के नेपाल ठूलो छ? - युग पाठक

पुस १८, २०७१-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जब नेपालको संसद्मा बुद्ध नेपालमा जन्मिएको उल्लेख गरे, तालीको गडगडाहट गुन्जियो। मानौं यही महान् वाणी सुन्न सबै आतुर थिए। त्यो तालीको गडगडाहट संसद्भवनका भित्तामा मात्र होइन, फेसबुक र ट्विटर अनि चियागफका सिलसिलामा पनि प्रतिध्वनित भइरह्यो। मोदीलाई थाहा थियो यसो भनिदिँदा यहाँ वाहवाही मिल्नेछ। उनले भन्दिए। हामी पनि मख्ख पर्यौं। बुद्ध नेपालमा जन्मिएका हुन् यस्तो लाग्छ यो एक उद्गार यस्तो मन्त्र हो, जसले हाम्रा सारा दुःखहरू हरण गरिदिनेछ। बुद्ध २५ सय वर्षअघि जन्मिएको विश्वास गरिन्छ, त्यसबखत नेपाल भन्ने देशको अस्तित्व कस्तो थियो भन्नेसम्म पत्तो छैन। तैपनि बुद्ध नेपालमै जन्मिएका थिए भन्ने कुरासँग हाम्रो यत्रो अपहत्ते किन? दार्शनिक-वैज्ञानिकहरू भन्छन्, प्रश्न नगरी प्रगति हासिल हुँदैन। वास्तवमा अन्धविश्वास र भ्रममा बाँच्न बडो सजिलो छ। प्रश्नले जवाफ खोज्छ र जवाफको खोजी कठिन हुन्छ। मान्छे प्रश्नहरूकै उत्पादन हो र प्रश्नकै कठिन बाटो हिँडेर उसले सभ्यता बनायो। तथापि सामान्यतया मान्छे सजिलो जीवन खोज्छ। जिन्दगीका जटिल प्रश्नतिर लाग्नुभन्दा भ्रम र अन्धविश्वासको सहज वृत्ति रोज्छ। तर प्रश्न न त मर्छ, न जिन्दगीबाट खारेज नै हुन्छ। बुद्धको कुरा गरिरहँदा यहाँ पनि प्रश्न उठ्छ- बुद्ध, सगरमाथा, विशाल नेपालजस्ता विषयसँग हाम्रो हुरुक्क हुन्जेलको आशक्ति किन? यो सफेद देशप्रेम हो कि अरू केही? संसारसँग संवाद गर्ने अरू कुनै विषय छ हामीसँग? आउनुस्, केहीबेर यिनै प्रश्नहरूसँग पौंठेजोरी खेलौं। स्वाभिमानमा खप्टिएको हीनताबोध नेपालको स्वाभिमान कहाँ छ? यथार्थमा कि मिथकमा? दौरा-सुरुवालमा कि वीरताको कथामा? अरबको गर्मीमा ज्यान गुमाएको मजदुरमा कि बलभद्र र अमरसिंहमा? शरणार्थी बनेर युरोपमा लड्खडाइरहेको युवामा कि बुद्धमा? इराकको वार जोन मा पुगेको गोर्खाली मा कि सगरमाथामा? दिनहुँ पराजित महसुस गर्ने बेरोजगार तन्नेरी पुस्तामा कि पृथ्वीनारायण शाहमा? एसएलसी पास गर्न नसकेर आत्महत्या गर्ने युवतीको निराशामा कि भृकुटीको कहानीमा? नेपालको राष्ट्रिय परिकल्पनामा यथार्थ हीनताबोधले ग्रस्त छ, तर मिथकहरू बलवान छन्। बुद्ध वाज बर्न इन नेपाल -बुद्ध नेपालमा जन्मिएका हुन्) लेखिएको टिसर्ट लगाएर सगर्व सडकमा निस्किएको कुनै पनि युवा -युवक/युवती) एउटा