जुत्ता र मन्दिर
अक्सर मान्छेहरु भेटीपाती , फूलअक्षता , दानदक्षिणा , हाँसकुखुरा नलिई मन्दिर जाँदैनन् । तर म पुगेको थिएँ - केवल समय लिएर । किनकि मेरो भाकल पनि थियो एकघण्टा मन्दिरमै विताउने । फाट्टफुट्ट हिंडिरहेका मान्छेहरु , तीक्ष्ण लामो ध्वनिमा बजिरहेको घण्ट , पुकारामा लीन अधबैंसे मान्छेहरु , फूलपाती किन्न आग्रह गर्दै गरेका व्यवसायीहरु , " ल नानीबाबूहरु ज्योतिषी हेराउँ" भन्दै कराइरहेका पण्डितबाजे , उड्दै गरेका एक हूल सारौं , सेल्फी लिनको लागि अनेक एंगल मिलाउँदै गरेका एक प्रेमजोडी । हावामा हल्लिरहेका टुप्पोविहीन बाँसहरुजस्तै म पनि एक कुनामा स्थाना रहेर दृश्यहरु नियाल्दै थिएँ । "जुत्ता खोल्नुस् ।" कतैबाट हठात् आवाज आयो । मैले आवाज आएपट्टि हेरें । भरखर दाह्री फुल्न थालेको तिलचामले दाह्री भएको मान्छे मेरो छेवैमा थियो । "हैन, म मन्दिरभित्र पस्ने हैन । यहीं बस्ने त हो ।" मैले स्पष्टीकरण दिएँ । "तर पनि जुत्ता खोल्नुस् । तपाईंकै लागि भन्द...