यात्रा र अनुभुति


कालजयी को नै छ र ? चिरस्थायी को नै छ र ? छोटो नै छ यो यात्रा; अनि यात्रामा सुनै-सुन कहाँ भेटिन्छ त ? सुन्तलै  सुन्तला पनि भेटिने होईन,  अङ्ग्रेजीमा त भनाइ नै छ, जीवनले कागती दिन्छ भने तिनै  रसिला कागतीहरू टिपेर स्वादिलो 'लेमन जुस' बनाउनु रे ! हो नि !!! 
लगभग मेरो यात्रामा पनि कहिले कागती, कहिले सुन्तला, कहिले भोगटे, कहिले जुनार भेटिए । सबै स्वादहरू, यादहरू, उन्मादहरू भेटिएका रहेछन् , सायद सबै ती समयका अंशहरूमा रसिला जुस मात्र बनेनन् होला, कहिले उत्पात गुलिया, कहिले साह्रै टर्रा अनुभुतिहरू पनि सँगालिए होलान् ।
सबै पात्रहरूलाई न्याय गर्न सकिएन होला । तर यो लम्बेतान यात्राको यस घडीमा पनि म स्मरण गरिरहेको छु ती स्वाधीन क्षणहरू,  र तिनका स्नेही साक्षीहरू,  जसले एउटा रङ भरिदिए यो क्यानभासमा ।

प्रयोगवादी हुनु नि कमजोरी हुन्छ कैलेकाहीं । मैले कतिपय समयमा आफ्नै जीवनमाथि प्रयोगहरू गरेको छु । सबै प्रयोग सबै द्रष्टाहरूलाई प्रिय लाग्दैनन् । तर म प्रयोगहरूमै विश्वास गर्छु किनकि बारबार बाँचिन्न । म आफूलाई विशिष्ट जीवन बाँचेको र अरुहरू एभेरेज जीवन बाँचेको मान्दिनँ । बरु म मेरो जिन्दगी नै औसत मान्छु । यो कुरा ब्लगमा लेखेको पनि थिएँ ।
उतारचढावहरूसँग खेलिरहँदा मैले आफ्नै परिभाषाका शिखरहरूसँग दौतरी गाँसेको थिएँ । आफ्नै परिभाषाका गल्छिंडाहरूमा थकाइ मारेको थिएँ । भनौं न आफ्नै स्टाइलको यात्रा तय गरेको थिएँ । ती सबै यात्राहरू अरु मान्छेहरूका यात्रा जस्तै नै हुन्, मेरा यात्रा पृथक र सारगर्भित अनि अरुका क्षुद्र हुँदै होइनन् । किनकि सबैलाई एउटा निश्चित समय दिएको छ प्रकृतिले । कसैले तन्काएर त्यही समयलाई मीठो बनाउँछन् । कसैले नजानेर छोट्याएका हुन्छन् जति बाँचे नि पट्यारलाग्दो ।
समयलाई तन्काउने प्रयासमा मैले खेलका नियमहरू मिचेको हुन सक्छु । रेफ्रीलाई नटरेको हुन सक्छु र कैले आफ्नै पोस्टमा गोल गरेर खुसीको दौड दौडेको पनि हुन सक्छु । तर नियम मिच्नुको पनि नियम हुन्छ, नटेर्नुको नि नियम हुन्छ, सुसाइड गोलको नि नियम हुन्छ । हो, त्यो नियम चैं पालना गरिरहेको हुन्छु म । किनकि त्यही त जीवन बँचाइको नियम हो ।

ऐले आएर मलाई बच्चा छँदा हलो जोतेको घटनाको स्मरण हुन्छ । जब म सानो थिएँ, मलाई बुवाले जोत्न सिकाउने सोच्नुभएछ । गैरीबारी भन्ने चौरमा एकहल नारिएका गोरु जिम्मा लगाएर बुवा कतै जानुभयो । अनौ समातेर मात्रै नजोतिने रहेछ । गोरुलाई नियन्त्रणमा राख्ने कला ममा थिएनछ । मैले हैन कि गोरुले नियन्त्रण गर्न थालेछन्, जताजता दुइ भाइ जान्छन्, त्यतैत्यतै म पछ्याउन थालें । धेरैबेर जोतेपछि बुवा आउनुभयो, मलाई गाली गर्नुभयो । विचरा, चौरभरि धर्सैधर्सा, कहाँ सुरु, कहाँ अन्त्य, कुनै मेलो नभएको । भर्खर कलम समाउन सकेको शिशुले खालि कागजमा जथाभावी कोरेजस्तो । भलै बुवाले त्यसलाई समेट्नुभयो।
यसपछि फेरि एकपल्ट जोतें मैले, त्यो बेला अलि राम्रोसँग तर होरा फर्काउने बेलामा झण्डै गाह्रो भइहाल्ने ।
यसपछि जोत्ने अवसर एकैचोटि धरानमा मिल्यो, जब म स्नातक पढ्न पुगें । यहाँ जोत्नुको मजा बेग्लै । सानो भेला भयो, यसो कुरा निकाल्यो, जोत्न थालिहाल्यो । न अनौ, न जुवा र हलो, न हल्लुड, न जोतारो र फाली । कसरी ?  छक्क पर्नुभयो होला हैन ? किनभने धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गफ हान्नुलाई "जोत्नु" भन्ने गरिन्थ्यो । सायद ऐले पनि यै शव्द प्रचलित होला ।  (जोत्न सीपालुलाई हली भनिन्थ्यो मेरो गाउँतिर)  यहाँ  "जोतु” भन्ने चलन थियो ।
जे होस् धरानमा पनि मैले धेरै जोतिनँ, जोत्न जानिनँ । 

