फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

२०८१ सालको कात्तिक ९ गते,  25 October 2024 पूर्व धरानबाट चारजना निस्कियौं । अंकिता, बलराम,  विज्ञ र म । याे यात्रा  फोक्सुण्डो ताल सम्मकाे हाे ।  शुक्रबार दिउँसाे ४ बजे इँटहरीबाट  गाडीमा निस्किएका हामी शनिबार बिहान नवलपुर पुग्छाैं खाजाचिया खान । काेहलपुर पुग्दा साँढे दुई बजेकाे छ र हाम्रो समूह नौ जनामा बदलिसकेको थियो। सुरेश, प्रतीक, विभा, जगदीश, सुवास थपिएका छन् । उनीहरूले नेपालगंजदेखि सुमो गाडी लिइसकेका छन् । 

अब कोहलपुरबाट यात्रा सुरु भयाे। कैलालीका  चलाख चालक छन् हाम्रा सारथि। गफाडी  छन् अलिलि। गाडीलाई सुर्खेततिर हान्न थाले उनले। राम्रो बाटो छ । सुर्खेतबजार नपुगी छिन्चुबाट जाजरकाेटकाे बाटाे लाग्छ गाडी ।  साँझमा हामी सल्यान जिल्लाको वनगाड कुपिण्डेमा पुग्यौं। नयाँ जिल्लामा पाइला राख्न उत्साहित थिएँ म । सानाे विश्राम लिइयाे यहाँ।  

हामीलाई बाेक्ने सुमाे


Driver र भूतका कहानी

रातको  अँध्यारो छिप्पिएकाे थियो। हरेक यात्रामा Driverहरूले भूत-प्रेतका कथाहरू सुनाउने गर्दछन्। मैले रारा यात्रामा driverले भूत भेेटेको कुरा भनेकाे प्रसङ्ग सुनाएँ, तर यी चालकले  विश्वास गरेनन्, “म मध्यराति कति बार यहाँ हिंड्दा कहिल्यै भूतसँग भेट भया छैन।" साेचियाे कि अन्धविश्वास नमान्ने पहिलो चालक भेटियो। गफको क्रममा मैले दार्जिलिङ्ग जाँदा Taxi चालकले सुनाएकाे कहानी  सुनाएँ । एक केटीलाई Lift दिएका थिए taxi-driverले, पछाडिकाे seatमा बसिन् उनी । केटीले भनेकै ठाउँ पुगेर झर्नलाई आग्रह गरे उनले । तर गाडीकाे seatमा  कोही थिएन। 

याे सुनेपछि सुमाेका यी चालक पनि जोशिए। “इन्नियामा त मैले नि कत्ति भेटें कत्ति।”

केटाहरू कराउँछन्, “लु सुनाउनुस् दाइ!” 

अनि driver आफ्ना भूतकथाहरू सुनाउन थाल्छन्। उनले महाराष्ट्रमा टिप्पर चलाउँदा एक केटीसँग गफ गर्दै आफ्नाे काेठामै ल्याएछन् ।  खाना खाने प्रस्ताव गरेछन् । तर केटीको पेट नै थिएन रे। किचकन्याको पेट  हुने कुरै भएन । उनी भागे रे। अरु कथा पनि थपे उनले । कति हाे कति भूत र किचकन्याका कुरा । चाहे वास्तविक होस् या काल्पनिक, रातको यात्रालाई भूतका कथाहरूले रमाइलो बनाइरहेका छन्।

यो हाम्रो दोस्रो रात हो, र गाडीमा बसेकाे चार जनाका लागि  ३२ घण्टा भाे हाेला ।  जाजरकोटको तल्लुबगरमा driverले मध्यरातको खाना प्रबन्ध गरेका छन्। मासुभात, त्यसमाथि घ्यू । र, भाेकले पनि हाे कि ? मीठाे कति हाे कति । 

बिहान, driver हामीलाई ५ बजेतिर उठाउन आइपुग्छन्। उनलाई त हतार छ । तर ६ बजे तयार हुन्छ टाेली । अब जानुपर्ने थियो अप्ठेराे बाटाे,  driver काे साहस र अनुभव दुवै खाेज्ने । गाडी हल्लिँदै घोडा जस्तो उफ्रिन्थ्यो। पछाडी बस्ने भाइबैनीकाे  टाउको गाडीको छतमा ठोक्किन्छ बेलाबेलामा । मलाई भने सम्मानका साथ राखेका छन् अगाडी driver सँगै ।  मेराे Guide बनेका छन् driver । बाला त्रिपुरासुन्दरीको मन्दिर देखाउँदै भने, “यो धार्मिक स्थल हो, यहाँ मानिसहरू टाढाटाढाबाट आउँछन्।”

