रूखसँगका रूखिला स्मृतिहरू
रूखहरूसँग साक्षात्कार गर्न पाउँदा मलाई कताकता अघोर आनन्दानुभूति हुन्छ । ट्रेकिङ जाँदा रूखहरूको बीचबाट गुज्रिएको बाटोमा सऱ्याक - सऱ्याक पातहरू बजाउँदै हिंड्दाको मजा अवर्णनीय छ । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी भ्रमणताका यस्तै पहेंला पातहरूमाथि हिंड्दा एकजना अग्रजले ती पातहरू देखाउँदै भन्नुभयो । - यो त हाम्रो गाउँतिर गाईवस्तुलाई खुवाउने फदेलो हो । म ेरो अर्को साथीले प्रश्न गरे - यही होइन र म्यापल ? हुन पनि सामाजिक सञ्जालहरूतिर हेर्न पाइने म्यापल नामको वृक्षको पात ठ्याक्कै त्यस्तै भएको मैले पनि पाएँ । मलाई फदेलोको पातले भन्दा पनि यसको नामले गर्दा नै एकपटक वनस्पतिहरू र रूखहरूसँगको बाल्य - स्मृति लेख्न उक्सायो । बच्चा छँदा एकघण्टा पैदल हिंडेर विद्यालय गइन्थ्यो । बाटोभरि थुप्रै रूखहरू हुन्थे । बुट्यानहरू हुन्थे । घना जङ्गल त थिएन , तर रूखमय थियो गाउँ । काफल पाक्ने याममा हामी भुराभुरीहरू काफलका रूख चढेर टन्नै काफल खान्थ्यौं । ऐंसेलु पाक्ने बेलामा काँडाहरूको पर्वाह नगरी ऐंसेलु टिप्थ्यौं र साथीभाइलाई पनि खुवाउँथ्यौं । कटुस बटुल्न लागिपर्थ्यौं । हामीलाई य...