भावुक कल्पनामा हिँडिरहेको हुन्छ। सगरमाथाको देश नेपाल भनेर गीत गाउने गायकको उन्माद स्टेजमा छचल्किन्छ। लालीगुराँस र डाँफेको रङ छम्केर कविता लेख्ने कवि देशप्रेममा भावुक बन्छ। बलभद्र र अमरसिंहको वीरताको गाथा लेख्दालेख्दै नाटककार बूढो हुन्छ। भृकुटीको कथा पढेर एउटा सिंगै पुस्ता हुर्किन्छ। पृथ्वीनारायण शाहले देश एकीकरण गरिदिएको इतिहास कथेर इतिहासकार अमर हुन चाहन्छ। अनि यिनै मिथकहरू मन र मगजभरि भरेर जिन्दगी जिउन समाजमा उत्रिएको नेपालको एउटा औसत सन्तानचाहिँ निराश, पराजित र आहत हुन्छ। यो विडम्बनाको रचनाकार को हो? भर्खर फेसबुकमा बुद्ध र सगरमाथा आफ्नो हुनुको अभिमान पोस्ट गरेर काममा पुगेको मान्छे मालिकको अगाडि निहुरिन बाध्य हुन्छ। भर्खरै ट्विटरमा बलभद्र र अमरसिंहको स्वाभिमान टाँसेर अफिस पुगेको कर्मचारी हाकिमलाई धनुष्टंकार मुद्रामा जदौ नगरी सुरक्षित महसुस गर्दैन। भर्खरै बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने नारा भएको सिनेमा हेरेर बाहिर निस्किएको युवा दायाँबायाँ नहेरी हतारहतार डीभी भर्न जान्छ। ऋतिक रोशनको एउटा सिल्ली टिप्पणीको बदलामा एउटा जल्दोबल्दो युवाको ज्यान बलिबेदीमा चढ्छ। भृकुटीको आदिम कथा पढेर घर पुगेकी युवती परिवारभित्रै सधैं पराई हुन्छे। रेडियो, टेलिभिजन, पत्रपत्रिका सबैतिर राष्ट्रिय स्वाभिमानको बबन्डर चल्छ, तर सरदर जनता जीवनमा हीनताबोधले ग्रस्त रहन्छ। स्वाभिमानको कल्पना र यथार्थको बिडम्बनाका बीच कतै तालमेल हुँदैन। स्वाभिमानको कथामा जनता हुँदैनन्, कथित् वीरहरू मात्र हुन्छन्। जनता त विडम्बनामा हुन्छन्, हीनताबोधमा हुन्छन् र अन्यायमा हुन्छन्। बुद्धिजीवी, शिक्षक, प्राध्यापक कवि, लेखक, चित्रकार, पत्रकार सबै भन्छन्- वीरहरूको नाममा गर्व गर, सगरमाथाको नाममा स्वाभिमानको टोपी लगाऊ, लालीगुराँस र डाँफेको देशमा दुःख कहाँ छ? यथार्थ भने बिल्कुल भिन्न हुन्छ। प्रेमीप्रेमिकाले प्रेम गर्दागर्दै जात बीचमा आउँछ। तिमी जैसी कि उपाध्याय? तिमी बाहुन कि क्षत्री? दलित कि मतवाली? मधेसी कि पहाडी? तिम्रो पैत्रिक हैसियत के? प्रेम जवानीको सबैभन्दा सशक्त ऊर्जा हो। प्रेमको अनुभूति र अभिव्यक्ति भावुक अवश्य हुन्छ तर प्रेमले मान्छेलाई सिर्जनशील पनि बनाउँछ। युवक र युवतीका फरकफरक शक्तिलाई प्रेमले जोड्छ। यो सम्बन्ध स्वस्थ ढंगले विकास भयो भने युवक र युवती दुवैले चामत्कारिक कामहरू