स्वास्थ्य व्यापारको अन्त्य गरौँ



स्वास्थ्य व्यापारको अन्त्य गरौँ
-चिराग नेपाली, काठमान्डौ
अब नेपाली बजारमा स्वास्थ्य व्यापार नौलो कुरो रहेन | ग्रामीण इलाकामा पनि परिचित भैसक्यो यो शव्दावली | व्यापार त्यस्ता कुरामा गरिनु ठिकै हो, जसको सम्बन्ध विलासितासँग छ | दैनिक जीविकामा गाँसिएका यावत् संसाधनहरू पनि व्यापारसँग प्रत्यक्ष परोक्ष रुपमा सम्बन्धित छन् | दाल, चामल, नून, कपडा, गाडी, घर, जग्गा आदि कुराहरू व्यापारिक जिनिस हुन् | यिनमा व्यापार अपेक्षित छ | तर मानव-स्वास्थ्यजस्तो संवेदनशील विषय बजारमा बेच्न राखिएको जिनिस झैँ किनबेच गरिनु कतिसम्म निकृष्ट कुरा हो | नेपालमा अब कल्पना हैन वास्तविकता यै बनेको छ | स्वास्थ्य व्यापारको यो परिवेश र पाटोलाई एउटा पात्रमार्फत् चिरफार गर्ने जमर्को यो लेखमा गरिनेछ |
यो पात्र मानौं जुम्ला, बझाङ, रुकुम, ताप्लेजुङ वा सोलुखुम्बुको किसानको छोरो हो | उसको जीवनको सुरुवात कुटोकोदालो, हलो-लिड्को र घाँसभारीबाट भएको हो | उसले स्कूल पढ्दा हरेक बिहान एक भारी दाउरा बिसाएर हतार हतार ढिडो र साग खाएर दौडिदै पुगेको सही साँचो हो | नपत्याए सोधे हुन्छ ऐले पनि उसको घरछेउका छिमेकिजनलाई |
पढाइमा अब्बल छात्र भएर ऊ निस्कियो | सबैले लख काट्न थाले, यो त डाक्टर बन्छ, इन्जीनियर बन्छ आदि | जब उसले  शिक्षाको लागि गाउँ छोड्यो, तब उसले वास्तविकता बुझ्न थाल्यो, परिवेश बुझ्न थाल्यो | उसले खुट्याउन थाल्यो अनेक श्लेष सम्बन्धहरूलाई, जस्तै: समाज र राजनीति, इमानदारी र नैतिकता, सेवा र सम्पन्नता, बोली र व्यवहार, आदर्श र आर्थिक अवस्था |यी अनेक बाधा र व्यवधानहरूसँग पौंठेजोरी खेल्दै उसले उच्च शिक्षा हासिल गरेकै हो | अब त्यो किसानको छोरोले कुनै सामान्य विषयमा पढेर ठुलो जागिर के पाउन सक्थ्यो ? साधारण जागिरको लागि पनि आफूभन्दा कमसल र अदक्ष तर उपल्लो वर्गको आशिर्वाद पाउनेहरूसँग शर्मनाक पराजय बेहोरेको धेरै पत्रिकाले खुलेरै लेखेका हुन् त्यो बेला | तर पत्रिकाका कुराले के नै छुन्थ्यो र उपल्लो वर्गका अछुत मनधारीहरूलाई ? जे होस् त्यो पात्रको अन्तिम विकल्प बन्यो, मलेशियामा प्लम्बिंग गर्नु | त्यै पनि घरखेत बन्धकी राखेर म्यानपावर नाम गरेका मानव तस्करलाई लाखौ बुझेर उसले प्राप्त गरेको सुअवसर हो | के उसले उसको गाउँका सपनाहरू पूरा गर्ला त ? घरैछेउका कोही थिए, ज्वरो आउँदा उसैको शरण पर्थे र भन्थे, तँ डाउडर बनेपछि यो गाउँमा कसैले अकाल