लभ इन चन्द्रागिरि (फोटोकथा)
कति दु:ख गरेर उसले समय निकालेको थियो । घाम विहानदेखि नै चर्किएका थिए । बाइकमा तेलको जोहो पनि गरेकै हो । उसले आमासँग अलिकति खर्च पनि मागेकै हो । उता समयमै गर्लफ्रेन्डलाई खबर पनि गरेकै हो । तर फसाद त्यतिबेला परिदियो जब उसको बाइक स्टार्ट नै भएन । लात्ताले रिसाउँदै बजाऱ्यो । तर बाइक मानेन । रिसाउँदै र रन्फनिदै ऊ निस्कियो ।
Old Buspark, Kathmandu in New location |
सहरको व्यस्तताबाट चुस्स टाइम निकालेको थियो । तर भाग्यमा नेगेटिभ लेखिएको थियो सायद । उसकी प्रियसी आत्तिसकेकी थिई । तारन्तार फोन गरी, "ए स्वाँठ
कहाँ छौ हँ ?" रिसाउँदा ऊ यसरी स्वाँठ नै भन्थी । तर चित्त दुखाउन छोडेको थियो उसले, कारण दुइटा थिए - एक त पहिलाकी गर्लफ्रेन्डभन्दा यो विछट्ट राम्री थिई, दोस्रो कुरा उसको काठमान्डौमा घर थियो । न उसका दाजुभाइ थिए, न काकाबडाबा नै । भनौं न, त्यो घरकी एक्ली मालिक्नी उसकी गर्लफ्रेन्ड थिई ।
स्वाँठ, लद्दु, लाटो जे भने पनि ऊ सहन विवश थियो, तर साथीभाइसामु उसले प्रेममा सबै जायज हुन्छ भनेर ध्वास दिने गरेको थियो ।
डेराबाट यत्तिकै निस्कियो ऊ । आमाको गाली सुनेन । उता केटीलाई फकाउने चेष्टा निरर्थक भैसकेका थिए । 'होस् त नि' भनेर ऊ हिड्न थाल्यो । बसपार्क पुगेपछि एउटा गाडीमा चढ्यो । सोधेन, "कता जाँदैछ" भनेर ।
कानमा दुइटा ठेडी कोच्यो । र सुन्न थाल्यो, "तिमीले बाटो फेऱ्यौ अरे $$$$$"
उसको बाटो फेरिदै गयो । गीतहरू चेञ्ज भइरहे । र, "ट्वेन्टी
फर्स्ट सेन्चुरीमा लभमा छैन फिलिङ ........" सम्म पुग्दा ऊ थानकोट पुगेछ ।
"ल चन्द्रागिरी जाने यो बाटो है", खलासी चिच्यायो । ऊ पनि जुरुक्क उठ्यो, भाडा तिरेर निस्कियो । एकजोडी केटाकेटी अँगालिएर उसकै अगि लागेका थिए । मनमा कटक्क गर्लफ्रेण्ड सम्झदै तिनीहरुलाई पछ्यायो । अलि मास्तिर पुगेपछि त हिले बाटो आयो । पानी बगिरहेको । ट्रक कुदेर विरुप बनेको बाटो । छेउ लागेर हिड्न थाल्यो । माटो गिलो रहेछ, ग्वाम्म उसको खुट्टा हिलोमा गाडियो ।
Thankot |
नियतिमाथि एकमुड्की बजाऱ्यो उसले । "हत्तेरी के भाग्य रहेछ आज ?"
Muddy road near station |
उसका अघोषित गाइड बनेका प्रेमजोडीहरु प्रेमालापमा आह्लादित हुदै अगाडि बढिरहेका थिए । मनमा वितृष्णा सँगाल्दै ऊ पछ्याइरहेको थियो । पछ्याउनु उसको स्वनिर्मित विवशता थियो ।
केही मास्तिर राम्रो भवन रहेछ । मान्छेहरु पंक्तिबद्ध भएका । ऊ पनि त्यतै लाग्यो ।
टिकट काट्यो । अनि सामेल भयो यात्रामा । चन्द्रागिरीको डाँडा माथि पुग्ने केवल कार ।
Chandragiri hill |
उसलाई इतिहास पढेको याद आयो ।
scene of town from inside car |
उहिले पृथ्वीनारायणशाहले भनेका थिए रे, "चन्द्रागिरी आइपुग्यापछि सुध्याया, त्यो कान्तिपुर, त्यो ललितपुर, त्यो भक्तपुर । मेरा मनमा इ तिनै राज्यको राजा हुन पाया हुदो हो भन्ने पड्याथ्यो ।" यस्तै केही । रिस, आवेग र वितृष्णामा उसले पृथ्वीकै भनाइ एक्ज्याक्टली सम्झिन चाहेन पनि । उसले धार्मिक कथन पनि सम्झियो , शतीदेवीको शिर पतन भएको ठाउँ रे यो । जब महादेवले उनको मृत शरीर बोकेर धर्ती चहारेका थिए । ऊ पनि मनमा तनाव बोकेर भौतारिएको थियो । उसलाई लाग्यो, सही ठाउँमा आइएछ !
