भएँ । मभन्दा अघि हिंडेकाहरू बिसाउँदै थिए । उनीहरू यहीं बस्ने योजनामा थिए । त्यसो त यो उनीहरूको दोस्रो वा तेस्रो पटक थियो । यात्रीमध्येकी केटीको भोलिपल्ट जन्मदिन भएकोले जन्मदिन मनाउने क्रममा कुण्डमा डुबुल्की मार्ने योजना थियो उनीहरूको । मान्छेका शौख र रहरहरू पनि अचम्मका हुने!
मलाई त धीत मरिगयो । त्यहाँबाट सबभन्दा नजिकको दूरीमा सूर्यकुण्ड थियो । प्राय यात्रीहरू त्यहाँ चैं पुग्दारहेछन् । तर मलाई त्यता चढ्ने जाँगर पलाएन । 
जुत्तामोजा खोल्दा मजा आयो । बाहिर एउटा काठे बेन्चमा सुतिदिएँ । घामको मिठो ताप थियो । फाट्टफुट्ट पर्यटकहरू आउँदै थिए । 
मैले फ्राइड राइस खाने विचार गरें । भोक त मजाकै थियो । अघिल्लो रात फ्रेन्चहरू मजा मानेर खाँदै थिए, चीजमिश्रित फ्राइड राइस । त्यही भएर पनि मलाई रहर लागेको थियो तर खाँदै जाँदा त गाह्रो भयो । चिल्लो धेरै भएर एक थालमा पनि झुसी भरिएको त्यो खानेकुरा पूरा खानै सकिनँ । जति सक्यो खाएर मैले कुण्डछेउको मन्दिर जाने विचार गरें । 
जुत्ता नलगाई ढुङ्ग्यौलो बाटोमा हिंड्न सास्ती नै भयो । पाँच देखि आठ मिनेट जति लाग्यो होला तल झर्न । पैतालामा तीखा ढुङ्गाको घोचाइ सहँदै मन्दिर पुगें । परैबाट नमस्कार गरें । त्यो हिन्दूखालको मन्दिर थियो सायद महादेवको तर यति धेरै तिब्बती लिपि-अङ्कित लुङ्दरहरू थिए कि बौद्धगुम्बाजस्तो प्रतीत हुने ।
म चीसो पानीमा खुट्टा डुबाएर केहीबेर बसें । मन फुरुङ्ग हुने अनुभूति भयो । वरिपरि हिमाच्छादित पहाडहरू । चीसो हावा । पारिलो घाम । अनि सङ्लो पानी । 
शून्यता ।
फगत शून्यता ।
पुगेदेखि एक घण्टा बिताइएछ । कारणवश ढिलो भएको भए म त्यहीं बस्ने थिएँ तर समय रहेकोले फर्कने विचार गरेर निस्किएँ । तीनजना मभन्दा अघि थिए, ती अघि नै रहे, मैले भेट्न बल गरिनँ । बरु मसँग अघिल्लो दिन मित्रता गाँसेका साथीहरू पालैपालो भेटिइन थाले । मैले उनीहरूको मनोबल बढाउन ‘एकदम नजिक छ, अब त आइहाल्यो नि’ भन्दै बाटो लिइरहें । 
झराइको यात्रा कत्ति पनि गाह्रो भएन । 
फलामे बार सकिएपछिको ठाउँ (बौद्धविहार) पुग्न पनि एक घण्टा नै लाग्यो । यो भने अचम्म भयो । पहिलाका पदयात्रामा चढ्दा जति समय लाग्थ्यो त्यो भन्दा केही न केही समय कममै झरिन्थ्यो । तर खुट्टाको चाल र शरीरलाई थेग्दा थेग्दा भएको कठिनाइको कारण होला, पाइलाहरू फटाफट थिएनन् । लघु चाल हुने र पाँच कदमपछि बिसाउन मन लाग्ने भयो । 