मर्नुपर्दैन | खै त ? घर मुनिका साहूजी उसलाई ढाडस दिन्थे, तँ आँट गर् अलिअलि ऋण गरेर नि तँलाई डाग्डर बनाउनै पर्छ, हेर् तेरो काकी सुत्केरी हुँदा गाउँमा डाग्डर भाको भए अकालमा मर्ने थिइन | आँखाका डिलमा आँसु ल्याउँदै उनले भनेका थिए | विडम्बना ऊ चिकित्सक बनेको छैन | अझै पनि उसका गाउले काका-बडाबाहरू हैजाले सताइएका छन्, झाडापखालाले छटपटाउँदा जीवन-जल नपाएर मृत्युवरण गर्न विवश छन्, उसका काकी,फुपू र माइजूहरू गर्भावस्थामा साधारण उपचार नपाएर बैशमै मर्छन् र राजधानीका अखवारहरू बोल्ड अक्षरमा समाचार लेख्छन्, “समयमा उपचार नपाउँदा एक सुत्केरीको मृत्यु” |
मान्नुस् ऊ दलित, दुर्गम, जनजाति या यस्तै आरक्षित कोटामा सहरको सरकारी मेडिकल कलेजमा परिहाल्यो रे (हुन त यी कोटाहरू प्रायश: सहरिया धनाढ्यका पोल्टाबाहिर पर्दै पर्दैनन् ) | अब भनिएका कोटामा पनि लाखौं खर्च लागिहाल्छ | उसको घरखेत जान्छ नै | बल्लतल्ल ऋण गरेर उसले एमबिबिएस वा बिडीएस पास गर्छ | हो, नामको अगाडि डा. चाहिँ लेख्छ | तर उसको कथा यतिमा सकिनेवाला छैन | किनभने उसको दक्षता र सीप अपर्याप्त छ अझै पनि | एमडी र एमएस गर्नै पर्छ उसले | अब उसलाई फलामको च्युरा चपाउन जतिकै कठिन हुन जान्छ जीवन | ऋणको भार छ एकातिर, घरखेत निखन्नु पर्ने बाध्यता पनि छ | युवावस्थाको सिर्जनशील उमेर उसले दुई किलोग्राम वजन भएका  थुप्रै पुस्तकका फुकीढल अक्षरहरूसँग कुस्ती खेलेर बिताएको छ | अब त उसलाई ऋण पत्याउलान् नि | करोडको नजिक ऋण कोचेर भए पनि  एउटा निजी कलेजमा एमडी-एमएस-एमडीएस आदि कुनै विधामा प्रवेश लिने निर्णय गर्नै पर्छ उसले | अब तीन-चार वर्षमा उसको उमेर तीसनजिक पुग्छ नै | उसका समवयीहरू राजनीतिमा लागेका भए गाउँका योजना-प्रमुख भएर लाखौं कुम्ल्याउँदै होलान्, गुन्डागर्दिमा लागेका भए त कुरै नगर्नुस् कति शानदार जीवन बाँच्दै होलान् | विदेश नै पसेका भए पनि तराईमा घरघडेरी जोडिसकेका छन् | यी तमाम अवस्थाको परिणामत: ऊ विशेषज्ञ चिकित्सक भएर गाउँ जान सक्तैन | उसले सहरमा स्वास्थ्य व्यापार थाल्नै पर्ने हुन्छ | उसका अगाडि एउटा बिरामी केवल मानव संवेदनाले भरिएको उजस्तै मानव नभएर ‘सुनको अन्डा दिने कुखुरी’ देखिन थाल्छ | नैतिक बन्देजहरू बिर्सेर अनेकथरि शल्यक्रिया गर्नु, नचाहिदा औषधि लेखेर औषधि विक्रेता कम्पनीबाट मिठोमसिनो फाइदा लिनु, नचाहिदा परिक्षणहरू थोपरेर ल्याबहरूबाट कमिसन खानु र यस्तै व्यापारिक तानाबानाहरूबाट आफ्नो थाप्लोको ऋणबाट उकासिदै जाँदा अब ऊ अभ्यस्त बन्न थाल्छ, उसको आलिशान जिन्दगी हुन्छ, अब उसलाई सस्तो दालरोटी अवश्य रुच्दैन | हेर्नुस् यसरी एउटा गाउँले सेवादायक मन भएको व्यक्तिको नैतिक हत्या हुन्छ हाम्रो समाजमा र सहरिया पिपासु डानव (डा.-मानव)को जन्म हुन्छ |
