अन्नपूर्ण पदयात्रा र अनुभूतिहरु; ABC Trek
पदयात्रा आफैंमा एउटा रोचक र विशिष्ट अनुभव हो । यस क्रममा आफ्नो शारीरिक क्षमताको गहन परीक्षण त हुन्छ नै, अझ यात्राकै अवधिमा गरिने सामाजिक संसर्ग, प्राकृतिक छटाहरुको रसस्वादन र फरक परिस्थितिको समायोजनले नवीन अनुभव र भोगाइ समेट्दछ । हिमालको फेदमा पुग्ने पदयात्रा, अझ विश्वमै चर्चितमध्येको एक अन्नपूर्ण पदयात्रा । सुनेरै जीउ ढकक्क फुल्छ, गर्दा नरमाइलो हुने त कुरै भएन ।
कुनै यात्रालाई तब सफल मानिन्छ, जब गन्तव्यसम्म सहज तरिकाले पुगिन्छ र फर्केर घरसम्म आइन्छ । घरमा बसेर यात्राअवधिका उछालमतालहरु सम्झँदा निश्चय नै मन पुलकित हुन्छ, रोमाञ्चित हुन्छ र शव्दमा वर्णन गर्न नसकिने खुसीले फुरुङ्ग हुन्छ । यसपालि मसँग त्यस्तै यात्राको बेलिविस्तार छ, दिल खोलेर पढ्नुहोला ।
यात्रा सुरु गर्नुअघि हामीले फेसबुकमा यात्रासम्बन्धी लामालामा बहसहरु गऱ्यौं । अप्रिल ७ मा धरानबाट निस्किएको एउटा टोली अप्रिल ८ को बिहान पोखरामा अर्को समूहसँग मिसिएपछि अन्तत: ६ जनाको टोली जुट्यो । बाग्लुङ बसपार्क पुगेर अर्को बस पक्रिनुअघि माछापुच्छ्रे हिमालको तस्वीर लिन थाल्यौं मनमा सोच्दै थियौं- 'त्यसैको काखसम्म पुग्नुछ' ।
पोखराबाट देखिने माछापुछ्रेको दृश्य |
दिन १
पोखरा--घान्द्रुक-- किमरोङ डाँडा -- किमरोङ खोलानयाँ पुल, वीरेठाँटीको पारि पुग्नासाथ हामीले बस छोडेर पैदल यात्रा आरम्भ गर्न थाल्यौं । विभिन्न सौर्यकिरण प्रतिरक्षा गर्ने श्रृंगारका प्रसाधन पोतेर हामीले उकालो बाटो ततायौं । घान्द्रुक (१९४०मी) पुगेर खाना खाने तय: भयो । विस्तारै उकालीहरु छिचोलेर ढुङ्गे बाटो मास्तिर घान्द्रुकको गुरुङ कटेज फेला पऱ्यो । तृप्त हुनेगरी मासुभात खाएपछि छोमरोङ पुग्ने तयारीका साथ टोली अगाडि लम्किन थाल्यो । जङ्गल, खोलानाला, काठेसाँघु, तेर्सो झैं लाग्ने तर उकालो बाटो नाघ्दै किमरोङ डाँडा पुगियो । उस्तै नाम गरेका तीन अवस्थिति रहेछन् त्यहाँ । कोमरोङ डाँडा, किमरोङ खोला, र किमरोङ । यसमध्ये कोमरोङ डाँडा (२६५४मी ) सुरुमा भेटियो । 'यसपछि चाहि बाटो ओरालो लागिहाल्छ, त्यसपछि हल्का उकालो चढे त छोमरोङ आइहाल्यो ।' यही सोचाइका साथ तल बगिरहेको किमरोङ खोलाको मधुर आवाज सुन्दै झर्न थाल्यौं । तर खोला त झन् झन् टाढा भइरह्यो । बल्लतल्ल खोलाकिनार पुगेर एकजना आन्टीसँग खोला वारिबाटै चाँजोपाँजो मिलाएर हल्का डरै लाग्ने खालको झोलुङ्गे पुल तऱ्यौं र बसोबासको तरखरमा लाग्यौं ।
किमरोङ खोलाबाट छोमरोङ लाग्ने बेलामा यात्रीहरू |
दिन २
किमरोङ खोला -- छोमरोङ-- सिनुवा -- बाम्बूसखारै उठेर हल्का उकालो चढेपछि छोमरोङ (२१७०मी) पुगियो । त्यहाँबाट माछापुच्छ्रे झन नजिक र गाढा देखियो । अलिक मास्तिरबाट बाटो तल छोमरोङ खोलातिर लाग्ने रहेछ । पूरै ढुङ्गे सिंढी झर्नुपर्ने । घरहरु चिटिक्कका सफा, ढुङ्गा बिच्छ्याइएका आँगन । हिमालकै फेदबाट आएका धाराहरूको चीसो पानी । यात्रा झन् मीठो हुँदै गयो । विदेशीहरुको "नमस्ते", खच्चरहरुको टङटङ घण्टी, हिमालको पङ्क्तिको मनोरम दृश्य हेर्दै खोला तरियो अनि तल्लो सिनुवा (२३६०मी ) पुगेर मीठो खाना खाइयो । थाकेर हो कि खाना नै स्वादिलो हो भेउ पाउन सकिएन, जे हास् थपीथपी खाइयो । खाना लगत्तै उकालो बाटो ! ओह ! चर्को घाम ! माथिल्लो सिनुवा दूरीका हिसाबले धेरै होइन । तर हम्मेहम्मे परिहाल्यो पार गर्न । लगभग ३५ मिनेट अनवरत हिंडेर माथि पुग्दा धरानबाटै गएका भाइहरु भेटिए, सुझाव लिइयो । मैले कालो चस्मा पनि लिएँ (धन्यवाद सिद्धार्थ भाइ, हिउँमा कालो चस्माको अहम् भूमिका हुँदोरहेछ । )
धेरै जसो झरे पनि यो हामीलाई स्वागत गर्नै फुलेको रहेछ (लाली गुराँस) |
छोमरोङको ओरालोको पोज |
यो ओरालो सकिए पछि बाम्बु आउँछ रे ! |
दिन ३
बाम्बू -- दोभान -- हिमालय -- देउराली -- एमबीसीझिसमिसेमै तयारी भएर बिस्कुट चपाउँदै लागियो जङ्गल बीचको बाटो । दश बाह्र मिनेटपछि थाहा भयो एउटा पन्जा त तलै छुटेछ मेरो । कुदेर ल्याएँ । यस्तो यात्रामा उल्टो हिंड्नुजस्तो नमीठो के होला र ?
अलिअलि गर्दै माछापुच्छ्रे छेवैमा आइसकेको थियो । जङ्गलको बाटो पनि मनोरम थियो । गुराँस फुलेर पनि झरिसकेको ऋतु परेछ । नभए त्यो जङ्गल नै राताम्मे हुन्थ्यो होला । एउटा काठेसाँघुको मुन्तिर बसेर पानी र चाउचाउ चपाइयो । यसपछि बाटोले हरेक मोडमा झुक्यायो, अब चैं तेर्सो लाग्ला भन्यो, झन् उकालो आउँछ ।
हिमालय (२९२०मी ) पुगेर सानो विश्राम लिइयो, एक कचौरा तातो पानीमा लसुनका दुईचार टुक्रा हालेर बनाइएको स्वादिलो सूप मात्रै दुईसय रुपियामा पिउन पाइयो । त्यसबाट उर्जाशील भएर टोली उकाली लाग्यो ।
हिन्कु गुफा (३१७०मी) नपुगुन्जेल बाटो उकालियो, मन बरालियो त्यो मनै छुने पहाडी दृश्यहरुमा । हिन्कुबाट देउराली त यति नजिक देखियो, हामी कुद््यौं नै । तर पुग्ने बेलामा टप्कियो ठाडो उकालो । खै कहाँ लुकेको रहेछ अघि हेर्दा नदेखिएको त्यो बाटो ? देउराली (३२३०मी) पुगेर खानपान गरियो र साथै एक चक्की लेक लाग्ने समस्याविरोधी औषधि खाइयो । मौसम धुम्म परेको थियो । बाम्बूदेखि नै हामी मोदीखोलाको नजिक भएर हिंडिरहेका थियौं । केही मान्छेले सुझाए मोदी तरेर जाने बाटो सुरक्षित रहेको, वारिवारिबाट जाने पुरानो बाटोमा हिमपैह्रोको खतरा रहेको बताए । हामीले फलामे सानो पुल तरेर पारी लाग्यौं ।
लसुनको झोलको मजा लिंदै ट्रेकर्स !!! |
मोदीलाई फेरि तरियो । अलि परतिर रहेछ हिममार्ग । हिउँको ठूलो चौर र बीचमा खिरिलो बाटो । भासिएला कि भन्दै त्यसलाई तरेर ढुक्क भयौं । तर के को ढुक्क नि ? अलि परतिर हिउँधरापहरु बग्रेल्ती रहेछन् । सानो खुट्टा अट्ने बाटो, अनि तल छङछङ गर्दै बगेको मोदीखोला । प्लित्तै चिप्लियो भने नदीमा ।
यस्ता धेरैवटा हिममार्ग नाघेर एमबीसी (३७००मी )का लजहरुको छाना देखिएपछि बेतोडको खुसी लाग्यो । दिउँसोको दुई बजेको थियो, सुनील दाइ रहेछन् आउँदै गरेका । प्लाष्टिकको मोजा र चप्पल, हाफ कट्टु र टीसर्टमा । पछाडि बडेमानको भारी । पहिलो रेष्टुरेण्टमा मैले सोधें, "यो हिउँ कहिलेसम्म पग्लिएला त ?"
