रूखसँगका रूखिला स्मृतिहरू

रूखहरूसँग साक्षात्कार गर्न पाउँदा मलाई कताकता अघोर आनन्दानुभूति हुन्छ ट्रेकिङ जाँदा रूखहरूको बीचबाट गुज्रिएको बाटोमा सऱ्याक-सऱ्याक पातहरू बजाउँदै हिंड्दाको मजा अवर्णनीय छ । सिन्धुपाल्चोक  जिल्लाको पाँचपोखरी भ्रमणताका यस्तै पहेंला पातहरूमाथि हिंड्दा एकजना अग्रजले ती पातहरू देखाउँदै भन्नुभयो ।
- यो हाम्रो गाउँतिर गाईवस्तुलाई खुवाउने फदेलो हो
ेरो अर्को साथीले प्रश्न गरे - यही होइन र म्यापल ?
हुन पनि सामाजिक सञ्जालहरूतिर हेर्न पाइने म्यापल नामको वृक्षको पात ठ्याक्कै त्यस्तै भएको मैले पनि पाएँ । मलाई फदेलोको पातले भन्दा पनि यसको नामले गर्दा नै एकपटक वनस्पतिहरू  र रूखहरूसँगको बाल्य-स्मृति लेख्न उक्सायो ।
बच्चा छँदा एकघण्टा पैदल हिंडेर विद्यालय गइन्थ्यो । बाटोभरि थुप्रै रूखहरू हुन्थे । बुट्यानहरू हुन्थे । घना जङ्गल त थिएन, तर रूखमय थियो गाउँ । काफल पाक्ने याममा हामी भुराभुरीहरू  काफलका रूख चढेर टन्नै काफल खान्थ्यौं । ऐंसेलु पाक्ने बेलामा काँडाहरूको पर्वाह नगरी ऐंसेलु टिप्थ्यौं र साथीभाइलाई पनि खुवाउँथ्यौं । कटुस बटुल्न लागिपर्थ्यौं । हामीलाई यसरी याम-याममा पाक्ने ऐंसेलु, काफल, किम्बू, कटुस, मल्लिडो(मलढिंडो, गुहेंली, गुइयालो, मढिंलो - यसको ठाउँअनुसार विभिन्न नाम भएको मैले लेखलाई अन्तिम रूप दिंदै गर्दा Twitter मार्फत् थाहा पाएँ) लगायतका बोटहरू कता कता छन् भन्ने राम्रोसँग थाहा हुन्थ्यो । ती रूखहरूमा बाँदरजसरी चढेर पोल्टाभरि फलहरू टिप्नु र साथीभन्दा धेर आफूले कुम्ल्याउनुको प्रतिस्पर्धा रोचक हुनेगर्थ्यो । घर नजिकै बडेमानका नस्पातीका रूखहरू थिए । यी भने अलिक सुरिला भएकोले चढेर टिप्ने आँट आउँदैनथ्यो । नस्पातीलाई झार्न ढुङ्गा हान्ने वा बाँसको लामो घारोमा अंकुशे बनाएर तान्ने गरिन्थ्यो । गाईपालक हजुरबाले गाईहरूलाई पनि खुवाउन नस्पातीको बोट हल्लाएर जमिनभरि नस्पातीका दानाहरू झारिदिनुहुन्थ्यो । उसो त पछि मलाई लेख्य भाषामा नस्पातीलाई नास्पाती लेखिने कुरा र नास्पातीजस्तै मेल भन्ने अर्को फल पनि हुने कुरा थाहा भए पनि मेरो स्मृतिमा सँधै नस्पाती नै ताजा रहिरहेको छ ।
घर छेउछाउमा दुदिलोको रूखहरू प्रशस्तै थिए । पातहरूलाई काण्डबाट छुट्याउँदा दूधजस्तो चोप आउने भएकाले यसलाई दूधिलो भनिंदोरहेछ तर हामी दुदिलो भनेरै चिन्थ्यौं र यो गाईवस्तुको साह्रै मनपर्ने घाँस थियो । यसका अग्ला अग्ला रूखहरूमा पनि हजुरबा सहजै चढ्नुहुन्थ्यो र मजासँग हाँगाहरू छिमोल्नुहुन्थ्यो । भूँइमा ती डाँक्लाहरू बटुल्ने जिम्मा हाम्रो हुन्थ्यो । बाँसहरूका घना झाडी लुकामारी खेल्दा