Health Camp at Nele

स्वागतपछि स्कूलका प्राचार्य, वि.व्य.स. अध्यक्ष र मूल आयोजक समिति सदस्यसँग तस्विर खिचाउँदै चिकित्सक टोली












नेलेमा स्वास्थ्य शिविरको अनुभव

२०२२ सालमा स्थापित सोलुखुम्बू जिल्लाको नेले गाउँमा रहेको जीवन ज्योति उच्च माध्यमिक विद्यालयले यस वर्षको फागुन पहिलो सप्ताहलाई स्वर्ण महोत्सवको रुपमा मनाउने क्रममा
डेन्टल स्वास्थ्य परिक्षणमा डा. विशाल

डा. राजीव स्वास्थ्य परिक्षण गर्नु हुँदै
विरामीहरू परिक्षण कोठामा प्रवेश गर्दै
औषधि वितरणमा स्थानीय स्वास्थ्यचौकीमा कार्यरत बहिनीहरू
 त्यसै स्कूलको पूर्व छात्रको नाताले मलाई पनि विशेष आमन्त्रण गरेको थियो | आफ्नो ज्ञान र सीपको क्षेत्र स्वास्थ्यसँग सम्बन्धित भएकोले मैले यो महान् उत्सवमा एउटा स्वास्थ्य शिविर आयोजना गर्न सुझाएको थिएँ | विविध प्रतिकूलताको समयमा उक्त कार्यको अभिभारा अन्ततः मैमाथि आइपरेको थियो | खुशीको कुरा डा. हेमराज गैरे र डा. सीपी गैरेको सहृदयी मनले मलाई साथ दिने निर्णय गरेपछि डा. राजीव रिजाल र द्वारिका गणेश पनि हामीसँग गाँसिनुभयो | र, डा. मिङमार शेर्पाको पहलमा डा. यांग्जी शेर्पा पनि मिसिन आउनुभयो | अर्थात् हामी सबैको निस्वार्थ सेवाभावले प्रेरित मन मिल्यो र फागुन ५ र ६ गते सानो भए पनि स्वास्थ्य शिविर संचालन भयो | त्यस कार्यक्रमको दौरान अमूल्य सहयोग गर्ने स्कूलका छात्रछात्रा, शिक्षकशिक्षिका, आयोजक समितिका सदस्यहरू, स्थानीय बासिन्दा र प्रत्यक्ष-परोक्ष रुपमा हित चिताउने सबैप्रति कृतज्ञता प्रकट गर्दै केहि अनुभवहरू बाड्न चाहन्छु |
मेडिकल टोली; डा. राजीव र द्वारिका
डा. यांग्जी शेर्पा दाँत निकाल्ने उपचारमा
शिविरमा हामीले करिब अढाई सय जना विरामी हेरेका थियौं | जसमध्ये २०५ जना मेडिकल समस्याले हामीसामु आएका थिए भने १०२ जनामा डेन्टल समस्या पाइएको थियो | रेडियोलोजिस्ट डा. राजीव रिजालले स्थानान्तरणयोग्य उपकरण लिएर जानु भएको थियो, जसबाट धेरै बिरामीको भिडियो एक्स-रे (युएसजी) गर्न सम्भव भएको थियो | डेन्टलतर्फ तीनजना चिकित्सकहरू (डा. हेमराज, डा. यांग्जी र म)ले करिब ४५ जनाको दाँत निकाल्ने उपचार गरेका थियौं | हामीलाई हरवखत सहयोग गर्नुभएको थियो डेन्टल हाइजिनीस्ट डोमा शेर्पाले |
डा. राजीवले बताउनु भएअनुसार अधिकांस विरामीमा पेटसम्बन्धी समस्या, पिसाब नलीमा हुने संक्रमण, तल्लो पेट दुख्ने समस्या र अत्यधिक रक्सीसेवनपछि हुने कलेजोको समस्यालगायतका रोगहरू भेटिएको थियो | पुरुषको तुलनामा महिलाहरू धेरै आएका थिए |  शिविरमा स्वास्थ्य परिक्षण गर्ने क्रममा उमेर नाघिसकेका महिलाहरूमा डिपोप्रोभेरा प्रयोग भएको स्वास्थ्य लापरवाही पनि भेटिएको थियो | सकारात्मक पक्षका रुपमा अधिकांश गर्भवती महिलाहरूले बच्चा जन्मनुपूर्व अस्पतालमा गएर गर्नुपर्ने स्वास्थ्यपरिक्षण नियमित गरेको पाइएको थियो | उहाँका अनुसार धेरै विरामीमा लुप्त रुपमा गम्भीर रोग र संक्रमणहरू पनि पाइएकोले एकदिने स्वास्थ्यशिविर भन्दा पनि राष्ट्रिय स्तरका ठुला कार्यक्रम लाभदायी हुने देखिएको थियो |
धेरैजसो डेन्टल विरामीहरूले साधारण क्षय(जनबोलीमा ‘किरा लागेको’ भनिने रोग) भएका  दाँत पनि निकाल्न जोडबल गर्ने गरेको पाइयो | यस्तै धेरैले “किरा” नलाग्ने औषधि पाइने अपेक्षाले शिविर आएको बताएका थिए | अनौठा समस्याको रुपमा इनामेल कमजोर हुने वंशाणुगत समस्या, वयस्क भैसक्दा पनि दुधे दाँत र साटिएको दाँत दुवै भएका विरामीहरू पनि भेटिएका थिए | दाँतको स्वास्थ्यको ख्याल राख्ने तरिकाको बारेमा ज्ञानको कमी भएबाट विद्यालय जाने उमेरका विरामीहरूमा समेत जटिल समस्याहरू भेटिएको थियो | झट्ट एक दिन गरिने स्वास्थ्य शिविर भन्दा पनि दाँत माझ्ने शैली, समय र सीपबारे जनचेतनामूलक अन्य कार्यक्रम गरिनु श्रेयस्कर हुने मेरो बुझाइ रह्यो |