गर्न सक्छन्। तर प्रेममा हाम्रा जोडी रचनात्मक हुनै सक्दैनन्। यहाँ त एकअर्कालाई साथ दिएर नयाँ आविष्कार गर्ने होइन, बिहे गर्नासाथ पुरुषले नारीमाथि शासन गर्ने हो। बिहे गर्नासाथ प्रेमीप्रेमिका लोग्नेस्वास्नीमा रूपान्तरण हुन्छन्। हाम्रा परिवारको राजनीति यतिमै सीमित छ आजसम्म। कहाँ स्वाभिमानका कथा, कहाँ जीवनका कठोर व्यथा ! फ्याक्ट र फिक्सन -यथार्थ र कल्पना) को घमासान द्वन्द्वमा एउटा औसत व्यक्ति पराजित हुन्छ यो देशमा। सगरमाथा नेपालको राजनीतिक क्षेत्रफलभित्र पर्नु एउटा यथार्थ हो, तर सगरमाथालाई आफ्नो व्यक्तित्वको हिस्सा ठान्नुचाहिँ फगत कल्पना। तर सगरमाथाको प्राकृतिक उचाइमा गौरव गर्दागर्दै लाग्छ- म पनि सगरमाथाजस्तै अग्लो छु। अनि प्रत्येक म एक भव्य र गौरवपूर्ण व्यक्ति भइसक्यो। बस्, यथार्थ मा जीवन कस्तो छ भन्ने प्रश्न छुट्छ र मस्तिष्क प्रवेश गर्छ फिक्सन अर्थात् मिथकमा। न सगरमाथालाई अग्लो बनाउनमा हाम्रो कुनै योगदान छ, न त बुद्धलाई बुद्ध बनाउनमा। यता सगरमाथा र बुद्धलाई आफ्नो व्यक्तित्वसँग जोडेर म भने मखलेल हुन्छ। विडम्बना, यथार्थमा टेक्नासाथ प्रत्येक म तुरुन्तै धराशयी हुन्छ। मस्तिष्कमा जिराफ आखिर राष्ट्रिय स्वाभिमानको मिथक राष्ट्रिय जीवनभन्दा यति बलवान कसरी भयो त? भनिन्छ, इतिहास जित्नेहरूको घोडा हो। प्रसिद्ध इतिहासकार ई.एच. कारले भनेका छन्- इतिहासको मुटुमा विरोधाभाषी तथ्यहरूको व्याख्या हुन्छ। व्याख्या अर्थात् इन्टरपि्रटेसन। अब कुरा आउँछ, व्याख्या कसको दृष्टिबाट? नेपालमा इतिहास लेख्ने चलन धेरै ढिलो सुरु भयो। जब सुरु भयो र जतिबेला धेरै इतिहास लेखिए, त्यसबेला राजतन्त्र शासनमा थियो। यहाँ इतिहासको कुरा किन गर्नुपर्यो भने राष्ट्रिय स्वाभिमानका निम्ति तयार गरिएका जति पनि वीरगाथा र प्रतीक चिन्हहरू छन्, ती सबै इतिहासकै नाममा प्रचार गरिएका छन्। अनि राष्ट्रिय स्वाभिमानको जुन मिथकले आज सामान्य मानिसको दिमागमा राज गरेको छ, ती मिथकहरू जम्मै खास उद्देश्यले रचिएका छन्। धेरै लामो इतिहासको कुरा गर्नुपर्दैन, किनभने पृथ्वीनारायण शाहले सैनिक बलले ठूलो राज्य बनाइसकेपछि लामो समयसम्म समाजलाई बन्दीगृहजस्तो बनाइयो। न शिक्षा, न बन्दव्यापार, न ज्ञानविज्ञान, न साहित्य, न संगीत र कला, न पूर्वाधार, कुनै पनि हिसाबले जनताको मानसिक, भौतिक प्रगति हुन दिइएन। राणाशासनको अन्तिमतिर भारतका बनारस, दार्जिलिङ, कलकत्ता, देहरादूनजस्ता