Trip to Tilicho तिलिचो तिरको समय-यात्रा

जान्दाखेरि म कतै थिएँ, निदाइरहेको ।
मस्त ।
चूपचाप ।
निस्पृह ।
व्युँझिएछु ।
कुमार नगरकोटीको "घाटमान्डु"को पेज नम्बर ११० बाट, माइ डियर फ्रेण्ड , म अकस्मात् उठें ।
संसार फ्रोजन थियो । जताततै उद्विग्नता, आलस्यता, एकोहोरोपनको धमिलो प्रकाश फिंजारिएको थियो । जाँगरको पित्कोसम्म पनि कतै देखिएन। हैन किन स्ट्यागन्यान्ट भयो हँ  समय ? मैले सोचें, अब यात्रामा लाग्नैपर्छ ।
केही थान सहयात्रीहरु अवश्य चाहिने थिए यस यात्रामा । तेसैले तिनीहरुलाई निद्राबाट जगाउनुलाई पहिलो कार्य ठान्दै म तिनीहरुको शयनकक्षमा पसें । पेज नम्बर ११० मा उल्लेख थियो, "आमाको कोख निदाउनका निम्ति यस जगतको सर्वोत्कृष्ट विछ्यौना हो" । यसै पेजमा निद्रारत थिए, उनीहरु ।
अनुह गौतम, जमल गिरी, अशोक ऐर, सूर्यनारायण पुन, लक्ष्मण खनाल, हेमराज गैरे र विशाल बाबु बस्नेत । तिनीहरु यस्ता नामधारी थिए । परन्तु यस यात्रामा तिनीहरुलाई केवल विन्दू मानिने थियो । 
एक थोप्लो ( . ) ।   
झटपट उठेका यी सात थोप्लाहरु एकत्र भए यो यात्रामा ।  न्यारेटरका रुपमा थोप्लो "बी"लाई चुनियो । 

अँ  त म भन्दै थिएँ, निद्राबाट जागेपछि धमाधम हामी धरानबाट ईंटहरीका लागि हानिनु थियो; ई.सं. २०१७ अक्टुबर २८मा । सामान्यतया यति यात्रा गर्न पाँच वर्ष ३ महिना २१ दिन लाग्न सक्थ्यो । तर मिराज पोखरेल भेटिए अनायास र उनको स्थलयानमा हामी दुई वर्षमै ईंटहरी पुग्न सफल भयौं । प्रदेश नम्बर १ को राजधानी भएकोले झकिझकाउ थियो इटहरी, तर मध्यावधिमै प्रदेशसभाको निर्वाचनमा जुटेकोले राजनीतिक सरगर्मी पनि बढेको पाइयो । पूर्वबाट आउने लोकल बसले हल्का ढिलो गर्नाले ४ महिना पछि मात्र बसमा चढ्न सकियो । 
लामो बाटो सुरु भएको थियो । बसको डिजीटल स्कृनमा क्रमश: हप्ताहरु, महिनाहरु, ऋतुहरु र वर्षहरु निस्किंदै र हराउँदै गए । सायद तेह्रवर्ष बितेछन्, हामी नेपालले एक्लै बनाएको सप्तकोशी ब्रीजमा थियौ । पुरानो बाँधभन्दा ५ किमी उत्तरतिर रहेको यो साँघुको छानो प्यागोडा शैलीको कलात्मक थियो । तरेपछि लश्करै पेडा महलहरुमा पेडाका आकर्षक पोकाहरु बसबाटै देखिने गरी राखिएका थिए । हामीमध्येका केही थोप्लाले त्यसलाई मगायौं र अगि बढ्यौं ।
समय कुद्यो र कुदिरह्यो । अकस्मात् बस रोकियो, ढल्केबर कनेक्सननेर 'इण्डिया चाइना पारवहन रेल'लाई बाटो दिन रोकिएको रहेछ । एकसय पचास डिब्बा पार हुन घटीमा तीन वर्ष लागिसकेको थियो । यसपछि भने स्मुथ तरिकाले वस चलायमान भयो । हेटौडा कटेपछि फेरि रोकावट आयो । हत्तेरी !