लुक्ने उत्तम ठाउँ थिए । अनि तिनै बाँसका पट्याँसहरूलाई नाङ्लो मानेर हामी माटो निफन्दै पीठो निफनेको खेल खेल्थ्यौं । नेबारोको अलिक सानो कदको रूख पनि घरैछेउ थियो । नेबारोको दानोलाई बीचबाट काटेर दुई फक्लेटालाई जोड्न छेस्कोको मानी राखेपछि काइदाको जाँतो बन्थ्यो । अनि नेबारोको यही दानोभित्रका ससाना दानाहरू भूलवश खाँदा पेटमा नेबारो उम्रिने भयले उत्पात सताएको सम्झना गर्दा अहिले पनि मलाई हाँसो लाग्छ ।
तिहार आउने बेला ओखरका रूखहरू वरिपरि धुइँपडताल ओखरका दानाहरू खोजिन्थ्यो । अनि एउटाले भन्दा अर्कोले बढी थुपार्ने अघोषित लडाइँ हुन्थ्यो । जित्नका लागि कतिपय समयमा चोर्ने पनि गरिन्थ्यो । बहिनीहरू ओखर थुपार्न लगाव राखे पनि खानको लागि वञ्चित हुन्थे किनभने भाइपूजा नगरी चेलीहरूले ओखर खानुहुन्न भन्ने मान्यता थियो । त्यसो त ओखरको मूल दानो बाहिर चोपिलो खोल हुन्थ्यो जुन ढुङ्गामा हानेर ताछ्नुपर्थ्यो र यसो गर्दा मेहेन्दी लगाएजस्तै हातलाई रङ्ग्याइदिन्थ्यो । यसरी मेहनत गरेर लुकाइएका ओखरहरू हाम्रा सम्पत्ति हुन्थे जसलाई हामी आफूलाई भन्दा धेरै हेरचाह र देखभाल गर्थ्यौं । कति मजाको थियो त्यो बालापन ? रूखहरूबारे किंवदन्तीहरू प्रचलित थिए: रूखहरू हेर्दै त्यस्ता कुराहरू सुन्दा रमाइलो लाग्थ्यो । गुराँस र उत्तीसबीचमा प्रेम परेको र भाग्दाभाग्दै एकअर्कोलाई सरापेकोले गुराँस राम्री भएर पनि होची, गाँठैगाँठा भएकी अनि उत्तीस अग्लो र सलक्क भए पनि पैह्रो गएको ठाउँमा मात्रै उम्रिने कुरा वास्तवमै त्यस्तै देखिन्थ्यो पनि ।
कक्षा पाँचसम्म पढेको विद्यालय नजिकै ठूलो जङ्गल थियो । यसै जङ्गलमा कतै सिन्कौली पाइन्थ्यो । यसको जरा स्वादिलो हुन्थ्यो । साथीहरूले माटैसँग ल्याउँथे र म मीठोसँग चपाउँथे । एक पल्ट यो सिन्कौलीको जरा खोज्न म र एकजना साथी जङ्गल पस्यौं तर कतैबाट जमिन थर्किएजस्तो आवाज आयो र हाम्रो सातोपुत्लो गयो । ज्यान छोडेर भाग्यौं हामी । हामी बालबालिकाहरूमाझ उक्त जङ्गलमा बाघ आउने विश्वास कतैबाट अमिट रूपले गढेको थियो । साँच्चै बाघ कराएको त नहुनसक्थ्यो तर त्यो भगाइ अहिले सम्झँदा नि आङ सिरिङ्ग हुन्छ । असारेका साना झाडीहरू त बाटैभरि हुन्थे । बाँसको हाँगोमा असारेका दानहरू कोचेर अर्कोपट्टिबाट लामो काठे सुइरोले हान्दा आवाजसहित पड्कने र दानो उछिट्टिएर अरुलाई लाग्ने पनि हुनाले यो हाम्रो बाल-बन्दुक थियो । असारेको अर्को उपयोगिता बुवाबाट सिकेको थिएँ मैले, त्यो थियो - यसको सानो हाँगो पिरिक्क भाँचेर केहीबेर टोक्ने अनि त्यसलाई छेस्किलो ब्रश बनाएर दाँत माझ्ने । कति रमाइला ती रूखहरूसँग जोडिएका हरेक कुराहरू ?