ठाउँमा नेपालबाट गएका बौद्धिक जमातको गतिविधि बढ्यो। पत्रिकाहरू प्रकाशन भए, साहित्य लेखिए, राजनीतिक पार्टी जन्मिए र राणाशासनको विरुद्ध आन्दोलन संगठित गरिए। तिनै ठाउँमा नेपालका वीरगाथा पनि रचना गरिए। तिनीहरूमध्ये दार्जिलिङ सबैभन्दा सशक्त सावित भयो। दार्जिलिङमै पहिलोपटक सूर्यविक्रम ज्ञवालीले द्रव्य शाह, राम शाह, पृथ्वीनारायण शाह, बलभद्र कुँवर र अमरसिंह थापाको जीवनी -वीरगाथा) लेखे। पृथ्वीनारायणलाई नेपाल एकीकरण का वीरपुरुष उनैले भने। बलभद्र र अमरसिंहलाई नेपाल-अंग्रेज युद्धका वीर योद्धाका रूपमा उनैले चिनाए। शाहवंश र शाहवंशीय इतिहासको वीरताको गीत गाउने चलन ज्ञवालीले नै चलाएका थिए। यिनै ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान -संक्षेपमा सुधपा) को समूहले दार्जिलिङमा स्थापित गरेको नेपाली साहित्य सम्मेलन नामक संस्थाले भानुभक्तलाई पहिलोपटक नेपालका जातीय एकीकरणकर्ता र वीरपुरुष भनेको थियो। सुधपाले दार्जिलिङबाट सुरु गरेको यही बौद्धिक अभियानलाई सात सालपछि शाहवंशीय शासनले सर्लक्क अपनायो। ज्ञवाली, बाबुराम आचार्य, जगदीशचन्द्र रेग्मी, संशोधन-मण्डल लगायत पञ्चायतकालका चल्तीका इतिहासकारले इतिहासको भण्डार वीरगाथाले भरिदिए। इतिहास बन्यो शाहवंशको घोडा र कक्षाकोठाहरूमा त्यही घोडा हिन्हिनाउन थाल्यो। सात सालपछि व्यापक रूपमा खुलेका धेरैजसो स्कुल-कलेजको नाम राजाहरूकै नाममा राखियो। पञ्चायतले स्कुल, सरकारी कार्यालय, क्याम्पस, प्रज्ञाप्रतिष्ठान सबैतिर राजाका तस्बिर टाँग्न लगायो। जताततै राजाका सालिक ठड्याइए। राजाका जन्मोत्सवमा भव्य कार्यक्रम गरिए। डाँफे, लालीगुराँस, सगरमाथा, बुद्ध, वीरपुरुषहरूका नाममा खेलकुद, वादविवाद, कविता, निबन्ध प्रतियोगिता आयोजना गरिए। हिमाल, नदी, लतालहराका महिमा गान गरेर राष्ट्रगीत बनाइए। दौरा-सुरुवाल र ढाकाटोपीलाई राष्ट्रियताको चिन्ह बनाइयो। अर्थात् समग्रमा रचियो राष्ट्रवादको भव्य र अमूर्त चित्र। यो अमूर्त चित्रमा शाहवंशको महिमा थियो, वीरपुरुषको गाथा थियो, हिमाल र दौरासुरुवालको महानता थियो, तर जनजीवन थिएन। पाठ्युपुस्तक मार्फत राष्ट्रवादको यही चित्र बालबच्चाको मस्तिष्कमा हालियो र रेडियो, पत्रपत्रिका, राजारानीका जन्मोत्सव इत्यादि मार्फत सामान्य जनताको मनमा खोपियो। तर यो यस्तो राष्ट्रवाद थियो जहाँ जनता थिएन, केवल राजा थियो। राजतन्त्रका लागि