पात्रको खोजीमा-E2

 (दोस्रो शृंखला ) few episodes
पात्रको खोजीमा (S02E01) july 27.2014
घरबाट निस्कने बेलामा घनघोर पानी पर्छ । कतिको मनमा खुशी ल्याउँछ यस्ले । किसानहरू रोपाईं गर्न तम्सिन्छन् । बटुवाहरू भने दिक्क मान्छन्, कोही रमाउलान् यसको वर्षात हेर्दै, कसैले रच्लान् गजल । वर्षाको स्वरूप उल्लासमय छ । आकाश रिसाएझैं गडगडाउँछ, बिजुली चम्किन्छ; रिसको आगोसरी । धुम्म आकाशलाई धर्तीले फकाउँछे । अपूर्व मिलनमा वर्षिन्छ झरी । अनि खुल्छ आकाश तृप्त भएझैं र धर्ती; शर्माएझैं हरियाउँछे ।
यो वर्षा नै पात्रात्मक बनेको छ आज !

________________________
पात्रको खोजीमा (S-02; E-02)  july 29, 2014
चर्को घाममा उभिरहन्छ । हूरीमा हल्लिन्छ तर झुक्दैन । झरीमा रुझ्छ तर आत्तिदैन । कहिले सर्वाङ्ग नाङ्गिन्छ, लजाउँदैन । फूलले सुशोभित हुन्छ, मात्तिदैन । उसले स्थिर जरा गाडेको छ र स्थाना रहन कम्मर कसेको छ । त्यसैले खुसी देख्तछु म सँधै सँधै उसलाई ।
सुख, दु:ख, हर्ष, पीडा सबै मौसमजस्तै क्षणिक हुन् -- यस्तै सिकाइरहेको छ उसले । 
मेरो कोठाछेउको गुलमोहरको रूख्; आजको पात्र !

________________________
पात्रको खोजीमा (S-02; E-03) July 30/2014
यसो अस्पत्तालको भित्री बाटो हिंडेको उसलाई देखिहालें । एकजनालाई प्याट्ट टाउकोमा हिर्काउँदै थियो, अर्कोको नाकमा काउकुती लाउँदै । छातीमै धक्का दियो एउटा युवाको । अनि बच्चीको पेटमा भकुर्न थाल्यो । परतिर एकजना भन्दै थिए, 'पोहोर मेरो हातै बटाऱ्यो ।' नभन्दै ढाडमा सुम्ल्याउन पो आयो ऊ । खुट्टा समाएर हिंड्न दिएन एकजना वृद्धको । स्वयम् डाक्टरले भनेका-- उसले आँखामा धूलो हाल्ने, दाँतमा ढुङ्गै हाल्ने, गर्दन मर्काउने, राम्री स्त्रीको अनुहारै कुरुप पार्दिने समेत गर्छ रे । दिसाघर, पिसाबघर त छोड्दैन रे अरु त के कुरा ! जिस्किरहने यसको बानी छ रे, सकेसम्म जित्नै खोज्ने ।
नकच्चरो मोरो "मृत्यु", आजको पात्र । जिस्कन दिनुस्, ठीकै छ तर जित्न नदिनुस् नि ।

(P.S. आखिर जित उसकै हुन्छ )

Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

लाङटाङ पदयात्रा र अनुभवहरू