नेलेको हाम्रो बसाइ सौहार्द्रपूर्ण बनाउन शारदा कार्की, मुना कार्की, शंकर कार्की, विकास कार्की, रोशन थुलुङलगायतको अहम् भूमिका रहेको थियो |
डा. हेमराज, संस्थापक व्यक्तित्वसँग सम्मान पत्र ग्रहण गर्दै

सम्मानपत्र र मायाको चिनो ग्रहण गर्दै पंक्तिकार
जे होस्, सोलुखुम्बूको भ्रमण यसै पनि रमाइलो त हुँदै हो अझ यस्तो सामाजिक कार्य गर्न पाउनु अहोभाग्य हो हाम्रो | शिविर संचालनमा उत्साही भएर लाग्नुहुने चिकित्सक मित्रहरूको गुण कदापी बिर्सन सक्ने छुइन, अझ यो लामो यात्राको चाँजोपाँजो मिलाउने आदरणीय चितबहादुर ढकालप्रति नतमस्तक छु | हामीलाई शिविरस्थल पुर्याउनुहुने चालक टंकबहादुर भुजेलको मिठासपूर्ण व्यवहार र उदार मनले सबैजना प्रभावित भएका छौं | उहाँलाई मुरीमुरी धन्यवाद | यात्रामा झनै मिठास थप्नुहुने र कार्यक्रममा सघाउ गर्नुहुने शिक्षासेवी नविन लुइंटेलप्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु | टाढा रहेर पनि सेवाभावले ओतप्रोत भएर समग्रमा यो कार्यक्रमको लागि सुझाव दिनुहुने दन्तचिकित्सक अग्रज डा. सिपि गैरेप्रति आभारी छु | 

बिदाईको क्रममा आयोजक (स्कूलका संस्थापकमध्येका एक रमेश थुलुङ बीचमा)
अन्त्यमा, धेरै प्रतिकूलता, अभाव र अप्ठेरापनहरूको कारण यथेष्ट सफलता हासिल गर्न सकिएन होला; सबैको चित्त बुझाउन सकिएन होला; व्यवस्थापन गर्न सकिएन होला; कमीकमजोरी भए होलान् – मनैदेखि क्षमायाचना गर्दछु | धन्यवाद ! 
पृष्ठभूमिमा नेलेबजार र पाहुना टोली

Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

लाङटाङ पदयात्रा र अनुभवहरू