बौद्ध विहारबाट तलतिर एकदमै नजिक लौरीबिना देखियो । अरुबेला भए करिब चालीस मिनेट पनि लाग्दैनथ्यो होला । तर त्यो पहाडको धारको भएको बाटोमा बिहानको भन्दा दोब्बर गति र चापमा हावा चलेको थियो । त्यो हावाले अनुहारमा यसरी हान्यो कि बिस्तारै मलाई अनुहारभरि कमिला कुदेको वा सानो घनले टुकटुक गरेर हानिरहेकोजस्तो अनुभव भयो । 
मुश्किलले लौरीबिना पुगें । त्यहाँ धनुषाका मित्र भएको ६ जनाको समूह थियो । उनीहरू थप हिंड्न नसकेर त्यहीं बसेका पो रहेछन् । मेरो यात्रा देखेर ताजुब माने । 
उनीहरूले त खुलेको लज भेटाएछन् । म पनि त्यहीं गएँ । चिया पिएँ । अघिको चिल्लो भात र चियाले गर्दा पेट बिग्रन थाल्यो । हुलुक्कै आउलाजस्तो भयो । एक खेप बान्ता गरिदिए शान्ति हुन्थ्यो । अक्सर शरीरले बान्ता खोज्दा बान्ता गरिदिनु शरीरको लागि भलाइ नै हो तर भला मान्छेहरूकै अगाडि गर्दा त लाजमर्नु पो हुन्थ्यो । फेरि लेक लागेको भनेर सोचिदेलान् । मैले लामो लामो सास तान्दै ओरालो झर्नु उचित ठानें । लामो सास लिंदै फाल्दै गर्दा पेटको हुलुक्की हरायो । 
क्रमशः रूखहरूको आकार बढेकोले बतास हान्ने समस्या हरायो । अनुहारको अनुभव कायमै थियो । बिस्तारै म कुशल भएँ तथापि खुट्टाको तागत त्यस्तो थिएन जुन अन्य भ्रमणताका हुन्थ्यो । चौलाङपाटी बस्ने निर्णय गरें अनि झन् गति घटाएँ । आखिर के हतार? पाँच बजिसकेको थियो । 
भुइँफूलसँग सेल्फी
भुइँफूलमा सुतेर सेल्फी लिएँ । यात्रा बाँकी थियो तर गन्तव्य पुगिसकेकोले आनन्द त मनभरि थियो । सुस्त गतिमा पनि साँढे पाँच बजे चौलाङपाटि पुगें । मनमा द्विविधा उम्रियो । त्यहाँ ठूलो हूल थियो । होटलतिर नपसी एकजनालाई सोधें, “के चन्दनबारी पुगिएला त?”
“के नपुग्नु? हामी उकालो त एक घण्टामा आइपुग्यौं । तपाईं त चालीस मिनेटमा पुग्नुहुन्छ ।”
‘लौ त नि’ भनेर म कस्सिएँ । हौसला बढाउने मित्रसँग छुट्टिएर एकजना महिला यात्रुसँग गफिएँ । उनी साथीको झोला पनि बोकिदिएर उकालो चढ्दै थिइन् । 
“लौरीबिना कुन हो?” भनी सोधिन् । मैले अलिअलि देखिएको माथिको घर देखाएँ । उनीहरू बिहान सात बजेतिर धुन्चेबाट हिंडेका रहेछन् । थप हौसला उनलाई देखेर पनि मिल्यो जो अगाडि र पछाडि पनि झोला बोकेर हिंड्दै थिइन् ।
अनि अर्को फाइदाका कुरो अबको बाटो माटोको थियो । पातहरू झरेको अनि रूखहरूको शीतल हावा । एकाएक खुट्टामा स्फूर्ति आयो । गति बढ्यो । 
यसै क्रममा जुम्लादेखि भूमेश भाइको फोन आयो । भरखरै सकिएको नेपाल डेन्टल एसोसिएसनको चुनावको नतिजासम्बन्धी कुराकानी भयो । 
मेरो आवाजबाटै अनुमान लगाएर ‘कतै हिंड्दै हो?’ भनेर उनले सोधे ।