गाडीको झ्यालबाट त्याे डाँडामाथि केही ध्वजहरू हल्लिरहेको देख्छु। पहाडको माथि मन्दिर छ, स्पष्ट त देखिँदैन तर हामी ढोग गर्छौं। धार्मिक आस्थाले गर्दा थुप्रै मानिसलाई त्यहाँ पुर्याउँछ,  तर कतिले याे बाटाे सम्झेर के यात्रा गर्दा  हाेलान् र ? तीर्थयात्रीका लागि बाटो राम्रो भइदिए  अझ कति मानिस आउन सक्थे ।

गाडीमा कुँजिएका बेला, चालकले डोल्पामा रहेको सानो Airport "जुफाल" जाने बाटाे देखाए। उनले भने, “हाकिमको मनमर्जीमा flight हुन्छ, हाकिमलाई अल्छि लाग्याे भने मौसम बिग्र्यो भनेर cancel गरिदिन्छ।” 

वास्तविकता के हो उनै जानून् । तर हामी भने पुग्न लागेकाे खुसीमा छौं ।

हामी सुलिगाड पुगेका छाैं, गाडी-यात्राकाे मैजाराे । ठ्याक्कै १० बजे । अब हिंड्नुछ । हिंड्नकै लागि आएका हौं हामी ।  झोलाहरू झिकेर, खुट्टा तन्काउँदै हामी रुपागाड पुल तर्छौं। यो पुल ठूली भेरी र सुलिगाड नदीको संगममा छ। ठूली भेरीकाे किनारमा दुनैबजार छ तर यताबाट कति पनि देखिन्न ।  हाम्रो यात्रा भने याे सुलिगाड नदीसँगै अघि बढ्छ। 

सुलिगाड नदीमाथिकाे एक पुल। यस्तै गरी १० चाेटि तर्नुपर्छ याे खोलालाई

सुलिगाड Check post अलिबेर हिंडेर मात्र आउँछ । त्यहाँ निकुञ्ज कार्यालयमा नाम दर्ता गर्नुपर्दछ । याे काम सकेर नजिकैकाे hotelमा केही समय विश्राम गर्छौं। खाना खान्छौं र करिब १२ः३० बजे हिंड्न थाल्छौं ।सुलिगाड खोला बगिरहेको छ, र यसको आवाज हाम्रो यात्राको सहयात्री जस्तै लाग्छ। बाटो पहिला केही उजाड र सुख्खा छ, तर पछि हरियालीले भरिपूर्ण हुन्छ।

बलराम र म गफिन्छाैं । ऊ विभिन्न अनुभव सुनाउँछ साेलुखुम्बूकाे । ती पुराना दिनकाे । ती कुरा अवश्य पनि डाेल्पाले भाेगेकाे हाे । डोल्पा रेडियाेले फुकिरहेकै नाम हाे । आज हामी डोल्पामा छौं । म आँखा चिम्लन्छु र देख्न खोज्छु यो ठाउँ र त्यो समय । यी बाटोहरूमा कति युवाहरू लश्कर लागेर हिंडे होलान्, कहिले जोशमा, कहिले त्रासमा । यही खोलामा पनि कहिले रगतको भेल बग्यो होला, यी पहाडहरू कस्तरी थर्किए होलान् । यी पाखाहरूमा कति घन्किए होलान् ध्वनिहरू, प्रतिध्वनिहरू । हामी हिंडेको बाटोका दुईतिर उभिएका अजङ्गका पहाडले कति सुने होलान् त्यो चीत्कार र आर्तनाद । यो भूगोलले भोगेकै हो त्यो भोगाइ । प्रत्यक्ष, सपाट, छर्लङ्ग । धन्य समय गुज्रिएको छ, हामी मग्न भएर यात्रारतः छौं । बलराम अरु कहानीहरू सुनाइरहेको छ, म पनि अपरिचित छुइन त्यो कालखण्डबाट ।