दुनियाले सफल देखेका मेरा जीवनका पाटाहरू एभेरेज कुरा हुन सक्छन् र दुनियाले देख्दै नदेखेका कुराहरूमा म रमेको हुन सक्छु । यै त मजा छ बाँच्नुको !

 । उछालिएका केही तरङ्गहरूसँग तैरिदै रहें । म तरल तरल हुँदा परिस्थिति कठोर र ठोस भयो । म जम्दै साह्रो बन्दा समय पग्लेर झोल बन्यो । तर यो नै अनौठो नियम रहेछ प्रकृतिको । ठोस र तरलबीचमै त समीकरण बन्दोरहेछ । पानीमा चिनी घुलेझैं । तेलमा सेल बनेझैं । सागरमा जहाज डुलेझैं । 


अनि मलाई एसएलसी जाँच सकेर काठमान्डू पदार्पण गरेको पनि स्मृति हुन्छ ।
 कालिका प्राथमिक विद्यालय, जुबू, सोलुखुम्बूबाट प्रारम्भिक शिक्षा सुरु गरेको थिएँ मैले । वनमारा र माटो-ढुंगासँग खेल्दै, हरेक दिन एक घण्टाको बाटो पैदल हिंडेर स्कुल पुगिन्थ्यो । 
यसपछि जीवनज्योति विद्यालय, नेले, सोलुखुम्बूमा सरेर मैले कक्षा ५ देखि १० सम्म पढेर राजधानी छिरेको थिएँ।
एसएलसीपछि त्रिभुवन विमानस्थलमा उत्रिदा  एउटा छिर्के सर्ट, सादा पाइन्ट, गोल्डस्टार जुत्ता लगाएर छिरेको थिएँ;  अझ टाउकोमा टोपी पनि, ढाकाको । दिनभरि यै पहिरनमा सहर घुमियो । साँझ मात्र थाहा भयो, यो त 'टिपीकल' पाखे पहिरन पो भएछ । 
स्थिरताको अपवाद हो जीवन । कैले भर हुन्न सुरुवातको र अन्त्यको । एउटा रेखाजसरी रचित हुन्छ जीवन । रेखाका दुई विन्दुहरू हुन्छन् । पहिलो हामीले देखिसकेको विन्दु हो । दोस्रो विन्दु अनन्त कतै छ । नजिक या टाढा । र, रेखा वक्र छ सरल होइन । यहाँ उन्नति र अवनति छन् रेखाको झुकावमा । तर रेखा आखिर विन्दुमै टुङ्गिन्छ जसरी सुरु भएको थियो । फगत यहि बुझाइ छ मेरो जिन्दगीको बारेमा ।

सुख तेसैले मात्र महसुस गर्न सक्छ, जसले दु:खलाई निरन्तर देखेको हुन्छ । चौतारोमा दिनभरि सुतेको मान्छेलाई पट्याइ लाग्छ, न हावा शीतल लाग्छ न वातावरण मनोहर लाग्छ तर तल बेंसीबाट उक्लिएर आएको भरियालाई त्यो चौतारो स्वर्ग लाग्छ । एकैछिनको बिसाइमा उसले आनन्दको उच्छ्वास छोड्छ । सँधै हाँस्नेहरूलाई जीवनको अनुभुति एक सर्को हाँसो भन्दा पर केही नलाग्न सक्छ । तर जीवनको एकोहोरो यात्रामा कहिले हाँसो त कहिले रोदन भोग्नेहरूलाई  यसको मिठास पृथक हुन्छ । मलाई यस्तो अनुभुति भैरहन्छ कसैको जीवन सफल बाँचेको भाग हेरेर होइन ऊ मर्दा कस्तो मृत्यु मर्न पायो त्यसको आधारमा मात्र हुन सक्छ ।

लेखिनेछ्न् अरु अनुभुतिहरू अन्य अङ्कमा ............





Comments

Popular posts from this blog

February 14

Namaste Jharna: A short and sweet destination

पात्रको खोजीमा