“हुन त हो, तर कहाँ हो त्यो भन्दिनँ । पछि कुनै ब्लग-स्लगमा लेखुँला । त्यही पढ ।” भनें । त्यो ओरालोको चौथाइ खण्ड नै त नभनूँ तर राम्रै हिस्सा उनीसँग बोल्दाबोल्दै बित्यो । 
अब घाम अस्ताउने क्रममा थियो । यस्तो राम्रो दृश्य थियो कि त्यसलाई राम्रो क्यामेरा, राम्रै क्यामेराचालक हुने हो भने मनमोहक निकाल्थे । बिडम्बना मसँग त्यस्तो सीप र साधन दुवै थिएन र थप कुरा अचेल यी कर्मप्रतिको मोहभङ्ग पनि भइसकेको थियो । तथापि एक खेप तस्वीर लिएँ । 
अगाडि घुम्तीजस्तो बाटो आयो र मेरो विचारमा त्यहाँबाट त चन्दनबारी देखिने थियो । 
तर त्यो बाटो घुर्मौलो भएर पो निस्कियो । अँहँ, देखिन्न त । हतास हतास पनि भएँ । केहीबेरमा प्रतिक्षित स्थान देखियो । साँझका बत्तीहरू बलिसकेका थिए । अँध्यारो छिप्पिंदै गएको थियो । 
बिहान ठीक ६:४० मा म यहाँ थिएँ । र, यतिखेर साँझको ६:४५ मा पहिलो लजकी साहुनीसँग बोल्दै । 
त्यहाँ भने यात्रुहरू हतपति नबसेको पाएँ किनभने कि त थकित यात्रुहरू धिम्सामै बसिहाल्ने कि जाँगरिला यात्रुहरू चौलाङपाटि ताकेर हिंडिहाल्ने अवस्था रहेछ । विदेशी भए चैं यो ठाउँ भरिभराउ हुन्छ रे । हुन पनि पूरै मार्गभरिको व्यवस्थित खालका धेरै लजहरू यहीं थिए । 
आखिर मलाई त्यही ठाउँ बस्नु थियो जहाँ ब्लोन अंकलले आग्रह गरेका थिए । यसैले पहिली साहुनीको विनम्र आग्रहलाई यथार्थ बताएर अस्वीकार गरें । उनले ‘जहाँ बसे नि दर एउटै हो’ भनेपछि हुन त म उनको दलानसम्म पुगिसकेको थिएँ तर फेरि फोन भइसकेको कुरा बताएपछि उनले भनिन्, “त्यसोभए त जानुस् ।”
खोज्दै ठाउँ फेला पारें । एकजना भाइ मात्र थियो । ब्लोन अंकलको भतिजो सोचेर “आप्पा कता हो?” सोधें तर ऊ काम गर्ने केटो रहेछ । एकछिनमा मात्रै ब्लोन अंकलकी बुहारी आइन् । मैले प्रसङ्ग निकाल्नासाथ चिनिन् । 
“अँ, एकजना दाह्रीवाल भाइ आउँछ, राम्रो गरिदिनू भन्यो जेठाजुले ।” उनले स्वागत गरेर भनिन् ।
टिभीमा चलिरहेको थियो, पूर्वराजा ज्ञानेन्द्र भारतको मेलामा पुगेर गरेको भाषण । चासो दिएरै हेरें । 
“भात मात्रै हुने भो, मासु केही पनि छैन”, भनिन् । 
कताबाट सुकुटीको तलतल लाग्यो र सोधें । तामाङ भाषामै केटोसँग केही भनिन् । त्यो तयार हुनेभयो, जे होस् । कोठा देखाउन लग्यो भाइले । तीनवटा बेड भएको अनि भित्रै बाथरुम ट्वाइलेट भएको सुविधासम्पन्न । अहो । तर म एक्लो यात्रु । हुन त यसबेलासम्मको जानकारीअनुसार त्यहाँका पाँच वा छवटा लजभरिमै म एकल अतिथि थिएँ । डर पनि लाग्यो । बिरानो ठाउँमा म एक र उनीहरू थुप्रै । डरप्रति हाँसो आयो । जोगीको भेषमा डुलिरहेको एक्लो डुलन्तेलाई के डर?