यस पात्रको अवस्था र परिवेशको उत्खनन गर्ने हो भने राजनीतिको डरलाग्दो कंकालले उसलाई यस विषमतातर्फ धकेलेको प्रष्ट देख्न सकिन्छ | यदि देशमा सुव्यवस्था हुँदो हो त यो पात्रले आफ्नै बलबुतामा चिकित्सक बन्न पाउने थियो, सहि स्वास्थ्यनीति हुँदो हो उसको थाप्लोमा ऋणको भारी हुँदैनथ्यो र ऊ डानव बन्न पुग्दैनथ्यो | सहरमा मात्र होइन गाउँसम्म गुणस्तरीय शिक्षा पुग्दो हो त उसले गाउँकै आवश्यकताअनुरूपको शिक्षामा प्रवेश गर्दथ्यो | मेडिकल शिक्षामा केवल सरकारी लगानी हुँदो हो र मेडिकल शिक्षा सर्वसुलभ हुँदो हो त उसले बिना कोटा सरकारी चिकित्सक बन्ने थियो, र सरकारले खटाएको गाउँ वा बस्तीमा पुगेर हाँसीखुसी सेवा दिने थियो | तर दरारहरू यत्रतत्र छन् | स्वास्थ्य व्यापारको अभेद्य पाटो भनेको स्वास्थ्य क्षेत्रमै भएको राजनीतिकर्मी र गुण्डाहरूको लगानी पनि हो | जसले गर्दा उनीहरू कमाइ गर्न मात्र अस्पताल खोल्छन्, मेडिकल कलेज खोल्छन् र व्यापार गरिरहन्छन् | यो अवस्था तबसम्म जारी रहन्छ जबसम्म जागरुक समुदाय उठ्दैन, सबै जनतामा चेतना आउँदैन र सरकारी नीति बदलिदैन | ढिलै भए पनि एक जना व्यक्ति केसीको कुरा धेरैले बुझे, यसबाट च्याउ उम्रिए जसरी व्यापारिक कलेज खोल्नमा बन्देज लाग्यो | एउटा व्यक्तिको भद्र आन्दोलनले यति परिवर्तन गर्न सक्छ भने हामी धेरै जनाले यो विकराल पाटोमा  अलिकति चासो राख्दा कायापलट हुँदैन भन्न सकिन्न | ठुलाठुला परिवर्तनहरू यस्तै लहडी कुराले नै भएका छन् | परिवर्तन इच्छाशक्तिले हुने कुरा हो न कि सुप्त चेतना | समाचार पढ्ने, एकछिन मनन गर्ने अनि अग्रसर हुनुपर्ने बेलामा चूप बस्ने प्रवृति हामीमा हावी छ | अझ भनुँ राजनीति र सरकारको आलोचना गरेर नथाक्ने तर आफूले सिन्को नभाँच्ने आदत भइसकेको छ हाम्रो | हो, हाम्रो पुस्ता त जसोतसो यतिकै गुज्रिएर जाला तर आगामी पुस्ताहरूले हाम्रो अकर्मण्यतालाई कुरीकुरी गर्ने छन् र सराप्ने छन् यदि स्वास्थ्य व्यापारको यो उग्र स्वरुपलाई बेलैमा सही मार्गोन्मुख गर्न सकेनौं भने | चेतनशील मनहरूप्रति सादर धन्यवाद !

Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

लाङटाङ पदयात्रा र अनुभवहरू