यसो गरे कसो होला ?

यसो गरे केहि होला कि ?
भूकम्पजस्तो दैवी विपत्तिलाई कसैले टार्न सकिने होइन | यसको न कुनै सही अनुमान लगाउन सकिन्छ न त भरछेक गर्न नै सम्भव छ | परन्तु भूकम्पको बारेमा सही जानकारी राख्नु, यसको सम्भाव्यताबारे बुझ्नु, पूर्वतयारी गर्नु र जोगाऊका उपाय अपनाउनु चैं अबको आवश्यकता बनेको छ | हालै नेपालमा गएको विनाशकारी भूकम्पपछि संचारमाध्यमहरूबाट प्राप्त समाचार र सूचनाका आधारमा यो लेख लेख्दैछु |
सुरुमा यस गम्भीर सङ्कटबाट आहत हुनुभएका सम्पूर्ण मानवजनमा हार्दिक सहानुभूति प्रकट गर्दछु | भूकम्पको वैज्ञानिक कारण, प्लेटहरूको चाल, भूकम्पीय जोखिम न्यूनीकरणका उपाय आदिको बारेमा उपयोगी कुराहरू सम्बन्धित विज्ञहरूबाट यदाकदा आइसकेका छन् र भविष्यमा थप आउने छन् | यहाँ आफ्नै शैलीका केही सुझावहरू सुचीबद्ध गर्दछु जुन  कुराहरूलाई मैले भूकम्पजस्ता जोखिमसँग देशले कसरी सामना गर्न सक्छ भन्ने हेतु प्रस्तुत गरेको हुँ |

१.      नेपाल भूकम्पीय दृष्टिले अत्यन्त झोखिम क्षेत्रभित्र पर्दछ | इतिहासलाई हेर्दा हरेक ६० देखि १०० वर्षमा विनाशकारी भूकम्प जाने आंकलन गर्न सकिन्छ | भुधरातलको गर्भाशयमा हुने परिवर्तनकै फलस्वरूप हिमालयको निर्माण भएको र त्यो उर्जा नियमित बन्दै जाने हुँदा फेरि फेरि पनि नेपाली हिमालय क्षेत्रले भूकम्पको जोखिम बेहोर्ने पर्ने हुन्छ | सतर्क बन्नु र जिम्मेवार बन्नु मात्रै यसबाट भाग्ने उपाय हो |
२.      सबै निर्माण भैसकेका घरहरूको पुनर्मूल्यांकन गरी जोखिमयुक्त घरहरूलाई सरकारी स्तरबाटै हटाई पुनर्वासको व्यवस्था गरिनु अपरिहार्य छ |
३.      ऐतिहासिक स्थल, अग्ला टावर, सिनेमा हल, स्कुल, सपिंग सेन्टरजस्ता मानवीय भिड हुने स्थानहरूको पनि पुनर्मूल्यांकन गरी जोखिम भए बन्द गर्ने र पुनर्निर्माण गर्न कदम चालिनु आवश्यक छ |
४.      तीव्र सहरीकरण रोक्ने, हरेक सय घर भएको टोलमा एउटा खुला क्षेत्र अनिवार्य हुने गरी सरकारी हस्तक्षेप गरिनु र त्यस खालका ससाना बस्ती हुने व्यवस्था गर्नुपर्दछ |
५.      दुई तलाभन्दा उच्च भवन निर्माण गर्दा भूकम्पीय जोखिमको यथेष्ट ख्याल गरेको हुनुपर्दछ | निजी संघसंस्थालाई जथाभावी अनुमति दिई जोखिमयुक्त घर निर्माण गर्ने कार्य निरुत्साहित गरिनुपर्दछ |
६.      ग्रामिण इलाकामा सरकारी र सामुदायिक स्तरबाट खेतीयोग्य जमिन, आवासीय जमिन र औद्योगिक जमिन पहिचान गरी गरिब जनताका लागि सहुलियत ऋण वा अनुदानमा जोखिमरहित घरहरू बनाउने र जनतालाई पुनर्वास गराउने तर्फ सरकारले ध्यान दिनु जरुरी छ |
७.      पुनर्निर्माणको चरणमा सही विशेषज्ञता भएका, भ्रस्टाचार नगर्ने व्यक्तिहरूलाई सहभागी नगरी पुरानै शैलीमा विकास थाल्नु नेपालको लागि अभिशाप साबित हुनेछ |
८.      भूकम्पसँग जुध्न सक्षम जापानजस्ता मुलुकसँग प्राविधिक र वैज्ञानिक ज्ञान लिई उनीहरूको प्रत्यक्ष सहभागितामा हुने निर्माण, आवासीय व्यवस्था र पुनर्वासका कार्यक्रमले मात्रै नेपालले आगामी भुकम्पसँग पौंठेजोरी खेल्न सक्नेछ |
९.      संघीय संरचनामा देश गयो भने विकेन्द्रीकरण हुन्छ र काठमाडौमा हुने जनचाप, अव्यवस्थित सहरीकरण घट्छ र प्रकोपपश्चातको उद्धारमा हुने कठिनाईसमेत कम हुन जान्छ |
१०.  नेपालजस्तो देशले भूकम्पलाई हरेक दिन हुन सक्ने विपत्तिको रूपमा ग्रहण गर्नुपर्छ | एउटा छुट्टै मन्त्रालय स्थापना गरी प्रकोपपछिको उद्धार कार्य चुस्त राख्न एउटा सबल संयन्त्रको विकास गर्न सक्नुपर्छ |
११.  विद्युतलाई भूमिगत गर्ने, जलश्रोतलाई शुद्ध तरिकाले आपूर्ति गर्ने आधार भएर मात्रै सहर बसाउन थाल्नुपर्छ | यसबाट ठुलो जोखिममा पनि सहज तरिकाले जनजीवनलाई व्यवस्थापन गर्न सकिन्छ |
१२.  एक सन्तान नीति लागु गरिनुपर्छ | यस्तो नीतिको सरोकार आर्थिक, सामाजिक पक्षसँग सम्बन्धित होला | अपितु जनसंख्याको तीव्र वृद्धि रोक्न सक्यो भने यसबाट अन्ततोगत्वा नेपालजस्तो विपन्न देशको भूकम्पसँग जुध्ने क्षमतालाई अवश्य असर पार्छ नै |

१३.  जनचेतनामूलक कार्यक्रमहरूलाई अझ व्यापक बनाउनुपर्दछ | हुन त यस पाटोमा भने हाम्रो प्रवृति
“काग कराउने र पिना सुक्ने” भएको जगजाहेर छ |

Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

लाङटाङ पदयात्रा र अनुभवहरू