निर्देशन

ठूलो हल, अस्पष्ट ध्वनिले गुञ्जायमान छ । सबै आदेशको पर्खाइमा छन् ।
अकस्मात् सन्नाटा छाउँछ ।

निर्देशकले आवाज निकालेको छ । कसैले बुझेनन्, र पनि सबैले बुझे ।
निर्देशित एक पानीमा डुब्न गयो । त्यो पानीमा डुब्नु उसको जिम्मेवारी थियो । तर ऊ अलमलिनका लागि पानीमा मह मिसाइएको थियो । ऊ डुबिरह्यो, र पानीको छालसगै निर्देशित दुई तैरिन थाल्यो ।
निर्देशित दुईको लागि महको स्वाद कुनै मिठो थिएन, बरु पानीमा पर्नुको पीडा उसको रोदनमा व्यक्त थियो ।
निर्देशित तीनलाई असह्य भयो, उसले निर्देशित दुईलाई पानीबाट निकाल्यो र बर्गैचामा राख्यो । बल्ल निर्देशित दुईको मुहारमा कान्ति छाउन थाल्यो ।
निर्देशित चार यो सबै हेरिरहेको थियो । उसले पानीमा भएको मह छान्न जाली लगेर निर्देशित एकलाई दियो, बदलामा केही पायो । निर्देशित दुईका लागि बर्गैचामा आराम गर्ने बिछ्यौना दियो, बदलामा केही पायो । निर्देशित तीनका लागि एउटा डुंगा नै दियो जसबाट फेरि फेरि पानीमा तैरिएको कुनै निर्देशितको उद्धार सहज हुने थियो ।
निर्देशित चारको यस्तो रजाईं निर्देशित पाँचलाई मन परेन, चारलाई अप्ठेरो खडा गर्न ऊ तम्सियो । उसलाई फकाउन आर्जेको केही हिस्सा सुम्पन निर्देशित चार बाध्य भयो ।
निर्देशित पाँचले निर्देशित एक, दुई, तीनलाई हातमा लियो र बेला बेलामा धम्क्याएर निर्देशित चारबाट फाइदा लिन थाल्यो ।

निर्देशक यी सबै हेरिरहेको थियो, हाँस्दै  । किनभने सबै कामहरु उसकै निर्देशनमा भइरहेका थिए ।

Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

लाङटाङ पदयात्रा र अनुभवहरू