राजतन्त्रद्वारा निर्मित राजतन्त्रको राष्ट्रवाद यस्तो भीमकाय जिराफजस्तो थियो, जसलाई जनताले चिनेका थिएनन् तर अपनाउन बाध्य थिए। सैनिक परेड र मनोवैज्ञानिक कवाजद्वारा देशभक्तिको यही मापदण्ड मानिसहरूको मस्तिष्कमा घुसाइयो। किनभने त्यो समयमा पूजा गर्न छुट थियो, प्रश्न गर्न होइन। त्यसैले इतिहासकारले राणाशासनलाई जहानियाँ भन्ने संज्ञा दिए तर शाहवंशीय शासनलाई जहानियाँ भनेनन्। राजतन्त्रचाहिँ जहानियाँ थिएन र? थियो, तर इतिहासकारदेखि लेखकसम्म, कविदेखि कलाकारसम्म, प्राध्यापकदेखि गीतकारसम्म, उपन्यासकारदेखि संगीतकारसम्म, कोही पनि प्रश्न गर्न तत्पर थिएनन्। राजतन्त्रको राष्ट्रवाद स्वीकार नगरी कसैको प्रगति नहुने निश्चित थियो। राष्ट्रनिर्माता पनि राजा, राष्ट्रपिता पनि राजा, राष्ट्रनायक पनि राजा। राजतन्त्रशासित समाजमा पूजा हुन्छ, प्रश्न हुँदैन। त्यसकारण बनाइन्छ राजवंशका वीरताका कहानी। ती कहानीभित्र इतिहासका यथार्थ छोपिन्छन्। त्यसैले पृथ्वीनारायणको एकीकरण एपिसोडमा महानता मात्रै लेखियो, ज्यादतीका कथा लेखिएन। भक्ति थापाको वीरताको बयानमा कुमाउँ-गढवालका जनतामाथि गरिएको अत्याचारको सुइँकोसम्म दिइएन। बलभद्र नालापानीको लडाइँपछि पन्जाबको फौजमा जागिर खान किन गए, त्यो लुकाइयो। सुगौली सन्धिपछि अमरसिंह किन र कता गायब भए त्यसको लेखाजोखा गर्न आवश्यक ठानिएन। इतिहासका पुस्तकबाट जनता हराए, राजा र राजभक्त वीर मात्र खडा भए। त्यसैले पाठ्यपुस्तकबाट यथार्थ हरायो, काल्पनिक महानता मात्र कलिला मस्तिष्कमा खचाखच थोपरियो। अंग्रेजको उपनिवेशमा कहिल्यै बस्नु नपरेको कथा सुनाइयो, तर नेपालले इतिहासभरि अंग्रेजको अप्रत्यक्ष उपनिवेश बेहोर्नुपरेको तथ्य लुकाइयो। लाहुरे निर्यात गर्ने देश त्यसै बनेको थिएन नेपाल। पहिलो र दोस्रो विश्वयुद्धमा अंग्रेजका लागि लडेर हजारौं गोर्खा जवानले ज्यान गुमाए। जंगबहादुरले अंग्रेजको दलाली गर्न लखनउ लुट त्यसै मच्चाएका थिएनन्। यी र यस्ता सबै यथार्थलाई वीरताको फुलबुट्टे गलैंचाले छोप्न कवि, लेखक, गीतकार, संगीतकार, इतिहासकार सब लागे पञ्चायतकालमा। कलिला मस्तिष्कलाई भ्रमको पाठ पढाइयो र प्रश्नै नभएको नागरिक उत्पादन गरियो। प्रश्न नगर्ने, पूजा मात्र गर्ने नागरिक उत्पादन गर्नु नै स्कुल-क्याम्पसको उद्देश्य थियो। राजाको देशमा जनताको मूल्य हुँदैन। त्यसैले सगरमाथाको गीत गाऊ, बलभद्रको वीरतामा गर्व गर, लालीगुराँसको कविता