अनुहारमा कमिलाहरू कुदिरहेकै थिए । हिंड्दाखेरि पसिना आयो र विभिन्न कणहरू त्यसमा टाँसिएर यसो भएको हो भनी लख काटें । एकपटक पखालेपछि ठीक हुने सोचेर मैले तातो र चीसो पानी मिसाएर दिन भाइलाई सम्झाएँ । तर उसले त्यहाँ त हट सावरकै व्यवस्था भएको बतायो र पानीको सन्तुलन पनि मिलाइदियो । नुहाउन त सकिनँ तर मजाले मिचीमिची मुखअनुहार धोएँ । परन्तु कमिलाहरू भागेनन् ।
साहुनीसँग गफिंदै खान त बसियो तर रुचिकर भएन । स्वाद उम्दो थिएन । सत्कारका अगाडि स्वादको कुरा ल्याउन पनि मिलेन । सुकुटी यति चाम्रो थियो कि त्यो पक्कै गोरुको हुनुपर्छ । दाँतहरूले बलजफ्ती दुई या तीनवटालाई ग्रहण गरे । 
मैले विनम्रतापूर्वक माथि खाएको फ्राइड राइसलाई दोष दिंदै माफी मागेर खाना छोडें । एक थर्मश पानी लिएर म कोठामा पसें । रोजीरोजी सुत्ने अवसर थियो । अर्को बेडको सिरक पनि लगेर कुनाको ओछ्यानमा घुप्लुक्क ढलें । यो निद्रा यति गहिरो र यति मधुर थियो कि आजसम्म याद भएका निद्राहरूमध्ये बेग्लै अनुभूतिको । मैले सपना पनि केही देखिनँ सायद । 
ब्युँझदा सायद तीन बजेको थियो होला । निद्रा पूरा भइसकेकोले पानी पिएँ अनि “झाँक्रीलोक…….” खोलेर त्यहाँ केही मजाकै पङ्क्तिहरू थपें । केही घटनाहरू बटारेर टेसको बनाएँ । काल्पनिक संसारमा डुल्दा अर्को मजा आयो । 
अघिल्लो साँझ नै बिहान सबेरै जाने कुरा भनेकोले साहुनी उठिछन् । चिया र बाँकी रहेको बिस्कुट खाएँ । ५:३५ मा बाटो तताएँ । बिहानै हिंड्नुको मजा बेग्लै थियो त्यसमाथि विभिन्न स्वरका चराहरूको चिरबिरले मनै आह्लादित । खुट्टाहरू हलुङ्गो भइसकेका थिए अनि अनुहारमा कुद्ने कमिलाहरू पलायन भइसकेका । 
चराहरूको आवाज रेकर्ड गर्दै हिंडे । धिम्सा त २५ मिनेटमै पुगिहालियो । त्यसपछि पनि सुमुसुमु तल झरें । देउराली देखिन थाल्यो । गतिमा न कुनै सुस्तता न कुनै द्रुतता थियो । कहींकहींबाट गोसाइँकुण्डलाई छेकेर बसेको टाकुरा ठम्याउन सकिन्थ्यो । “उः त्याँ पुगेर पो आइयो त” को अनुभूतिमा म तेस्रो दिनमै उही बाटो झर्दै थिएँ । 
बल्ल एकल यात्रा भयो । न कोही चढिरहेका छन् न कोही झरिरहेका । बरु बाटोका दायाँबायाँ कालिज हुन् कि लुइँचे हुन् जोडीजोडी हिंडिरहेका भुँइचराहरू देखिन्छन् । भालेजातिको होला रङ्गीन अनि पोथी एकरङको । कतै मृगहरू तर्सिएर कुद्छन् । ‘लौ न तस्वीर लिनुपऱ्यो’ भन्दा भागेर गायब भइहाल्छन् । 
घट्टेखोला सुसाएको आवाज आयो । म सिस्नोको झरिलो झ्याङनेर अड्डिएँ । यसको राम्रो तस्वीर खिच्न मन लाग्यो । उसो त खान पनि मीठो हुन्छ यो पकाइसकेपछि । बोटमा त छुन सकिन्न । यतिबेला पहिलो मान्छे झरिरहेको थियो । उसँग मुस्कान साटफेर भयो । ऊ द्रुतगतिमा तल गयो । 
सिस्नु
खोला तर्नासाथ समस्या आयो, त्यो के भने निर्माण गर्दे गरेको बाटो झोलुङ्गे पुलको मुखमै पुगेको थियो । अब भरखर गरिएको सिमेन्टीमाथि टेक्न पनि नमिल्ने । तर कुनाबाट जान उनीहरूले सुझाए, त्यहाँबाट उम्किएर हिंडे । 
परतिर छिनो राखेर घनले ढुङ्गा फुटाउँदै थिए । यो दृश्य मैले कक्षा नौ-दस पढ्दा हरेक दिन नै देखिन्थ्यो । पहाडी जीवनमा कहीं न कहीं केही न केही निर्माणमा ढुङ्गा फुटाइरहन्थे ज्यामीहरू । तर त्यसयता पहिलोचोटि फेरि देखियो । 
