February 14



प्रिय पूर्व प्रेमिका, मलाई माफ गर । मैले बिराएको छु । म अक्षम्य छु । मलाई लाग्छ यदि नर्कको कठोरतम  झ्यालखानामा कैयौ वर्ष राख्ने हो भने पनि मेरो पापको असूली हुँदैन होला । मैले तिमीलाई फेसबुकमा जवाफ दिएको थिएँ । तर स्प्रुमै अड्किएर कास्टिङमा नपुगेको मेटलजस्तै ती बाटोमै अड्किएछन् । त्यसैले तिम्रा एकोहोरो प्रश्नहरू थुप्रिएछन् । तिनको जवाफ लाउन खोज्दैछु । कृपया पढिदेऊ ।
हो, तिमीले भनेजस्तै हामीवीच समानता कमै थिएछन् । म्याक्जिलरी ट्रेमा अल्जिनेट हालेर म्यान्डिबुलर इम्प्रेसन लिन खोजेजस्तै हुन्थ्यो हाम्रो मिलन । तिमी अमाल्गमजस्ती काली, म कम्पोजिटझैं गोरो । लौ रङ ठूलो कुरा होइन होला तर तिम्रो र मेरो जात पनि त मिल्थेन । तिमी म्याक्जिलरी एन्टेरिअरहरूझैं सौखिन, उच्च खानदानकी, म परें म्यान्डिबुलर थर्ड मोलरझैं दुर्गमको, हेलाहोचो सहनुपर्ने र ताल परे उखेलिने जातको । तिमी धनवती सुनले बनाएको इन्लेजस्ती म त सामान्य कामजीवी । यी असमानताहरूवीच पनि मैले समानता खोजें । इडेन्टुलस मुखमा स्ट्रेप्टोकोकस म्युटान्स खोजेझैं, ग्रेड ३ हल्लेका दाँतमा क्राउन हाल्न खोजेझैं । तिमीले सम्झाएकी हौ । नबुझेको मैले नै हो । बुझ पचाएको मैले नै हो ।
किनकिन म देख्तथें, तिमीलाई आफ्नै अर्को स्वरूप । भर्खर इम्प्रेसन लिएर डेन्टल स्टोनले बनाएको कास्टजस्तै, दुरुस्तै । अञ्जानमै मैले तिमीसँग त्यस्ता सपना साँच्न पुगेको थिएँ, मानौं ब्रेसेसले कस्सिदै गएर टम्म मिलेका दाँतझैं कुनै दिन हाम्रा सुदिनहरू आउनेछन् । तिमीले बाधा ठानेका कुराहरू क्षीण हुनेछन् । पाइजोइलेक्ट्रिक स्केलिङको कम्पनले थर्किएर भागेका क्याल्कुलसजसरी ती बग्नेछन् परपर । अनि त्रिपोलीले टल्काएका एक्रिलिकका दाँतझैं हाम्रो सम्बन्ध टल्किनेछ । म यस्ता स्वप्नहरूमा अलमलिरहेकै थिएँ । तिमीले झस्काएकी थियौ । “नजिक हुन नखोज । एउटा दूरीमा बस ।” टुथ–पृपेरेसन् गर्दा छेवैको अर्को दाँतलाई रत्तिभर नछोएजस्तो गर्न भनेकी थियौ । तर म पर हटिनँ । यदि पवित्र सम्बन्ध राख्नु नै छ भने किन डिवाक्सिङ गर्दा पग्लिएर जाने मैनजस्तो हुनु ? बरु पारदर्शी सेरामिकझैं भएर तिम्रै वरिपरि हुन मनासिब ठानें मैले । सँगै भएर पनि नभएजस्तो, नदेखिएर पनि झन् गाढा भएजस्तो ।
इन्फेरिअर एल्भेओलर नसामा ब्लक भएजस्तै एक्कासी लाटिएर आयो हाम्रो सम्बन्ध । खै कताबाट हठात् तिमी कठोर भएझैं लाग्यो । डेन्टल फ्लसजत्रा ससाना मनमुटावहरूले अकस्मात् एक्स्ट्रयाक्सन फोरसेप्स्को रुप लिन थाले । अनि यत्रतत्र हल्लाउन थाले हाम्रा मजबुत बनेका मायाप्रेमका कुराहरूलाई । कोही मलाई कुरा लाउन थाले, “उसको त पहिला दुईजनासँग चक्कर चलेको थियो काजी । चक्कर मात्र होइन, एउटासँग त ठक्कर पनि ।” बिस्तारै मिडलाइन डाएस्टेमा ल्याइदिए हामीबीच । तिमीलाई पनि भनेछन् तिनीहरूले, “त्यो कहाँ सही प्रेम गर्ने मान्छे हो र ? त्यो त सतही मायाजाल रच्ने नाटुकार हो ।” मानौं म केवल युजीनोलको सिमेन्ट जस्तै अस्थायी रेस्टोरेटिभ हूँ । उनीहरूले मलाई अगार–अगारजसरी विभिन्न अवस्थामा ठीक्क हुने र फेरि आफ्नो पुरानो रूपमा फर्किने घुमन्ते बनाइदिए । यस्तो सुन्दा तिमी वर्नआउटमा राखेको कास्टिङ रिङझैं अवश्य तातियौ होला । कसलाई चित्त बुझ्छ र यस्तो थाहा पाउँदा ।