लेख, बुद्ध जन्मिएको देशमा शान्तिको संगीत बनाऊ, राजाहरूको पूजा गर्न राष्ट्रगान रच, सबैथोक छुट छ, तर प्रश्न गर्न छुट छैन। यसरी तीन पुस्ताको मस्तिष्कमा अपरिचित जिराफ खडा भयो। त्यो जिराफले नबुझिने राष्ट्रवादी महानताको कथा त हरपल भनिरह्यो, तर समाजको जटिल यथार्थ कहिल्यै बुझाएन। अनि नेपालमा हुर्किएको हरेक व्यक्ति त्यही जिराफको मुखबाट बोल्न थाल्यो, तर समाजको जटिल यथार्थ बुझ्न र सामना गर्न नसक्ने भयो। सुन्दर, शान्त र विशाल लक्ष्मीप्रसाद देवकोटाको एउटा निबन्धको शीर्षक हो- के नेपाल सानो छ? देवकोटाको मनमा एउटा भावना आउँछ ः नेपाल ! सुन्दर, शान्त, विशाल ! २००२ सालमा देवकोटा कल्पनाको उडानमा थिए। उनले हिमालयबाट बगेर आइरहेको विशालको भावना सुने, वीरताको कहानी पनि सुने, हेलेन र पदमिनीका पदचाप पनि सुने, पहाडी जीवनको सुस्केरा पनि सुने। तर देवकोटाले सुन्दर, शान्त र विशाल देखेको नेपालमा कस्तो सुन्दर, शान्त र विशाल थियो त? जनताको अलिखित इतिहासले भिन्नै तथ्य देखाउँछ। मुखिया र जिम्वालले घरबास उठाइदिएका हजारौं गरिबका लागि नेपाल कति सुन्दर थियो? डिट्ठा विचारीहरूले जात काढेर, चारपाटा मुडेर धपाएका प्रेमीहरूको मन कति शान्त थियो? बिर्तावाल र जिम्दारहरूको जालझेल र शासनमा परेर जमिन लुटिएका मधेसका मानिसहरूको मनमा नेपाल कति विशाल थियो? अछूत तुल्याइएका दलितको मनमा देशको कस्तो चित्र थियो? रगतपसिना पोखेर जमिनबाट जीवन उब्जाउने किसानलाई सैनिक बुटले कुल्चिँदाको ताजा अनुभव कति सुन्दर थियो? आज पनि धनगढीमा उभिएर भीमदत्त पन्तको सालिकले सोधिरहेछ- साँच्चै नेपाल कसका लागि सुन्दर, शान्त र विशाल थियो? इतिहास मौन रह्यो। देवकोटाको कलम पनि मौन रह्यो। किनभने यथार्थका प्रश्नहरूसँग आँखा जुधाउनुभन्दा विशालको भावनामा भिन्न मनोरञ्जन थियो। यही मनोरञ्जनमा कैयौं मिथकहरू थपिए, कल्पनाका उडानहरू भरिए र बनाइए थुप्रै ग्रन्थहरू। शाहवंशको गुणगान, वीर गोर्खालीको मिथक, हिमालको महिमामण्डन र जर्नेलहरूका कहानी खुब सुन्दर थिए। दरबारको न्यानोमा सबै चीज सुन्दर थिए, फगत जनताको घरदैलोमा पुगेको थिएन त्यो सुन्दरता। दरबारका निम्ति नेपाल विशाल थियो तर आमजनताका निम्ति जेलको छिँडीजस्तो साँघुरो। देवकोटाले भनेझैं यो देशमा वाग्नर कोदाली नै खनिरह्यो, शेक्सपियर हलो जोत्ताजोत्तै मर्यो, टर्नर भेडा चराउन छाडेर अरब गयो, कालिदास आईएनजीओको प्रतिवेदन