You should wear mask

पोखराको भाइ सुरेश पनि मजाले हिंडिरहेकाे छ। धूलाम्मे बाटोमा ऊ अगाडि हिंड्दैछ, म बीचमा र बलराम पछिपछि । यात्रा सकेर फर्किएका एक यात्रुले मास्क लगाउन उसलाई सम्झाउँछन् । You should wear mask, the path is very dirty, please buy mask. यस्तै गरी कनीकनी अंग्रेजीमा सम्झाउँछन् उसलाई । अग्लो कद, गोरो र लाम्चो अनुहार, आँखामा कालो चस्मा अनि कट्टुभेस्टको पहिरनमा पोखरेली सुरेशलाई अमेरिकी सोचेका छन् ती मानिसले । ती यात्री टाढा पुगेपछि हामी तीनैजना हाँस्छौं । यस्तै त हो यात्राको रमाइलो ।

फोक्सुण्डाे तालकाे नाम हाे, शे गुम्बाकाे नाम हो र दुई मिलाएर गाउँपालिकाकाे नाम छ अनि निकुञ्जकाे नाम पनि

साङ्ताबाट उकालो थियो छेप्कासम्म । लेखिएको समय थियो एक घण्टा र दूरी साँढे दुई किलोमिटर । यहाँनेर म अलिक अघि भएँ, केटाहरू फोटोभिडियो खिच्तै बिस्तारै हिंड्न थाले । म पुग्नै लाग्दा दाहिने जुत्ताको तलुवा नै उप्कियो । त्यस्तै जुत्ताले पनि पैंतीस मिनेटमा छेप्का पुगें । ३ः४५ बजे । होटलका कोठाहरू लिएँ र पानी प्रशस्तै पिएँ । ४ बजे सुरेश र बलराम आइपुगे । यस्तै यस्तै गरेर ६ बजेसम्म सबैजना आइपुगे । यहाँको खाना त झनै मीठो । हिंडेकोले पनि होला । भुटेको मकै, फापरको रोटी, टिम्मुर हालेको भाङको अचार, सबै तारिफयोग्य । अझ साहूसाहुनीको आतिथ्यता । पानी सोधीसोधी खुवाउने, मायालु तरिकाले बोल्ने । छेउमा सानी बच्ची पनि थिइन् । छोरी होलिन् भनेको त नातिनी रे । अचम्मै लाग्यो । खाना खाने ठाउँमा बीचमा आगो बाल्ने तान्दुर र वरिपरि होचो खालको टेबल थियो । त्याे table माथि बस्न पनि नहुने र नाघ्न पनि पो नहुने । साहुनीले सतर्क गराइन् हाँस्दै । कारण भने पछि अंकिताले भनिन्, यो गुरु लामाहरुले पुस्तक राखेर पढ्ने टेबल रहेछ । त्यसैले पवित्र । 
नाै जना हामी


मार्दिम्?


अर्को बिहान, चना र अण्डा खाइसकेपछि हाम्रो यात्रा पुनः सुरु हुन्छ। बिहान हिंड्न मजा लाग्छ मलाई । बिहान ५ः४५ मा म निस्कें । बाटो सुगम र रमणीय छ। बाक्ला रूखहरूको हरियाली, नदीको आवाज, चराचुरुङ्गीका हर्षित ध्वनिहरू, चौंरीगाई र खच्चडहरूको क्याराभान । सुरेश र बलराम आइपुग्छन् । फाेटाेभिडियाे खिच्दै समय बिताउँदै हामी उत्साहित हुन्छौं। यो यात्रा जीवनजस्तै लाग्छ मलाई, जहाँ प्रत्येक मोडमा नयाँ अनुभव र नयाँ दृश्य हाम्रा आँखामा पर्छ।

केही उकालाेतिर म अघि हुन्छु । ८ः४५ बजे रैंची पुग्छु । रेन्ची या र्याची । यस्तै हाे यसकाे नाम । खानाकाे order दिन्छु नौ जनाका लागि । अनि तान्दुर ताप्दै पानी पिउँदै आँगनमा बस्छु । बारीबाट साग टिप्दै, गाजर उखेल्दै गरेका साहुलाई देख्दा मन रमायो । एकदमै ताजा थियो खानेकुरा । 

