Dental Specialists: Why ?

दाँतको उपचारमा विशेषज्ञको भूमिका


डा. विशाल बाबु बस्नेत, बिडीएस, एमडीएस

भनिन्छ नि कच्चा वैद्यको मात्रा, यमपुरीको जात्रा । यो उक्ति स्वास्थ्यक्षेत्रमा सार्थक यस कारण पनि छ कि हाम्रोजस्तो विकासोन्मुख देश, त्यसमाथि पनि गरिबी र अशिक्षाले आक्रान्त देशमा धेरै जनसमुदाय पक्का चिकित्सकको सामु पर्दैनन् र कच्चा उपचारक अथवा अदक्ष व्यक्तिको सेवासल्लाह लिन बाध्य हुन्छन्, फलस्वरूप विभिन्न दु:ख, झन्झट र समस्या भोग्न विवश हुन्छन् । आज यस लेखमा डेन्टल स्वास्थ्यमा विद्यमान यसप्रकारका समस्याहरूलाई खोतल्ने र यस विषयमा जानकारीहरू प्रस्तुत गर्ने प्रयास गरिनेछ ।

धेरैजसोले दाँतको स्वास्थ्यलाई नकारिराहेका हुन्छन् र यो स्वास्थ्य विधामै पर्दैन जसरी सोच्ने गर्दछन् । अझ कतिले दाँतको डाक्टर हुन्छ, यसको पनि विशेष तरिकाले उपचार गर्नुपर्छ जस्ता कुरा विश्वासै गर्दैनन् ; दाँतको विशेषज्ञ पनि हुन्छ भन्ने कुरा त उनीहरूको लागि आश्चर्यको विषय बन्छ । यस्तो परिस्थिति र संस्कार अशिक्षित समुदायमा हुनु स्वाभाविक नै हो तर शिक्षितवर्ग पनि दाँतको विशेषज्ञ हुने कुरा सुन्दा नाक खुम्च्याउछन् र दाँतको पनि तेस्तो विशेष उपचार हुन्छ र भनेर प्रश्न गर्दछन् । तर दाँतको रोग, समस्या र अस्वास्थ्य शरीरको अन्य अंगजत्तिकै महत्वपूर्ण हुन्छ, जसरी नाक, कान, आँखा जस्ता अंगको महत्व हुन्छ । अझ दाँतको सम्बन्ध त शरीरको समग्र स्वास्थ्यसँग गाँसिएको पनि हुन्छ । किनभने हाम्रो शरीरको वृद्धि, विकास र सुसंचालनमा विभिन्न पोषक पदार्थहरूको आवश्यकता पर्दछ जुन हामीले खाएका खाद्यपदार्थहरूमार्फत् पूर्ति हुने गर्दछ । यदि हाम्रो दाँतहरू कमजोर छन्, अथवा छँदै छैनन् अथवा रोगले गर्दा खिइएका, दुखेका वा चपाउन नसक्ने गरी सडेका छन् भने हामी खानेकुरालाई राम्ररी चपाएर पच्न योग्य बनाउन असमर्थ हुन्छौं । त्यसै गरी दाँत नभएपछि हामी खानेकुरामा सतर्क बन्न थाल्दछौं, जस्तै रोटी, साग, फलफूल, गाजर, काँक्रोजस्ता लाभजन्य खानाको सट्टा बजारिया बिस्कुट, पाउरोटी, तरलिकृत खाना र अन्य सजिला खानेकुरा मात्र खाना थाल्दछौं । यसरी खास खास खानेकुरा मात्र खाँदा शरीरलाई चाहिने भिटामिन, खनिज पदार्थ, फाइबर आदिको कमी हुन गई शरीर कमजोर हुने, रोगव्याधीले चाँडो आक्रमण गर्ने आदि समस्या हुन थाल्दछ । यसैले दाँतको समस्यालाई साधारण सोच्नु दीर्घकालमा प्रतिकूल हुन जान्छ परन्तु हामीले दाँतको स्वास्थ्य र शरीरको स्वास्थ्यको यो अन्तरसम्बन्धलाई बुझिरहेका हुँदैनौं ।