"अरु ठाउँको त पग्लिहाल्छ । मान्छे खाने ठाउँको चाहिं रहन्छ ।"
"हँ ? मान्छे खाने ठाउँ ?"
मन भारी भयो । के भन्छन् यी मानिस ?
"हो त उ: त्यहाँ दुइजना विदेशीलाई हेर्दाहेर्दै पुरेको । अनि पर..... अनि पर.... ।"
भयानक कहानीहरु सुनाए उनले । अघि भरखर पार गरेका हिमधरापहरुको बायोडाटा सुनेर आङ नै सिरिङ्ग भयो । आउनु त आइयो, फर्किनु कसरी ?
उता कोठा पाउनको लागि हाम्रा साथीले "यै हिउँमा सुतिदिन्छु, तपाईंकै लजको अगाडि" भन्ने डायलग हानिसक्नुभएछ । हो, त्यहाँ हिउँले गजब काम गऱ्यो, कोठा राम्रै पाइयो । इन्टरनेट पनि त पाइयो ।
समय बचेकोले हिउँतस्वीरहरु थुप्रै खिचिए, जता हेऱ्यो हिउँ र हिमाल छ ।
दिन ४
एमबीसी - - एबीसी -- एमबीसी -- -- तल्लो सिनुवात्यहाँका साहुजी, जसले यात्राभरिकै मध्येको उत्कृष्ट आतिथ्य देखाएका थिए, ले बिहान चारै बजे एबीसी (अन्नपूर्ण आधार शिबिर) लाग्ने सल्लाह दिए । यो हाम्रो गन्तव्य थियो । विविध तयारी गरियो बिहान । जुत्ताबाहिर हिमप्रतिरोधी गेताफे बनाउन त्यही प्लाष्टिक च्यातेर बेह्रियो, लौरोहरु तयार पारियो, भएजति सबै नै लुगा लगाइयो । चस्मा, मफ्लर र टोपी त छँदैछ । अँ, मैले होटलमा उपलव्ध निशुल्क तातोपानी स्टीलबोटलमा भरें, बाटोमा पिउनुपर्ला भनेर ।
वाह त्यो उत्तेजना ! पूर्णतया हिमनिर्मित बाटो ! लगभग ३ घण्टाजतिको; धेर उकालो पनि होइन, चिप्लो पनि होइन, अनि खतराका धरापहरु पनि नभएको । मस्त हिंड्यौं हिउँमाथि ।
४१३०मी मिटरको उचाइमा अवस्थित यस आधार शिविरमा पुगेपछि अपार खुसी लाग्यो । अझ घामले विस्तारै पाइला राखेका अग्ला हिमचुचुराहरु (माछापुच्छ्रे ६९९७मि, गङ्गापूर्ण ७४५४मि, दक्षिण अन्नपूर्ण ७२१९मि
पछाडि देखिने चैं माछापुछ्रे हिमाल हो |
आरोही होइनन् पोज मात्रै तेस्तो ! |
आदि) देख्ता को रमाएन होला र ?
