MOUNTAIN FLIGHT unplanned

1
एउटा संयोग नै मान्नुपर्छ, मौसम खुल्नु, उडान सदाजस्तो ढिलो नभएर समयमा नै हुनु र म बसेको कुर्सी उत्तरतिर नै पर्नु । अर्को कुरा सायद नहुन पनि सक्छ तर मलाई लागेको चालकले त्यतैतिर उडाउनु ।

जे होस् सबै कुरा मिलेझैं भएको थियो र केही दिन अघि मात्र भारतका राष्ट्रपतिले बुद्ध एयरको विमानबाट नजर लगाएकै हिमश्रृंखलाहरुमध्येकै सेताम्मे हिमालका पंक्ति हेर्दै थिएँ म पुलकित हुँदै ।

ओहो चित्रकारले क्यानभासमा उतारेसरी ती दृश्यहरु  ज्यादै मनमोहक थिए । लहरै उभिएका विभिन्न आकारका हिमालहरुलाई म हतार हतार मेरो सानो हातेफोनको स्किृनमा कैद गर्न थालें । तस्वीरहरु उतिसारो स्पष्ट नहुन सक्छन् तथापि यो अंकमा तिनीहरुलाई स्थान दिनैपर्छ मैले ।

विमानस्थलबाटै देखिएको हिमाल (१)ले मलाई लोभ्याइसकेको थियो । जब उडान सुरु भएर जहाज आकासिन थाल्यो मेरो हर्षको सीमा रहेन । छेउको मान्छेको हातमा मजाकै आकारको स्मार्टफोन भए पनि मैले नलजाई हत्केलामै अट्ने फोन निकालेर क्लिक क्लिक पार्न थालिहालें हिमालका सुन्दर तस्वीरहरु (२,३,४) ।
2
3
4

6

पहाड विकट छ, समस्याग्रस्त छ तर माथिबाट त सुन्दर पनि त रहेछ (५)। यसो हेरें र सोचें यी पहाडलाई दुलो बनाउदै सडक बनाउने हो भने त न त दूरी टाढा पथ्र्यो न त लामो दूरीलाई लाग्ने इन्धनको खर्च बढ्थ्यो । हिमालको छेवैछेउ गाडीमा सरर कुद्दै प्राकृतिक छटाको रसस्वादन गर्न कति पर्यटक ओइरिएलान्  ? पहाडलाई खोस्रने र जंगललाई नास्ने नगरेपछि त प्राकृतिक विपत्ति बाढीपैह्रो चल्दैनथ्यो होला । तर गर्ने कहिले र कसले ? प्रश्नलाई थाती राख्दै म दृश्यावलोकनमा केन्द्रित भएँ ।
5
नागबेली परेर पहाडलाई घेर्दै बगेको नदी  पऱ्यो नजरमा (६), झनै सुन्दर र आकर्षक । जहाजको पंखालाई भने मेरो फोटोदानीले सुस्त गतिमा समात्यो (७), अलि अनौठो भो त्यसको तस्वीर । ५०० किमी प्रतिघण्टाभन्दा ज्यादा गतिमा उडिरहेको त्यस विमानले केही बेरमै उचाइ न्यून गरेपछि सप्तकोसी नदी (८) देखियो । नदीबाट निस्केको जलवाष्पले गर्दा अलि धमिलो हुन गयो दृश्य ।

काठमान्डौबाट करिब ४५ मिनेटमा त नेपालको अन्न भण्डार तराई क्षेत्रलाई देखिन थालिसकेको थियो (९) । धान पाकेको दृश्य मनोरम थियो र आशादायी पनि किनभने अझै पनि मानिसहरुले कृषिलाई जारी राखेका छन्, जुन बाच्नको लागि सर्वथा आवश्यक पेशा वा कार्य हो ।

विगतमा ९ चोटि र यो एक महिनामै ६ चोटि ओहोरदोहोर गरिसकेको हवाइ बाटो भए पनि यो पालिको उडान पहिलोपल्ट गरेझैं विशेष आनन्ददायक रह्यो ।








7


8

9

Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

लाङटाङ पदयात्रा र अनुभवहरू