लेखिरहेछ, सोक्रेटिज गुफाबाट निस्किएर युरोप-अमेरिका पुग्यो र यहाँका हेलेन केलरहरू गीत गाउन छाडेर इजरायलतिर श्रम बेच्न गए। चहकिलो मस्तिष्कमा नक्कली स्वाभिमान भरेर इतिहासकारहरू महान् भएको देश हो यो। आदिकवि, महाकवि, कविशिरोमणि, कविकेशरी, राष्ट्रकवि आदि पगरी भिरेका कविहरूले फगत मिथकको चहकमा फुक्र्याएको देश हो यो। सायद यी पगरीहरू प्रश्नहरूको दमन गर्नका लागि बनाइएका थिए। अनि वर्तमान मस्तिष्कमा भूतकालको जिराफ सवार गराउन रचिएका थिए राष्ट्रगीतहरू। त्यसैले आज पनि स्वाभिमानको जिराफ मस्तिष्कहरूमा जीवित छ, तर यथार्थसँग सामना गर्ने आत्मविश्वास छैन। नक्कली राष्ट्रवादका संगीतहरू जीवित छन्, तर समाज चिन्ने सामथ्र्य बन्न सकेको छैन। राजामहाराजाको महिमा बाँकी छ, तर जनताको गौरव बनेकै छैन। ... नेपालका समाजहरू संसारका सबै समाजभन्दा भिन्न, जटिल र रोमाञ्चक पनि छन्। फरकफरक जातजाति, संस्कृति, भाषा र भिन्नभिन्न शैलीका परिवारबाट जन्मिएका मान्छे एउटै समाजमा बाँच्छन्। किसिमकिसिमका मान्छे फरक अनुहार, बान्की र जीवनशैली बोकेर समाजको विचित्र रूप बनाउन घरबाट बाहिर निस्कन्छन्। हाम्रोजस्तो इन्द्रेणी समाजको रोमाञ्चक पक्ष हो। तर इन्द्रेणीका सबै रङ उत्तिकै चहकिला हुन्छन्, हाम्रो समाजमा भने कुनै रङ रवाफका साथ चम्किएको हुन्छ र कुनै रङ मधुरो छायाजस्तो हुन्छ। किन भयो त यस्तो? हामीलाई यथार्थको पत्र उप्काउनु छैन। त्यसैले यहाँ धूमिल इन्द्रेणी छ, तर त्यो इन्द्रेणीमा रोमाञ्चकता छैन। हो, यथार्थ र कल्पनाको पहेलीमा चाकाचुली खेलेरै हामी हुर्कन्छौं। तर यथार्थभन्दा कल्पना बलियो, फ्याक्टसँग सामना गर्नुभन्दा फिक्सनमा उडान भर्न मजा लाग्ने भएपछि एउटा भावुक र नाजुक व्यक्तिको जन्म हुन्छ। ऊ यथार्थका अप्ठ्यारा देखेर तर्सिन्छ। प्रश्नसँग भाग्छ, यथार्थको सामना गर्न मन गर्दैन, बरु समाजका सबै प्रश्नसँग नाक खुम्च्याउँछ। दुनियाँसँग आँखा जुधाउनलाई ऊसँग कुनै विशेषता हुँदैन। फेसबुकका भित्ता र ट्विटरका आँखीभ\mयालमा ऊ सगरमाथा र बुद्ध आफूसँग हुनुको गौरव दाखिल गर्छ। अनि फेसबुक र ट्विटरका भर्चुअल संसारबाट जब समाजको जटिल यथार्थमा टेक्नुपर्छ, तब ऊ बडो नराम्रोसँग रन्थनिन्छ। टिसर्टमा बब मार्ले, चे ग्वेभारा र जिम मोरिसनको फोटो टाँसेर हिँडिरहेका युवा यत्रतत्र भेटिन्छन्। तर जसरी उनीहरूले आफ्नो समाजका प्रश्न टिपेर आगो सल्काए, त्यसरी आगो टिप्ने एउटै