अँगेरी खाए वस्तुभाउ मात्ने भय हुन्थ्यो, घँगरुको काँडेदार लौरो बनाउन सकिन्थ्यो, कुकुरदाइनेको सुरिलो लौरोलाई बङ्ग्याएर अङ्ग्रेजी एस आकारको बनाउन सकिन्थ्यो जुन धामीहरूले ढ्याङ्ग्रो ठोक्ने गजो बनाउँथे । केही रूखहरूले फल दिन्थे, केहीको बोक्रा कुनै खानेकुरामा हालेर स्वादिलो बनाइन्थ्यो, केहीको पातैको अचार बन्थ्यो, केही पातहरू गाँसेर खाने थाल (टपरो) बनाउन सहायक बन्थे, केही बोक्राहरू डोरी बनाउन भरपर्दा थिए । कुनै रूखहरू वा तिनका पातहरू पूजाका लागि अपरिहार्य थिए । रूखहरू नै रोग ल्याउन पनि सक्थे र रूखहरू नै औषधि पनि बन्थे । दैनिक जीवनसँग यसरी अन्योन्याश्रित हुन्छन् रूखहरू । ग्रामीण दैनिकी कैयौं ढङ्गले रूखहरूसँग गाँसिएको हुन्छ । तिनीहरूलाई चिन्नु जनजीविका थियो र छ पनि ।
गाउँका सबै घरहरू खरले छाइएका थिए । हाम्रो पनि सानो खरबारी थियो । मलाई यो खर र बाबियो उस्तै लाग्थे, तर बाबियोको कुचो धेरैदिनसम्म टिक्ने खालको हुन्थ्यो । ममी भन्नुहुन्थ्यो - बाबियो सीताको कपाल हो, सीताले रामको अपमान सहन नसकेर जमिनमुनि पस्दा कपालमात्र बाहिर रह्यो । यसैले बाबियोलाई लत्याउनुहुन्न । यो आदत यसरी स्थायी भइदियो कि बाबियोको मात्र होइन हरेक सामग्रीबाट बनेको कुचोलाई नलत्याउने र लत्याइहाले ढोग्ने गर्न थालेको थिएँ म ।
पाँचदेखि माथिका कक्षा मैले मावलीघरमा बिताएँ । तर त्यता पनि रूखहरूसँगको निकटता कायमै रह्यो । घरनजिकै धारो थियो र पानीको मूल फुटेको थियो पैयुँ र शिरीषका रूखहरूको फेदमा । मलाई पारिजातको शिरीषको फूल पढ्दा यही रूखको याद आउँछ, तर त्यो रूखमा कहिल्यै फूलहरू देखिनँ मैले । बरु अग्लो त्यस रूखका हाँगाहरूबाट लहराजसरी लामा उपहाँगाहरू तलतिर झुण्डिएका थिए । कतै लहरे शिरीष पो थियो कि ?  मैले पारिजातले पनि शिरीष भनेर गल्तीवश ज्याकराण्डालाई भनेकी हुन् भन्ने जानकारी पनि पढेको थिएँ कतै । देवकोटाको मुनामदनमा उल्लिखित हलुवावेदको रूख भने मैले देख्न नपाए पनि मलाई अज्ञात तरिकाले प्रेम गर्ने र मैले पनि मन पराउने स्कुले प्रेमिकाले घरबाट ल्याएर हलुवावेदका रसिला दानाहरू खुवाएको ताजा स्मरण भने सदा जीवित छ । बरु उनैले भनेको दाडिम (दाडिमको रूखनेर) भने पछि बसाइँसराइ गरेर तराई झरेपछि घरैमा फलेको थियो, खाइन्थ्यो पनि । त्यस्तै पैयुँसँग सम्बन्धित एउटा अर्को कुरा पनि याद आउँछ । जापानीज् भाषा पढ्दाखेरिको कुरा हो । जापानीज् भाषाकी ज्ञाता नेपाली शिक्षिकाले यो जापानको राष्ट्रिय फूल भएको र पहिलोपल्ट नेपालले नै जापानलाई उपहार दिएको भन्ने एउटा अपुष्ट तथ्य भनेकी थिइन् । अङ्ग्रेजीमा चेरी’, जापानीज्​मा साकुरा र नेपालीमा पैयुँलाई एकसाथ तुलना गर्न भने मैले पाएको छुइन ।