अब चर्चा गरौँ, दाँतको उपचारमा विशेषज्ञ नै किन त ? किनभने माथि भनिएअनुसार दाँतको स्वास्थ्य पनि अरु अंगको जसरी नै महत्वले भरिएको हो । यसैले अरु  अंगजस्तै दाँत र मुखको स्वास्थ्यलाई पनि उत्तिकै हेरचाह र उपचारको खाँचो हुन्छ । त्यसैले त यस विषयमा पनि चिकित्सकहरू पांच-छ वर्ष अध्ययन गरेर उत्पादित छन्, अझ विशेषज्ञताका लागि थप तीन वर्ष पढ्ने गर्छन् । कतिले त्यसमाथि विद्यावारिधि पनि गर्दछन् । हामी भने यसो देखेको भरमा दाँतको उपचार गर्न सिकेका, बाउबाजेले दाँतको उपचारलाई पेशा बनाएकाले गर्दा पुर्खौली पेशाका रूपमा त्यही पेशामा आबद्ध भएका, तालिम नलिएका, नपढेका र अदक्ष मानिसको हातबाट दाँतको उपचार गराइरहेका हुन्छौं । यसरी ज्ञान नपाएका व्यक्तिहरूको ध्यान उपचारमा कम र आम्दानीमा बढी हुन्छ । उनीहरूले दाँतको बनावट, गिजाको अवस्था, दाँतसँग अन्तरसम्बन्धित अरु अंगको जानकारी, दाँतको कारण मुख, जिभ्रो, घाँटी र च्यापु-खप्पर जोर्नीमा
पर्ने गम्भीर असरहरू बारे कत्ति पनि जानेका हुँदैनन् । यसैले उनीहरू एउटा विन्दुको उपचारमा केन्द्रित हुन्छन् त्यो पनि क्षणिक लाभका लागि । उनीहरूले आधुनिक उपचारपद्धति, नयाँ शिल्प, नयाँ औजार र तिनीहरूको सही प्रयोगविधिबारे जानकारी राखेका हुँदैनन् । तत्काल हेर्दा राम्रो देखिने तर भित्री रूपमा अपूरो, उल्टो वा अनावश्यक उपचार गरिरहेका पनि हुन सक्छन् । त्यसतर्फ सतर्क हुनु जरुरी छ ।


नेपालमै कतिपय समयमा अदक्ष मानिसबाट दाँतको उपचार गराउँदा विरामीको ज्यानै गएको घटना समाचारमा आएको पाइन्छ भने विभिन्न समयमा यस लेखकले दाँतको उपचारमा व्यापक हेलचेक्र्याइँ भएको पाएको छ । चिनियाँ घुमन्ते चिकित्सकहरूले कृत्रिम दाँत भनेर गिजामै जोडेर राखेको दाँतको कारण गिजा सुन्निएर पाकेर गम्भीर संक्रमण भएका धेरै विरामी भेटेको लेखकको अनुभव छ । त्यस्तै जरादेखिको उपचार भनेर जरासम्म पुग्दै नपुगी क्राउन लगाइएका कारण पछि गएर दाँत गुमाउनुपरेको, गिजाको स्केलिंग गर्नको लागि गलत औजार र गलत तरिका अपनाएका कारण दाँत सिरिङसिरिङ हुने विरामीहरू  त यत्रतत्र नै भेटिने गर्दछन् । यस्ता प्रशस्तै उदाहरणहरूलाई अर्को स्तम्भमा फेहरिस्त गर्ने जमर्को गरिनेछ ।

अब लागौं विशेषज्ञ उपचारका लागि कसरी सतर्कता अपनाउने भन्ने बारे जानकारीतर्फ । दाँतको उपचारमा जाँदा चिकित्सकको शिक्षा, नेपाल मेडिकल काउन्सिलमा दर्ता रहे-नरहेको जानकारी, शिक्षा लिएको विश्वविद्यालयको बारे जानकारी आदिबारे सोधीखोजी गर्नु उपभोक्ताको अधिकार हो । सकेसम्म चिकित्सकको बारे स्पष्ट जानकारी दिएका अस्पत्ताल वा क्लिनिकहरू नै रोज्नुपर्दछ । उपचार अगाडि पूर्ण परामर्श लिनुपर्दछ, उपचारको अवधि, उपचार नगर्दा हुने हानी, उपचारमा प्रयोग गर्ने सामग्री र औजारहरू निर्मलीकरण गरिन्छ कि गरिदैन सोध्नुपर्दछ । यी यावत् कुराहरूको जानकारी विशेषज्ञ चिकित्सकलाई मात्र हुने गर्दछ । उपचार गर्नुअगाडि मन्जुरीनामा पत्र राम्ररी पढेर हस्ताक्षर गर्नुपर्दछ । मिठो-स्वादिलो बोलीको भरमा व्यक्तिको  दक्षता र   ज्ञानको मापन गरिनु हुदैन परन्तु चिकित्सकमा यी गुण हुनु वान्छनीय मानिन्छ नै ।

यसैले दाँतको स्वास्थ्यको बारे राम्रोसँग विचार गरेर सही र उपयुक्त उपचार गर्न उपभोक्तावर्ग सचेत हुन जरुरी छ । यो हाम्रो नैसर्गिक अधिकार पनि हो । यसको लागि केही कुराहरूमा विशेष ध्यान दिनु पर्दछ । पहिलो कुरा हामी डेन्टल स्वास्थ्यलाई शरीरको अरु अंगजसरी नै महत्वमा राखौं । दोस्रो कुरा दाँतको उपचार समयमा गराऔँ । तेस्रो र महत्वपूर्ण कुरा दाँतको उपचारमा तालिम, ज्ञान र सीपप्राप्त चिकित्सकलाई मात्र संलग्न गराऔँ । यति गरेमा दाँत बलियो भए आँत बलियो हुन्छ भन्ने भनाइ चरितार्थ हुनेछ । 

Comments

Post a Comment

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

लाङटाङ पदयात्रा र अनुभवहरू