"चामलबाहेक सबै यहींको हो", उनी भन्दै थिए । सबै आएर, बिसाएर अनि खाना खाएर यात्रा सुरु गर्दा ११ बज्यो । सुरेशले सबैलाई सोधिरहेको थियो कति लाग्ला ताल पुग्न भनेर । कोही ३ घण्टा भन्थे त कोही ४ कोही ५ । घाम चर्किएको तर बाटो भने तेर्पाया तेर्पाया नै थियो । 

साइजोल भन्ने ठाउँमा सानी बच्ची बाटोबाट एक कान्लामुनिको घरतिर ढुङ्गा फ्याँक्तै थिई । उसका पिता वा काकाले सम्झाए । अनि डर पनि देखाए । सुरेशतिर संकेत गरेर भने  "यो अंकलले लानुहुन्छ ।"

 तर बच्ची त कडा पो रहिछिन् । सुरेशलाई उल्टै "मार्दिम् मार्दिन्छु" भनेर थर्काइन् । हामी हाँस्दै अगाडि बढ्यौं । अलिक पर एउटा स्कूल थियो । त्यो देख्ता मलाई ठ्याक्कै साम्बाला चलचित्रमा शिक्षक रामले पढाउने स्कूलको याद आयो । यो चलचित्रको सुटिङ डोल्पामै गरिएको भए पनि सायद यो स्कूल थिएन । सबैले पुग्ने बेला कडा उकालो छ भनेर तर्साएका थिए । नभन्दै पालम भन्ने ठाउँबाट चट्टानी उकालो भेटियो । एकजना सेता बटारिएका जुँगा भएका मान्छेले Good Morning भने । पदयात्राको मेरो अनुभवमा नेपाली भए कति समय लाग्छ भनेर सोध्छन्, विदेशी भए नमस्ते भन्छन् । पक्कै भारतीय पर्यटक होलान् भनेर मैले साेधें, Where are you from? 

उनी भन्छन् काठमाण्डु । उनीसँग हाँसो गरियो र उकालो लागियो ।

फाेक्सुण्डाे झरना, यही पछि सुलिगाड नदी बनी बग्छ


Acrophobic यात्रुका गफ

स्याँस्याँ हुँदै उकालो काटियो भनेको त झन् अर्को उकालो आयो । यो भने धूलो उड्ने अनि चर्को हूरी चल्ने । सुख्खा माटो यस्तो थियो कि जुत्ताले भर दिएन भने चिप्लिने । मैले Trekking जुत्ता थन्क्याएर घरेलु जुत्ता लगाएको थिएँ । पाइला सार्दै त्यो उकालो पार गरियो । अनि देखियो फोक्सुण्डो झरना । नेपालकै सबभन्दा अग्लो झरना रे यो* ।   यहाँनेरको बाटो डरलाग्दो थियो । काठमाथि ढुङ्गाहरू अड्याएर बनाएको सानो बाटो जो भीरमा अडिएको थियो ।  जब यो पनि कट्यो त्यसपछि रमाइलो भइगयो ।  करिब १ घण्टा हिंडेपछि आयाे रिंग्माे गाउँ । यहाँकाे स्वागतढोकामा लेखिएअनुसार याे करिब हजार वर्ष पुरानो परम्परागत गाउँ हाे रे । नाम रिंग्माे, रिम्मो वा रिंमाे । यहाँ हामी तीन भाइ पुग्दा २ः४० भएको थियो । पुलकित थियौं हामी । थाेरै हिंडेपछि त फोक्सुण्डो तालको छेवैमा पुगियाे ।  हामी  तालको सबभन्दा नजिककाे होटलमा बस्ने भयौं ।
रिंग्माे प्रवेशद्वार


यहाँ भेटिए कोहलपुरतिरको बैंकमा काम गर्ने व्यक्ति । यिनी भने यात्राबाट सन्तुष्ट थिएनन् । म त कसैलाई यता नआउनू भन्छु भन्दैथिए । झरनानेरको बाटोले तर्साएछ यिनलाई । 
"रातभरि त्यहाँबाट खसेजस्तो आँखामा आइहाल्ने, निदाउनै सकिनँ अनि उता भ्यूपोइन्ट गएको नि एकदम टाढा, त्यो चोलेम त जाँदै नजानू, जान २० मिनेट होला तर फर्किन २ घण्टा लाग्छ ।"
झरना हेर्ने बेलाकाे अप्ठेराे बाटाे यही त हाे
 

