जुत्ता र मन्दिर


अक्सर मान्छेहरु भेटीपाती, फूलअक्षता, दानदक्षिणा, हाँसकुखुरा नलिई मन्दिर जाँदैनन् तर पुगेको थिएँ -  केवल समय लिएर किनकि मेरो भाकल पनि थियो एकघण्टा मन्दिरमै विताउने

फाट्टफुट्ट हिंडिरहेका मान्छेहरु, तीक्ष्ण लामो ध्वनिमा बजिरहेको घण्ट, पुकारामा लीन अधबैंसे मान्छेहरु, फूलपाती किन्न आग्रह गर्दै गरेका व्यवसायीहरु, " नानीबाबूहरु ज्योतिषी हेराउँ" भन्दै कराइरहेका पण्डितबाजे, उड्दै गरेका एक हूल सारौं, सेल्फी लिनको लागि अनेक एंगल मिलाउँदै गरेका एक प्रेमजोडी  
हावामा हल्लिरहेका टुप्पोविहीन बाँसहरुजस्तै पनि एक कुनामा स्थाना रहेर दृश्यहरु नियाल्दै थिएँ

"जुत्ता खोल्नुस् ।" कतैबाट हठात् आवाज आयो  
मैले आवाज आएपट्टि हेरें भरखर दाह्री फुल्न थालेको तिलचामले दाह्री भएको मान्छे मेरो छेवैमा थियो
"हैन, मन्दिरभित्र पस्ने हैन यहीं बस्ने हो ।" मैले स्पष्टीकरण दिएँ
"तर पनि जुत्ता खोल्नुस् तपाईंकै लागि भन्दैछु  ।" उसले जिद्धी गर्‍यो  
संकोच मान्दै मैले जुत्ता खोलें केहीबेर वातावरणलाई हेरें  

एउटा मान्छे सायद भरखर किनेको होला सायद, स्पोर्ट्स् जुत्ता लगाएर मन्दिरको ढोकामै पुग्यो जुत्ता खोल्नलाई निहुरियो मलाई त्यस्तै जुत्ता चाहिएको थियो विहान विहान जगिङ गर्न

"तपाईंलाई भन्दैछु , जुत्ता  खोलेर बस्नुस् ।" अघिको मान्छे फेरि बोल्यो मलाई उसको दिमागमै समस्या भन्ने लाग्यो उसकै अगाडि मैले मूल मन्दिरभन्दा १० मिटर पर भए तापनि जुत्ता खोलेर विवाद नगर्न चाहेको थिएँ तर फेरि जुत्ता जुत्ता भन्दै थियो

मैले भूईंमा राखिएका जुत्तालाई ओठले देखाउदै भनें, "देख्नुभएन ?"
"हैन, आवेशमा नआउनुस् तपाईंको दिमागभित्र नाचिरहेको जुत्ताको कुरा गर्दैछु ।" उसले हाँस्तै भन्यो
"कसरी थाहा पाउनुभयो ?" सशङ्कित हुँदै मैले सोधें
"थाहा भइहाल्छ नि सर मन्दिरमा जुत्ता वर्जित भए पनि सबै मान्छेहरु एकभारी जुत्ता बोकेर मन्दिर आउँछन् खुट्टामा लगाएका जुत्ता खोले पनि दिमागमा रहेका जुत्ता बोकेरै मन्दिर पस्छन् लोभका जुत्ता, व्यभिचारका जुत्ता, हिंसाका जुत्ता, निर्दयताका जुत्ता, कुविचारका जुत्ता, घमण्डका जुत्ता, स्वार्थका जुत्ता जुत्तैजुत्ता ।"
***

हो है मैले दिमागको जुत्ता बिसाउन नपाई त्यो मान्छे अलप भइसकेको थियो

Comments

Popular posts from this blog

February 14

Namaste Jharna: A short and sweet destination

यादहरुको कुरा