अलि क्षोभ मर्दै गयो केवलकार बाट जंगलको मनोरम दृश्य हेर्न थालेपछि ।
अलि क्षोभ मर्दै गयो केवलकार बाट जंगलको मनोरम दृश्य हेर्न थालेपछि ।
Cable car |
Temple at the top of hill |
ओहो डाँडामा पुग्दा त झन् मजा । मन्दिरमा गयो । "मन्दिर पस्नु अगि त हात धुनुपर्छ क्या बुद्धु ।" यस्तो भनेर उसकी गर्लफ्रेण्ड भूईंकै पानीले भए नि यसो हात चीसो पार्थी । "आँखा चिम्लेर चिताएको कुरा माग्नुपर्छ ।" ऊ खूव सिकाउँथी । यो पल्ट ऊ निर्धक्क हात नधोईकन देवता अगाडि पुग्यो र आखा खोलेरै माग्यो, "त्यो केटी चै मलाई नै चाहिन्छ प्रभू । नत्र मेरो विजोग छ नि । भाडा तिर्दातिर्दै उठीबास लाग्ने बेला भैसक्यो । प्रभू दायाँबायाँ केही नसोची मेरो डिमाण्ड पूरा गर्दिनू ।"
People appeasing their hunger |
अलि परतिर खाने स्टलहरू रहेछन् । उसले पानीपूरी खायो । "यस्तो फोहोर ठाउँको । छि:छि: ।" उसकी प्रियसी यसै भन्थी । तर यो पालि कुनै परवाह थिएन । अमिलो रसिलो पानीपूरी मुखभरि हालेर मजाले स्वाद लियो । यसो टहल्दै वातावरण हेऱ्यो । सबैतिर बाक्लो कुहिरोले खास दृश्य देखिएन ।
तर शीतलता । वाह क्या मीठो चीसो हावा । उसले खाँदीखाँदी फोक्सोभरि लियो त्यो हावा ।
सहरमा कामको तनाव, हाकिमको गाली, गर्लफ्रेण्डका नखरा, साथीभाइको हेपाइ । सबैलाई बिर्साउने त्यो वातावरण थियो ।
Rainfall and umbrellas |
एकैछिनमा उसको मनकै कुरा भैदियो, वर्षा । मजाले भिज्यो ऊ पानीमा । उसको माटोमा गाडिएको खुट्टा पनि पखालियो, मनमा लागेका नराम्रा विचारहरु र विक्षिप्तताहरु पनि बगेर गए भेलमा । ऊ चंगा भयो । मान्छेहरु ओतिन थाले । भर्खर चढेकाहरु वर्षातप्रति रिसाउदै थिए । तर उसलाई कति मीठो, मीठो त्यो वर्षाको आवाज, माटोको गन्ध र भिजेको शरीरको उन्माद ।
The cloud kissing the hill; scene from car |
संयोग पनि कस्तो, फर्कंदा त ऊ एक्लै पऱ्यो केवलकारको एउटा डिब्बामा । उसले बाहिर हेर्यो, कुहिरोले पहाडलाई चुमेको । सोच्यो, उसकी गर्लफ्रेण्ड साथमा भैदिएकी भए त्यहीं चुम्थ्यो होला र भन्थ्यो होला, "वा KKK; किसिङ इन केवल कार !"
"बुद्धु, केवल कारमा 'सी-सी' हुन्छ, 'के-के' होइन ।" उसले गाली नै खाने थियो ।
The trailing car from another car, in the rain |
'तर ठीक छ, ऊ छैन र त मजा छ । नत्र यो त्यो सबै कुरामा उसकै नियन्त्रण हुने थियो । एक्लै हुदा झन् मजा पो हुने रहेछ' । ऊ घरि उठ्यो, बस्यो, सीटमै सुत्यो । अनि गाउन थाल्यो, "तिम्रो पीरलाई पठाइदेऊ मतिर, देऊ छोरी ज्वाईं बन्न मन्जूर, कटर-कटरमा, तिम्रो स्वाउदो ज्वाईं केवुल कारैमा ।" ऊ कम्मर हल्लाएर नाच्यो ।
फर्केपछि उसले मजाले खाजा खायो । वाह दिन मजाले बितेछ । त्यति नै बेला उसको मोवाइलमा घण्टी बज्यो, मेसेज रहेछ उही रिसाउने मायालुको , "ओ बेबी आइ एम सरी" ।
Comments
Post a Comment