बब, जिम वा चे भेटिँदैन हाम्रो समाजमा। विकिलिक्सको विद्युतीय पन्नाबाट नयाँ सञ्चार क्रान्ति ल्याइदिने जुलियन आसान्ज बाँचेको युगमा छौं हामी। जहाँ मार्क जुकरबर्गजस्तो युवाले दुनियाँलाई फेसबुकको जादुई संसारमा भुलाइदिएको छ, वहीँ पाइरेट बेका युवाहरूले कलासहित्यलाई एकाधिकार गर्ने कर्पोरेट दुनियाँलाई चुनौती दिन टोरेन्टको आँधी चलाइदिएका छन्। यस्तो चुनौतीपूर्ण युगमा हामी भने उहिल्यै २५-३० वर्ष शासन गरेको बृहत् नेपालको नक्सा बनाउन व्यस्त छौं। दार्जिलिङ र कुमाउँ गढवाल हाम्रै थियो भनेर भूतकालको स्मृतिदंशमा बाँच्छौं हामी। किन? किनभने हामीलाई बलभद्र, पृथ्वीनारायण आदिको पूजा गर्न सिकाइयो, इतिहासमाथि प्रश्न गर्न होइन। भूत कालमा बाँच्ने आदत सिकाइयो, वर्तमानमा होइन। समस्यालाई ढाकछोप गर्न सिकाइयो, फुकाएर समाधान निकाल्न होइन। त्यसैले आजसम्म हामी राजतन्त्रको छहारीमा सुखसुविधा एकलौटी पार्नेहरूले रचेका कथामा छौं, समाजका घाउमा होइन। आफैं हुर्किएको दुनियाँ बुझ्नभन्दा, बुद्ध नेपालमा जन्मिएको कथामा झुम्न हामीलाई रमाइलो लाग्छ। अर्थात् अर्कैको दिमागले हामीलाई चलाइरहेको छ र हामी फगत चलिरहेका छौं। अन्त्यमा एउटा प्रसंग। विसं १९५३ मा जर्मन पुरातत्वविद् डा. एलोइस फ्युहरर लुम्बिनीको पुरातात्विक खोज गर्न आएका थिए। बौद्ध ग्रन्थ र चिनियाँ यात्रावृत्तान्तका आधारमा नेपालको कपिलवस्तु इलाकामा लुम्बिनी हुन सक्ने उनको अनुमान थियो। त्यसबखत जर्नेल खड्गशमशेर पाल्पाका बडाहाकिम थिए। उनले फ्युहररलाई सहयोग गर्ने बचन दिएका थिए। जब फ्युहरर आए, खड्गशमशेर तोकिएको ठाउँमा थिएनन्। अनुमानित लुम्बिनी खोज्दै जंगलभित्र पस्दा फ्युहररले देखे- केही मानिसहरू जमिन खनिरहेका छन्। गाड्धन पाइने लोभमा खड्गशमशेरले फ्युहररभन्दा पहिला पुगेर त्यहाँ खन्न लगाएका थिए। संयोगबस अशोकस्तम्भ त्यहीँ भेटियो र फ्युहररले पछि त्यही ठाउँ लुम्बिनी रहेको प्रमाण जुटाए। यो प्रसंगले भन्छ- हामी कुन धरातलमा छौं। राष्ट्रकविले जतिसुकै हिमालको गीत गाइरहुन् र पुजारीहरू जतिसुकै राष्ट्रकविको पूजा गरिरहुन्, नेपाल हामी हौं र नेपालको महानता हामीले निश्चित गर्ने हो। अब भन्नुस् त, के साँच्चै नेपाल ठूलो छ? प्रकाशित: पुस १८, २०७१

Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

हुम्ला किन सिमला बन्दैन ? (Humla vs Shimla)

Namaste Jharna: A short and sweet destination