चीसोले कक्रिएका हातहरु बिस्तारै निस्किए, क्यामेराका बटनहरु दबाउन तल्लीन भइरहे । यस्तैमा पानी पिउन मन लाग्यो, मुखमा त बरफका ससाना टुक्रा पो आउँछन् बा !
ओरालो झराइ लगभग दौडझैं भयो । त्यही होटलमा केहीक्षण बिसाएपछि हामी हतारमा निस्कन थाल्यौं । कारण देउरालीसम्मका ती हिमधरापहरु पार गर्नु थियो ।
पहिलो घामको झुल्का हिमालमा |
बास पनि जेनतेन पायौं र विश्राम गर्न थाल्यौं ।
दिन ५
तल्लो सिनुवा -- झिनु डाँडा -- सिवाइ -- पोखरासिनुवाको बसाइलाई सखारै मैजारो गरेर छोमरोङको त्यही ढुङ्गे सिंढी पार गर्ने क्रममा म अग्रस्थानमा थिएँ । साथीहरुले 'बाज' नाम राख्न पनि भ्याइसकेछन् । क्यामेरा अड्याउने तीनचोसेको सहायताले केही स्वदेशी र विदेशीहरुसग भलाकुसारी गर्दै घरिघरि उल्टो बाटो हिंडेर दृश्य कैद गर्दै छोमरोङको डाँडा पुगियो । यहाँबाट जाँदाको भन्दा फरक बाटो लिने निर्णय भएकै थियो । यसैले झिनुडाँडा (१७८०मी) झरेर प्राकृतिक तातो पानी अर्थात् 'हट स्प्रिङ'को मजा लिन मोदीखोलाको तीरतिर लागियो ।
जन्मँदाकै पहिरनमा सबै आगन्तुकहरु डुबुल्की मारिरहेका थिए त्यहाँस्थित कुवामा । हामी नि के कम भन्दै पस्यौं । ओह ! पानी त गजब तातो पो रहेछ । कसले ततायो कुन्नि ? ईश्वर नहुँदो हो त नरिवलभित्र पानी कसले हाल्यो भनेझैं ।
जे होस् पानीबाट निस्केर झिनुडाँडासम्मकै उकालो लाग्दा दुखाइ महसुस भएन, पानीमा पेनकिलरको गुण पनि रहेछ । अथवा कम्तीमा हामीमध्येका केहीले ठोकुवा नै गऱ्यौं यस तथ्यमा ।
अबको यात्रा हतारमय रहेन । सुस्तरी हिंडिरहेका थियौं हामी । भीरमै रहेछ बाटो । एकजना व्यक्तिले भने, "मास्तिर बाघले ढुङ्गा खसाउँदैछ, छिटो जानू ।" टोली फिलीली कुद्यो । पछिल्लो कसैले बाघको जानकारी मागेछ, तिनले जवाफ दिए, "ह्या, बाघ होइन बाख्रा भनेको ।" हामी हाँस्दै कुदिरह्यौं । न्यूब्रिज (जसलाई नयाँपुल वा नयाँसाँघु भन्न मिल्दैन) पुगेर केही खाजा खाइयो । सिवाइ पुग्ने बेलामा फेरि उकालो भेटियो, झमक्कै साँझ पर्दा सिवाइ पुगियो । केही थान गाडीहरु सिकारको प्रतीक्षामा रहेछन्, तीमध्येको एकले हामीलाई पोखरा पुऱ्याउने जिम्मा लियो ।
"जे होस् रमाइलो भयो," मैले फेसबुकमा यै स्टाटस राखेको थिएँ April 13,2017 मा । हो, रमाइलो धेरै नै भयो । तथाकथित 'चलाख घडी'का अनुसार १३१,२४० कदम (७८ किमी) हिंडिएछ । जीवनपथमा यो छोटै दूरी होला तर स्मृतिपटमा यसको लम्बाइ धेरै लामो छ ।
यस सुखद यात्राका केही कुराहरु समेटिएको एक भाग Englishमा पनि आउनेछ, यात्रावखत अपनाउनुपर्ने तयारीहरुको कुरो अर्को कुनै अंकमा आउनेछ । अझ महत्वाकांक्षी कुरो डकुमेन्ट्री (The trailers, you can watch) पनि ढिलोचाँडो आउनेछ ।
वाह् साह्रै रमाइलो भएछ सर । यात्राको वर्णन अझै रमाइलो । :)
ReplyDeleteThanks for comment!
ReplyDelete