उनका दुई युवासाथी भने चोलेम गएछन् । बिहान ८ बजे गएका दिउँसो ४ बजे फर्किए । जे होस् उनी हामीसँग केहीबेर गफिए । यस्तैमा सोलुका एकदम कम उमेरका युवा पनि भेटिए । यिनी भने पर्यटकका सहयोगी । उनीहरू दुनैबाट ३ दिनमा रिङ्मो आएका थिए । जम्मा २४ दिने पदयात्रा थियो यो । माथिल्लो डोल्पा सकेर मुस्ताङ पुग्नुथियो । विदेशीहरूको पदयात्रा त यस्तै हुन्छ । समय मजाले लगाउँछन् हतार हुन्न । एक दिनको बाटो तीन दिन लगाइदिन्छन् ।
View Point one तिरबाट
तालकाे अर्काे किनारा


यस यात्रामा सबभन्दा मन नपरेको खाना यहीं थियो । राम्ररी कसैले खान सकेन । कसैलाई नि खानाले सन्तुष्टि दिएन । भोलिपल्ट बिहानै जाने त सल्लाह थियो तर थाकेका साथीहरूलाई निद्राले छोडेन कि? म भने चाँडै उठेछु । भान्छाकोठामा हारुकी मुराकामीको किताब भेट्टाएँ A wild sheep chase । मेरो मन पर्ने लेखक र नपढेको किताब । करिब दश पाना पढें पनि । ७ः३० बजे मात्र View Point  तिर लाग्यो टोली । साथमा पानीको बोतल मात्रै । मसँग क्यामेरा पनि थियो । लौरो पनि बोकिएन । तालको छेवैछेउ थियो बाटो । यतैतिर कतै Caravan भन्ने चलचित्रमा याक खसेको दृश्य Shooting गरिएको थियो रे । मैले पनि हेरेको हो चलचित्र तर बिर्सिएँ कतातिर हो । म अगाडि थिएँ । एउटा ठाडो उकालो सकेर तेर्सो आयो । बल्ल तालको अरु भाग देखियो । नेपालकै दोश्रो ठूलो ताल भनिन्छ तर यतातिरसम्म नपुग्ने हो भने ताल सानो लाग्छ । तालको सबै भाग कुनै विन्दुबाट पनि देखिन्न । बलराम भन्दै थियो ड्रोनले मात्रै पूरै एकैचोटि देखिएला । गफ गर्दैजाँदा ड्रोन चलाइरहेका मान्छे भेटिए दुईजना । मैले सोधें "View Point Two कता हो?"  
 "त्यो त परै हो नि ।" उसले भन्यो । View Point Two त पार गरेर आइसकेछु म थाहै नपाई । 
"लौ अनि यो बाटो कता जान्छ त?"
 "यो त ताल भेट्ने बाटो हो ।"
 अर्थात् चोलेम । अंग्रेजी वाइ "Y" आकारको तालको अर्को विन्दु । बलराम आइपुग्यो । 
तालकाे एक छेउ


"जाने हो त चोलेम?" सोधें । उसले नि जाने भन्यो । पौने तीन घण्टामा त चोलेम पुगियो । तालको अर्को किनारा । यहाँ रहेछ अर्को फाँट । रमाइलो जग्गा । माथि हिमालहरू पनि प्रष्ट । सायद काँजिरोवा हिमाल होला । धेरैखालका फोटोहरू खिचिए । अब फर्किनुथियो । सातजना त होटल पुगिसकेका थिए । हामी पनि द्रुतगतिमा फर्किन थाल्यौं । खाना खाएर १ः४० बजे यात्राको फिर्ती सुरु भयो । 
साइजाेल नजिकै बसियाे बास ४ बजेतिर पुगेर । अर्काे दिन बिहान अलि ढिलै भयाे । खाजा खाइवरी यात्रा सुरु गर्दा ७ बज्याे । तर बिहानीकाे हिंडाइ एकसुरकै भयाे । म छेप्का पुग्दा १०ः१० भएकाे  थियाे । यहाँ अस्ति बसैकै हाेटेलमा बिसाएँ, लुगाहरू सुकाएँ, पानी पिएँ । खाना पनि order गरें । बलराम र सुरेश आइपुगे । बलराम नुहाउन bathroom जान खोज्दै थियाे मैले यस्तो प्रकृतिकाे नजिक आएर नि कहाँ bathroom, बरु खोलामा नुहाऊ भनेर जिस्काएकाे ऊ त Towel बाेकेर खाेलातिर गइहाल्यो । सबै जना आइपुगेपछि यहाँ फेरि पनि मीठाे भात खाइयाे । अनि १ बजे निस्कियौं हामी ।