सीसाको पर्दाउतापटि बसेका चालक सुस्ताउँदै हामीतिरै आए र भने, "तेस्रो विश्वयुद्ध समाप्तिको दिन रहेछ । युद्ध छोडेर शान्तिमा सहमति जनाएका रहेछन् कोरियन ध्रुव र अमेरिकी ध्रुवका शक्ति राष्ट्रहरुले ।" 
"यो त खुसीको कुरा हो ।" थोप्लो "एल"को प्रतिक्रिया । 
"खै ! अब यी बाहेकका अरु के चूप लाग्लान् र ? अर्को ध्रुव उठ्छ ।" थोप्लो "एए" बोले । मैले सही थापें । 
एक दशक नै बित्यो त्यो खुसीयालीको रोकावट । अन्तत: हामी यात्रामा बढ्यौं ।
मुग्लिनबाट त्रिशुली तर्ने अण्डरवाटर बाटो रहेछ । त्यसमा गतिशील यात्राले ३ वर्ष बिताएर अर्कोपट्टि निस्किंदा चालकसाहेब चिया बोकेर हाम्रैसामु आइपुगेका थिए । 
"देख्नुभो त ? चौथो विश्वयुद्ध पछि सबैभन्दा बढी फाइदा हामीजस्ता पहिले पछि पारिएका देशलाई भयो ।"
 "हँ कसरी ?" धेरैबेर चूप बसेको थोप्लो "एजी" पनि जिज्ञासु देखियो ।
"इ: हेर्नुस् न।" अन्तरराष्टृय  एभरेष्ट टाइम्स कभरपेज देखाउँदै उनले पढेर सुनाए, "सुदूरउत्तरआणविक हतियारले निर्धन राष्ट्रलाई केहि  गर्न सकेन । किनकी यसको विशेषता मानिसको मगज विष्फोटन थियो । कैयौं वैज्ञानिक, दार्शनिक, राजनीतिज्ञ र कुटिल मनस्थितिमाथि यसले निर्मम प्रहार गऱ्यो तर सफा मनमस्तिष्कहरु, गरिब किसान र मजदूरहरु अछुतो रहे । यसैले युद्ध सकिएको दश वर्षमै नयाँ  सभ्यता सुरु भयो ।"
उनी थप्दै थिए, "जहाँ  उब्जाउशील जमिन बाँकी थियो, त्यही धनी देश भयो । जहाँ कर्मशील मानिस थिए, तिनै असल शासक भइदिए ।"
चलिरहेको बसका चालक गफिदै देखेर थोप्लो "जे" चिन्तित भएर आङ  तन्काउने बहानमा क्याबिन पुगिआए । मैले नि सोधें, "अर्को चालक रैछ कि खलासीले चलाइराछ ?"
"काँ  हुनु । रोबोट रैछ ।" थोप्लो "जे"ले सुस्तरी भनेको चालकसाहेबले सुनेछन् ।
"हा हा हा । समयले फड्को मारेको थाहा पाउनुभएन कि कसो ? मेरो काम त प्रोग्रामिङ मात्रै हो । म काँ ड्राइभर हूँ  त ? म इन्जिनीयर हूँ  ।"
डुम्रे ओह्र्लँदा  उहिले जापानको कुनै सहर पुगेजस्तो आभास भयो । ट्रेन स्टेशनमा जानकारी हासिल गरेपछि बेसीशहर जाने सात वटा टिकट २१० नेपाली डलर (५२५०० अमेरिकी डलर)मा किनेर थोप्लो "एस" आइसकेछन् । 
"लु टिकट लिएँ है । अब  जेरीपूरीतरकारी खाएर छिटो गरिहालौं ।"
हामीले फटाफट तीन महिनामै भोजनग्रहण गऱ्यौं ।  ट्रेनको पर्यटकीय डिब्बामा स्वदेशीलाई निषेध रहेछ । तर थोप्लो "एजी"लाई हामीले त्यसमै पठायौं । उसको अग्लो कद, गोरो चेहरा र खरो अंग्रेजी देखेर स्पेनीहरु 'आर यू ब्राजिलियन?' भनेर जिस्काउँदै थिए । 
उता स्वदेशी डिब्बामा चढेका एकजना वृद्धलाई हामीले सोध्यौं ।
"कहाँ जान लाग्नुभएको ?"
