AVERAGE ZINDAGEE



औसत मान्छेहरूझैं औसत साधनहरूको सहायतामा औसत शैलीमा बाँच्नुलाई औसत जिन्दगी भन्न सकिन्छ | औसत स्तरको खानपान, रहनसहन, लवाइखवाइ, हिडडुल र औसत पद्धतिको अनुसरण गरिने यस्तो जिन्दगीको एउटा पात्रको बारेमा आज कुरो गरौँ | औसत अर्थात् ‘एभेरेज’ |
एभेरेज जिन्दगीका लक्ष्यहरू सस्याना हुन्छन्, खुसीका पाटाहरू पनि पातला हुन्छन् | दु:खका श्रोतहरू पनि मसिना हुन्छन् | एभेरेज जिन्दगी साथीको पजेरोमा डाह गर्दैन, नभचुम्बी महलमा आँखा लाउँदैन, ब्रान्डेड जुत्ताको मोल सोध्दैन किनभने एभेरेज जिन्दगीले ती कुराहरू अर्कै जुनीलाई साँचेको हुन्छ |
एभेरेज जिन्दगी कसैको पार्टीमा दुईटा लड्डु पाउँदा फुरुंग हुन्छ, गर्लफ्रेन्डको स्माइलीमा मख्ख पर्छ, साथीको फोन आउँदा बुर्कुसी मार्छ, आमाबाउको हाँसोमा नजानिदो तरिकाले खुसी हुन्छ |
एभेरेज जिन्दगीलाई एउटै समस्या हुन्छ, रोगको | एउटा बलिष्ठ रोग नलागोस् उसको, उसको परिवारको, उसको छोराछोरीको, उसको आमाबाउको शरीरमा | बस्, पुगिहाल्यो |
एभेरेज जिन्दगी काँधमा खर्पन बोकेर सहरमा निस्कन्छ | खर्पनको एकातिर उसको सपनाहरूको खात हुन्छ, जस्तै: साँझको लागि साग किन्ने, भोलिपल्ट विहानको लागि पाउरोटी किन्ने, गर्लफ्रेन्डका लागि चकलेट (होस् पर्दैन आज), साथीलाई भेट्ने (आज नभ्याइन सक्छ, नत्र अर्को शनिवार भेटुँला), अस्ति उधारो किनेको चामलको पैसा तिर्ने आदिआदि |अनि खर्पनको अर्कोतिर कार्यान्वनको फेहरिस्त लिस्ट हुन्छ | अफिस समयमा पुग्नुछ, माइक्रोमा कोचिनु छँदैछ | अनि आज फिल्डमा जानुपर्ने, समयमै स्टाफहरूलाई रेडी गर्नुछ | उठ्न बाँकी रकमको लागि ताकेता गर्नुछ | खाजा खाने बेला एकछिन अफिसको हाकिमसँग अघिल्लो महिनाको बोनस पनि माग्नुछ आदिआदि |
चौबीस घण्टाको चक्रमा बेह्रीएर घुमिरहेको हुन्छ एभेरेज जिन्दगी | घडीका सुइराहरूसँगै प्रभातमा व्युतिएपछि तिनै सुइराजसरी यत्रतत्र चाहर्दै रहन्छ; रात्रिमा विश्राम लिन पुग्दछ एभेरेज जिन्दगी सुइराहरु अर्को घेरो लगाइरहँदा | महिनाको अन्त्यमा बैंकमा यति थुपार्ने भन्ने तोकिएको हुन्न, वर्षको अन्त्यमा यस्तो साधन किन्ने भनेर सोचिएको हुन्न, अनि पाँच वर्षपछि फलानो ठामबाट फलानो ठाम पुग्ने भनेर कल्पिएको पनि हुन्न |
एभेरेज जिन्दगी एउटा सानो खोला हो, जहाँ हतपति वर्षाको पानी मिसिदैन न त खडेरीको प्रकोप नै हुन्छ | सुसाइरहन्छ अनवरत: र बगिरहन्छ दुर समुद्र भेट्न |
यस्ता थुप्रै एभेरेज जिन्दगीहरूको श्रम, पसिना, आँसु, रगत र समयमाथि उपल्ला जिन्दगीहरूको रेखा उकालो लागेको हुन्छ | तर बिर्सनु हुँदैन; एक दिन, एउटा समय एभेरेज जिन्दगी यस्तो स्थानमा पुग्छ न त्यहाँ उकालो लागेको रेखा हुन्छ, न ओरालो झरेको | त्यहाँ समतल मैदान हुन्छ र ‘उपल्ला’ जिन्दगीहरूकै लाइनमा घाटको एउटा कर्नरमा विराजमान हुन्छ एभेरेज जिन्दगी |

Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

लाङटाङ पदयात्रा र अनुभवहरू