मावलीघर नजिकै मैले दुदिलोको सानो बिरुवा ल्याएर रोपेको थिएँ । हरेक दिन पानी हाल्थें । भैंसीको गोबर लगेर छेउमा राखिदिन्थें । हरेक दिन मुसार्थें । एक किसिमको संवाद गर्थें म त्योसँग । कति मायाले हेरचाह गरे पनि त्यो हलक्क बढ्दैनथ्यो । वर्षौंपछि जाँदा त्यो धेरै ठूलो भएको रहेछ । आल्चाको हाँगो जमिनमा गाडे पनि सरिहाल्छ । यस्तै आल्चाको दुईचोसे हाँगो बुवाले ल्याएर रोप्नुभएको थियो । बिदामा घर जाँदा मैले त्यसका  दुई हाँगाहरू डोरी बाटेजस्तो बाटिदिएको थिएँ । र, म बारम्बार त्यो कसरी बढ्छ र पछि कस्तो आकार लिन्छ भनेर हेरीबस्थें । वनस्पतिहरूसँग खेलेको होला म ।
रूखहरू र अझ भनूँ वनस्पतिसँग मान्छेको अनन्तकालात् सम्बन्ध रहीआएको छ । मलाई लाग्छ हामी वनस्पतिहरूसँग युगौं गाँसिनुपर्छ । वनस्पतिहरूलाई फुत्काएर मानवजीवन साङ्गोपाङ्गो हुनै सक्तैन । यी फलफूलका रूपमा, काठपैदावरका रूपमा, जडिबुटीका रूपमा हामीमाझ आइरहेकै हुन्छन् । सडक बढाउँदा काठमाडौंको चक्रपथका रूखहरू हटाइयो । बाटो बढाउँदा धरान नजिकैको चारकोसे झाडी अनि विमानस्थल बनाउँदा निजगढमा थुप्रै रूखहरू काटिनेछन् । यस्तै कति विकासे काममा रूखहरू काटिन्छन्, हटाइन्छन् र ती गुनासो नगरी मर्छन् । रूखहरू सडक, विमानस्थल, विकासे संरचनाहरू, र निजी घरभवनहरू बनाउँदा पर्यावरणबाट हराएजस्तै आजभोलिका बालबालिकाहरूका मानसपटलबाट पनि हराइरहेका छन् । मैले जस्तै मेरा छोराहरूले कति रूख चिन्लान्, कतिसँग आत्मीयता गाँस्लान् , रूखको महत्व कति बुझ्लान्,  उनीहरू रूखमय रुमानी सम्झना सँगाल्लान् कि रूखविहीन रुखो स्मृति बाँच्लान् ? दिनानुदिन पातलिएका रूखहरू र उत्ताउलिएको सहरीकरण देख्दा नमीठो  लाग्छ मलाई ।
अहिले म रूखहरूभन्दा नजिक किताबहरूसँग छु तर पनि म किताबमै युक्यालिप्टसका नाङ्गा रूखहरू लेखिएको पाउँछु, शमीका रूखमुन्तिर वा खरीको बोटतिर कुनै घटना घटेको पढ्छु । भाग्यवश मेरो कार्यालय (विपीकोस्वाविप्र, धरान) रूखहरूको घारीमै छ । म कार्यालय जाने बाटोमा युक्यालिप्टसका फूलहरू छरिइरहेका हुन्छन् । गुलमोहरका रक्तिम फूलहरू फुल्दछन्, ज्याकराण्डाका वैजनी फूलहरू देखिन्छन् । यत्रतत्र गजधम्म पलेटी कसेर हामीलाई नै रुँगेर बसेका जस्ता थुप्रै वरपीपलहरू देख्दा ढुक्क हुन्छु अनि लिची र आँप फल्ने बेलामा लटरम्म फलहरू देखेर पुलकित हुन्छु ।
कथंकदाचित् सकें भने मलाई दाडिमको रूखनेर वा शिरिषको फूल जत्तिको नभए पनि ससानो एउटा रूखमय कहानी लेख्न मन छ । ।                             twitter: @tcheirag9




Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

लाङटाङ पदयात्रा र अनुभवहरू