धुन्चे अब केहीबेरमै । त्यसैले खुट्टाहरू पनि खुरुरु ।
मूलबजारै नपुगी एउटा पर्यटक बस चूपचाप बसेको देखेर अचम्म लाग्यो । मेरो अपेक्षा बजार पुगेर बसको खोजी गर्नुपर्ला भन्ने थियो र कतै बसेर लगाएको लुगा फेर्ने अनि चियाखाजा खाने । तर बस कुरेर बसेको रहेछ । 
“पाँचजनाको टोली तपाईंकै हो?”, सोध्यो । 
“हैन म एक्लो”, भनें ।
उसले जान सकिने बतायो तर अन्य यात्रीहरूलाई कुर्नुपर्ने । ठीकै छ । भरखर बिहानको साँढे आठ त भएको थियो ।
पहिलो घरमा चिया त नपाइने पो रहेछ । निजी घरहरू थिए नजिक । अर्कोमा कालो चिया पाइने भयो । खाजा चैं थिएन । बिस्कुट अझै पनि बाँकी थियो धिम्सामा किनेको । चिया र बिस्कुट खाएँ । केही पत्ता सानी नानीलाई पनि दिएँ । 
लुगा फेर्नलाई सोध्दै नसोधी भऱ्याङनेरको कुनामा पसेको त केही धार्मिकजस्तो कोठा लाग्यो । त्यसैले कोठाभित्र नपसी कोरिडरमै फेरिदिएँ । धन्य कोही आएनन् । 
बल्ल अन्य केटाहरू आइपुगे । बस चलायमान भयो । यता साहुजीले चियाको पैसै लिएनन् । उनलाई धन्यवाद भन्दै म पनि बसमा हुत्तिएँ ।
केही क्षणमा टाउको घुमाएर हेरेको त धिम्सा बस्ने भाइहरू नै रहेछन् । अब त क्रमशः बाटोले उही गति लियो । उही ठाउँमा खाना र उही ठाउँमा नास्ताको लागि रोक्यो । खाना खाने बेलामा थाहा भयो, चन्दनबारीमा म एक्लै होइन रहेछु । ती भाइहरू पनि करिब आठ बजे त्यहीं आएर बसेछन् । 

काठमाडौंमा भोलिपल्ट भूषिता वशिष्ठको कार्यालाय नेपा-लय पुगेर उनीसँग विभिन्न कुराकानीहरू भए । मैले त्यहाँ बुझाएको अर्को किताब “काँचो काँचको घर”को पाण्डुलिपी एकजना ठूलै लेखकको हातमा गएको थाहा भयो । यसको थप प्रगति त केही थिएन । तर अन्य कुराकानीहरू मजाका भए । लेखाइका कुराहरू, लेखकका कुराहरू, लेखिनुपर्ने कुराहरू आदि ।
मैले गोसाइँकुण्डको कुरा पनि गरें । ‘गोसाइँकुण्डमा एकघण्टा मात्रै बसेको’ भनेर मैले भन्दा भूषिताले ‘पैसा सकियुञ्जेलसम्म सात दिन बसेको’ रमाइलो कहानी सुनाइन् । 
उनले भनिन्, “तपाईंले यो यात्राभरि गाओ जिङजियानको ‘सोउल माउन्टेन’ लिएर जानुपर्थ्यो ।”

समग्रमा यात्रा रमाइलो र अनुभवोत्तेजक भयो । यात्राक्रममा सँगालिएका करिब सबै अनुभवहरू नछुटाई लेख्ने प्रयास गरें । एकल यात्रावधिभर नै अनेक तरङ्गका, भावका, अनुभवका र उत्तेजनाका साथीहरू भेटिए । अन्तरङ्ग समय साटे । यसैले सर्सर्ती हेर्दा त झन् सामूहिक यात्रा पो गरेझैं लाग्यो । । 
२०७७ चैत्र २८ गतेदेखि ३० गतेसम्मको यात्रानुभूति यति नै हो । यसबाहेकका कुरामा भने कतै सुनेको, पढेको अथवा फगत मैले नै सोचेको भनाइ लागू हुनसक्छ त्यो के भने नियात्रा वा यात्रा संस्मरण भन्नासाथ सारा विवरण हुबहु दिइन्छ नै भन्ने हुँदैन, केही कुरा लुकाइएका हुन सक्छन्, केही बढाइँचढाइँ गरिएको हुन सक्छ । कथंकदाचित् ती किताबहरू प्रकाशित भए भने गोसाइँकुण्ड यात्रालाई सम्झिने थप मेलो मिल्नेछ ।

Comments

Post a Comment

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

लाङटाङ पदयात्रा र अनुभवहरू