"के गर्नु बाबु ओल्डीज् बस छुटिगएछ । तेसमा भए भाडा नि नलाग्ने, खाना पनि दिन्थ्यो । अनि यसमा चढेको ।" 
स्काइवे भएकोले तल तिर औंलाले देखाउँदै उनले भने, 
"पहिला भए यो तलको रोडमा लोकल बसमा कोचिएर जानुपर्थ्यो । भाडामा किचकिच, कोचाकोच मान्छे । अनि झर्न चढ्न नि सकस । आम्मामा कस्तो सास्ती थियो नि ।"
"परिवर्तन भयो है बाजे ।" थोप्लो "एच" गफिए बाजेसँग ।
"हो नि । आणविक शक्तिकेन्द्रको टकरावले उताका मात्र हैन, यताका भ्रष्टाचारी, ठग, बेइमानहरुको समेत मगज विष्फोटन भएर तड्पीतड्पी मरे । अनि निमुखाहरुले देश चलाउन थालेपछि कृषिलाई धर्मका रुपमा लिइयो र कृषि पेशामै निर्भर रहेर नेपाल विश्वमा धान उत्पादनको दश देशहरुको सूचीमा निरन्तर पर्न सफल भयो । आखिर जति उन्नति गरे नि खानु त परिहाल्दोरहेछ ।" बाजे खितिति हाँसे ।
बेसीशहर पुगिसक्ता तेस्तो सुपरफास्ट ट्रेनमा पनि साँढे दुई वर्ष लागिसकेछ । 
"मनाङ  जाने कताबाट हो ?" थोप्लो "एए" चलाख भएर सोधीखोजी गर्न थाले ।
"हेर्नोस् -- दुई तरिका छन् ।" पर्यटक सेवा केन्द्रका सहयोगीले म्याप देखाउदै भने । "बुलेट ट्रेन भएर जाने हो भने मर्स्याङ्दी नदीको  पानी मुनिबाट पूर्णत: सुरुङ मार्ग भएर जान सकिन्छ । हैन, एक्काइसौ शताव्दीको मजा लिने हो भने जीप पाइन्छ । तर ट्रेनभन्दा ३ हजार नेपाली डलर बढी लाग्छ ।"
समूहका सबैले पुरानो सभ्यताको स्वाद लिने रहर गरे । अनि १३३ वर्षीय सन्तबहादुर गुरुङको थोत्रो भ्यानको सामान बोक्ने सेक्सनमा सात थोप्लाहरु खाँदिए ।
ओहो ! त्यो विकराल भीर, जंगलको बाटो, खाल्डाखुल्डीले उचाल्ने र हल्लाउने । अनि लमजुङ र मनाङको सीमानाको मार्दी भीर । आङै सिरिंग हुने चट्टानमा खोपिएको खिरिलो बाटो । 
"हैट बेकार यसमा आइयो । बरु रेलमै मजा हुन्थ्यो होला ।" मैले प्याच्चै बोलेछु । 
"शिखरमा पाइला राख्न चै खोज्ने । उकालो हिंड्न चै डराउने ?" थोप्लो "एच"ले दिइहाल्यो ।
"त्यो सुरुङमा पसेर का यस्तो मनोरम दृश्य हेर्न पाउनु ?" थोप्लो "एल"ले एज यूजल थपिहाल्यो । 
बाटोको यता पनि उता पनि मनै लोभ्याउने झरनाहरु रहेछन् । क्यामेरा तेस्र्याएर हल्लिदै भए पनि तस्वीर खिचिए । 
तिर्खाले व्याकुल थोप्लो "जे" झरनातिर लम्कियो । 
"ए पख पख । सफा त हो नि ?" थोप्लो "एए"ले सतर्क गराए । 
सन्तबहादुरले हाँस्तै भने, "चोखो हो हौ, पहाडको पानी । चोखो भनेपछि सक्किगो नि । गहुँतको उद्गम, स्वाद, लक्षण, बासनामा केही खोट लगाउन सकिन्छ र ?"