झिंगा मार्ने machine र SAFF Final
सुलिगाड चेकपोस्टमा ४ बजेतिर पुगियो । बाँकी साथीलाई पर्खिने क्रममा निकुञ्जकै कर्मचारीको डेरामा चियापान गरियो । कर्मचारीकी पत्नी भने फूटबलप्रेमी रहिछिन् । नेपाल र बंगलादेशका महिला टोलीबीच फाइनल खेल । टीभीमा खेलअगाडिका दृश्य देखाउन थालेको थियो । यहाँ झिंगा भने उत्पातै रहेछन् । भूइँदेखि भित्ताभरि जताततै कमिलाजसरी छरिएका । त्यहींको नौ वर्षको बच्चोले कागजकै झिंगा मार्ने machine बनाएर हामीलाई प्रदर्शन गर्दै थियो, अझ जिभ्रोमा plastic राख्ने अनि झिंगा बसेपछि समात्ने trap पनि सिकाउँदै थियो । उसको चार वर्षको भाइ भने हामीमध्ये कसैलाई धनुकाँड दिएर उसलाई हान्न अह्राउँदै थियो । यता हाम्रो एक जना साथीलाई हिंड्न गाह्रो भएकोले साङ्तादेखि घोडाको व्यवस्था गरिएको खबर आयो । दुनै पुगौं न त भनेर बिहानै निर्णय पनि भइसकेको थियो । अर्को कुरा उहिले हामीसँगै काम गर्ने सिस्टरले UKदेखि अनुरोध पनि गरेकी उनको माइतसम्म जान । बलराम र म टर्च बालेर बाटो लाग्यौं । राति दुनैबजार पुग्दा नेपालको पराजयको Update पाइयो र मन खिन्न भयो । तर पदयात्रा सकिएको खुसीमा सबैजना रमाएका थियौं । 
दुनै बजार ठूली भेरीकाे किनारमा


कार्तिक १५ गते बिहान  दुनैबजार पनि घुमियाे । सबैतिर सरर डुल्दा कति बेर नै लाग्याे र? ठूली भेरी तरेर माथि गुम्बासम्म पनि पुग्याैं । ११ बजेकाे गाडी चढेर मध्यपहाडी राजमार्ग हुँदै पोखरा जाने हाम्राे पहिलेकै योजनाअनुसार गाडीलाई सम्पर्क गरेका थियौं । तिहारकाे भाइटीका नजिकिएकाे । बालेन भन्ने मान्छेकाे गाडी । अर्काे दिन पाेखरा अनि घर पुग्ने मेराे योजना ।
 "बीचमा बास बस्नुपर्छ, चाडबाडमा राति चलाउन दिन्न पुलिसले ।" भन्छ बालेन । राति चलाएन भने त अर्काे दिन पनि पाेखरा पुगिन्न । फसाद नै हुनेभो । फेरि कोहलपुरबाटै Reserve मगाउने भनेको त्याे आइपुग्न पनि फेरि १५ घण्टा लाइहाल्छ । कुरा उस्तै । जे त होला भनेकाे । यही एउटा गाडी पनि Start नै भएन । झन् फसाद नै हुनेभो । तिहार भ्याउन उही Helicopter मगाउन मात्रै बाँकी भो । ११ बजे जानुपर्ने बालेनको गाडी  करिब २ बजे मात्रै  चल्यो । उसले हामीलाई आश्वस्त पार्याे । ऊ आफैं पनि Driver रहेछ ।  "दुई जना Driver भएर राति पनि चलाउँछौं" भन्याे । वास्तवमा कतै रोकावट थिएन । रूकुम पूर्व, बाग्लुङ र पर्वत जिल्ला छुुँदै भोलिपल्ट १२ बजेतिर त पोखरा पुगिहालियाे । 
चाेलेममा मग्न म

*नेपालकाे अग्लाे झरना पचाल हाे । [Wikipedia]


Comments

Popular posts from this blog

Solukhumbu After 10 Years

लाङटाङ पदयात्रा र अनुभवहरू