असमझदारी बढ्न थालेपछि मैले नि तिम्रो हुँदो गरिनँ । एन्टिको नियम उल्लंघन गरेर एफपीडी लगाएजस्तै तिम्रा कामलाई असफल बनाउन थालें मैले । हुँदै नभएका क्यानल खोज्ने बहानामा एक्सेस क्याभिटी बढाएजसरी मैले तिम्रो व्यवसायमा भाजो हाल्न थालें । कहिले तिम्रा आफन्तकै अगाडि तिम्रो बेइज्जती गरिदिएँ । तिमीले दुर्व्यसन गरेको भनेर झूठो कुरा लाइदिएँ । तिम्रै परिवारसामु तिमीलाई मेसियोडेन्सझैं बनाउने खेलहरू खेलें मैले । जब तिमीले मलाई गुण्डा, नीचजस्ता आरोपहरू लगायौ ग्लास आयोनोमर सिमेन्ट र दाँतको बीचको मजबुत बोण्डिङ जस्तो हाम्रो प्रेम टुटेको आभाष हुन थाल्यो मलाई । अनि रेसिप्रोकल आर्म भाँचिएको क्लास्पजस्तो अनियन्त्रित भएँ म । मैले जुन कुरा पाउन कठिन प्रयास गरें, त्यो नपाउने भएपछि कति विचलित भएँ म, त्यसको आँकलन तिमी गर्न सक्ने छैनौ । पहिले एन्काइलोसिस् भएको टीएमजेलाई सामान्य ठान्थें होला म, अब अलिकति घ्याट्याक्को क्लिकिङलाई पनि ठूलो देख्न थालें । कार्यालयमा तिमी मभन्दा तल्लो पदमा भएकोले पनि होला, कामको चाप बढाइदिएँ, इमेडिएट लोडिङ इम्प्लान्टजसरी वरिपरिको अवस्था बुझ्न पनि नपाई नयाँनयाँ शाखामा पठाएर तत्काल काम गर्न भनें । तिमीले प्रतिकार गरिनौ । मैले प्रतिशोधको भावले यी कामहरू गरेको मेसो पाइनौ तिमीले ।
कतिपय समयमा अरुले गरेको गल्तीमा मैले तिमीलाई दोषी पनि त बनाएँ नि । राम्ररी नमिलेको एफपीडीलाई मिलाउनु–सम्याउनुको सट्टा प्राकृतिक दाँतको ग्राइन्डिङ गरेजसरी । मेरो ध्येय यस्ता कर्तुतहरूबाट तिमी थाक्नेछौ भन्ने थिएन अर्थोडोन्टिक रिल्याप्स् भएजसरी । परन्तु किनकिन तिमी खुसी भएको देख्न चाहन्नथें म । कार्यालयमा तिम्रो उपस्थिति मेरो लागि फ्लोराइडजस्तो भएको थियो, नहुँदा नि गाह्रो हुने, धेरै हुँदा झन् गम्भीर समस्या ल्याइदिने ।
आखिर भ्रममा रहेछु म । प्रेमको असल परिभाषा त प्रेमकर्ताको खुसीलाई बचाउनु पो रहेछ । मैले तिम्रो प्रगतिको लागि अझ सहयोग गर्नु पर्ने थिएछ । म बरु तिम्रो मार्गदर्शक बन्नुपर्ने रहेछ । माफ गरिदेऊ । यो पाँच–छ महिनाको बसाइमा जति गल्ती भए पनि तिनीहरूलाई केवल इन्टरिम प्रोस्थेसिस्का अप्ठ्याराजसरी बिर्सिदेऊ । लिग्नोकेन जेलीले दिएको असजिलो सम्झिदेऊ । तिम्रो जीवनका दूधे दाँतमा लागेको कीरा ठानिदेऊ । अब राम्रो सुरुवात गर्नुछ तिमीले जीवनको, प्रगतिको, उन्नतिको । तिम्रो जीवन एंगलको क्लास १ अक्लुजनको उत्तम नमूनाजस्तो विशिष्ट रहोस् । तिम्रा पदचापहरू इलास्टोमरमा लिएको नापोझैं अनुकरणीय बनून् । कतै बाधा नपरून्, ब्यालेन्स्ड् अक्लुजनको सीडीजस्तो सन्तुलित बनोस् जीवनको यात्रा । थाहा छ, म क्षम्य छुइन । तैपनि एकपल्ट म्यान्डिबुलर फोरसेप्स्झैं झुकेर माफीको याचना गर्दछु ।
तिम्रो पूर्व प्रेमी

Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

लाङटाङ पदयात्रा र अनुभवहरू