बत्तीस वर्ष लगाएर भए पनि हामी चामे पुग्यौं । मनाङको सदामुकाम । सानो चिटिक्कको नगर । पौराणिक रहनसहनलाई चटक्कै नबिर्सेको रहेछ । यहीं विश्राम लिइयो, विसाइयो र बहस गरियो । 'थोराङ ला' पास गर्नेबारे । थोप्लो "एस" त तयार नै थियो । थोप्लो "एच" पनि । मलाई थप थोप्लो "एजी"लाई कन्भिन्स गर्न मन लाग्यो । ऊ पनि रेडी भयो । यसपछि त्यही भ्यानमा कोचिदै हामी मनाङ गाउँ  अनि खाङसार गाउसम्म पुग्यौं । बाटोका रमाइला जंगली बाटाहरु, स्वर्गद्वारी हिमाललको विशेष बनावट, भ्यान तर्ने जीर्ण काठे पुलहरु । यिनको वर्णन न्यारेटर थोप्लो "बी"बाट यथेष्ट हुन सकेन तथापि अविस्मरणीय रहे ती सबै मानसपटलमा । 
जे होस्, खाङसारमा मीठो दालभात र खुर्सानी सहितको पौराणिक भोजनपछि हामीले हिमाली स्लो रेलबाट यात्रा गर्ने निर्णय गऱ्यौं ।
 वायुउर्जाबाट मात्रै धीमा गतिमा चलेको यसको विशेषता भनेको दुई तला हुनु र एकातर्फमात्र झ्याल हुनु रहेछ । जसले गर्दा हिमालका मनोरम दृश्य सपाट देखिदो रहेछ । साथै  सुस्त गतिमा सलल बहने हुदा अक्सिजन अभावको हिमाली समस्यालाई पनि सन्तुलन गर्दो रहेछ । हुन त यसैभित्र स्वास्थ्य च्याम्बरमा गम्भीर शल्यक्रिया नै हुनसक्ने सूचना पनि डिस्प्ले भइराख्याथ्यो तर हाम्रो ध्यान त सिसाका सफा झ्यालबाट सिरुखर्कका नग्न डाँडाहरु, पहिरोले अर्कै रुप दिएका पहाडहरु, हिउँले ढाकिएका अन्नपूर्णका शिखरहरु आदि हेर्नमै केन्द्रित थियो । 
ई. सं. ३०१७ अक्टुबर ३१ को शुभ विहानीमा हामी सातै थोप्लाहरु 'होटल तिलिचो भ्यू'को सातौं तलामा छौं । तिलिचो तालको मधुर सौन्दर्य दृष्टिपान गर्दैछौं  । र, यो लेखिरहँदा मेरो हातेघडीमा फिर्तीको सूचना आइसक्यो । पूर्वपश्चिम हिमाली ट्रेनमा पाँच थोप्लाहरु फर्कने तयारीमा छौं । दुई थोप्लाहरु भने थोराङ ला' जाने तयारीमा लागिसकेका छन् त्यो पनि हिंडेर । बाँकीलाई उतातिर जान रुचि लागेन । यस्तो विकासे जमानामा पनि के दु:ख गर्नु ?
 उक्लिदाको सास्ती र झर्दाको आनन्दानुभूति । जेहोस् यो यात्रा अत्यन्त मनोत्तेजक भएर बित्यो । यसकै समय-सन्तुलित यात्रा वर्णन थोप्लो "एल"ले गर्ने भनेका छन् । उनको भर्सन नआउन्जेल यसैलाई अथेन्टिक मानिदिनुहोला । धन्यवाद । आरिगातो ।



Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

लाङटाङ पदयात्रा र अनुभवहरू