रारा यात्रामा भेटिएका फापर-मानवको अद्भूत कथा
डुङ्गाबाट पूर्वी क्षेत्र हेर्दा |
दिनको करिब ३ वा ४ बजेतिर रारा राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले हाम्रो
गाडी रोके । पस्नुअगाडि नामथर लेखेर शुल्क तिर्नुपर्ने बताए । नामलेखनको अभिभारा
डा. हेमराज गैरेले लिए, आफूसहित डा. प्रभात रंजन पोखरेल, अशोक ऐर, लक्ष्मण खनाल, जमल गिरी, विशाल बाबु बस्नेत, रत्न मिश्र र महेश खड्काको
नाम लेखिसकेपछि उनी “अ-लाई आकार र क-लाई
उकार के कसो हो” सोध्न थाले ।
त्यसैले अकुञ्चन श्रेष्ठ आफैं नामलेखनमा सरिक भए ।
नामसँगै उमेरहरू गैरेले आफैं मिलाएर लेखेपछि सुरक्षाकर्मी हल्का गफिन थाले ।
गफिनु नि के भन्नु र ? उनले त सोझै दुर्भाग्यको वखान लाए । त्यो कुरा यस्तो थियो -
“कस्तो ब्याडलक के
तपाईँहरूको ? एकछिन अघि आएको
भए पूरै हिउँ हेर्न पाउने । अलिकति ढिलो भो । कस्तो दुर्भाग्य !”
“ओहो हो र ! आज हिउँ परेको थ्यो ?” हामीमध्येकै हिउँको पारखीले
प्रश्न गरेको थियो ।
“हो नि । कस्तो
मजाको हिउँ थ्यो बिहान ७ बजेसम्म ।”
उनले प्रष्ट पारे र फेरि हाम्रो दुर्भाग्यप्रति ‘चुच्चुच्’ गरे । हाम्रो टोली विहान
कालीकोटको मान्मबाट निस्केको थियो यस्तै ६-७ बजेतिर । एकछिन हैन कि कैयौं घण्टा ढिलो भएको थियो । सायद
उडेर मात्रै भेटिन्थ्यो होला उनले भनेको हिउँ । तर जे होस् उनले ३-४ पटक हाम्रो दुर्भाग्यप्रति
करुणा प्रकट गरे ।
सानो जीपमा खाँदिएका हामी हल्का सम्म परेको बाटोमा अघि बढ्यौं । ‘अब त आइपुगिहालियो’को अनुभूतिमा । तर सम्म बाटो
भिरालो भैदियो र पर देखिए - पहाडमा बनाइएका तेर्सा रेखाहरू, जुन पार नगरी यात्रा
सकिनेवाला थिएन ।
भिरालोमा भेटिए एक हूल घोडाहरू, जो साइडलाइट नबाली बाटोमा यता र उता गर्दथे र हर्नलाई पनि
अटेर गर्न रुचाउँथे । तिनीहरूसँग हाम्रा गाडी चालकले धेरै प्रतिस्पर्धा गरे । आखिर
जन्तु र यन्त्रको भीडन्तमा यन्त्र विजयी बन्दै गयो । घोडाहरू क्रमश: पछि परे । बाटो छोडे र यताउता
अलमलिए बाहेक एक जोडी । सेतो र कालो घोडाघोडीले बिल्कुल टेरेनन् । जता जीप मोडियो
ती त्यतै मोडिए, उछिन्न खोज्यो
झन् दौडिए । साँघुरो बाटोमा दुई घोडा (वास्तवमा ती त तीन थिए - घोडी त गर्भवती पनि थिई र सायद
उसको प्रेमी चैं त्यै घोडो थियो) र एउटा गाडीको दौड लामो समयसम्म जारी रह्यो ।
अन्तत: मोडमा ती सोझै गइदिए र हामी
विजयीभाव बोकी बाटो लाग्यौं ।
पहाडमा नागबेली बनाई कुँदिएको बाटो पार गरिसकेपछि हामी सल्लरी भन्ने ठाउँ
पुग्यौं । झट्ट हेर्दा यहाँभन्दा माथि गाडी जान पाउँदैन जस्तो देखेपछि गाडीचालकले
त्यहीं विश्राम गर्ने विचार गरे । गाडीचालकको बारे थप भनिहालौं । उनी त्यति
बोल्दैनथे । तर जति बोले यात्राका क्रममा उनले बोलेका कुरा भयानक थिए । जस्तो कि -
१. एकपल्ट यहींनेर (मान्मबाट
नाङ्म पुग्ने बेलाको भीर) दुई बच्चाहरू फुत्रुक्क झरे । रातको १२ बजे यस्तो निर्जन
ठाउँमा । वरिपरि कतै बस्ती छैन । तिनीहरूले हातले गाडी छेके, तर मैले नरोकी कुदाएँ ।
२. यो ठाउँ (मान्म पुग्नुअगाडी
कालीकोटकै कुनै भीर)बाट बस खसेको थियो र भएजत्ति सबै मरेका थिए ।
३. यहाँनेर (नाङ्म पुग्ने बेला
कतै) जीप पल्टेको थियो । ड्राइभरले ‘रक्सी खा’को छु, चलाउँदिन’ भन्दाभन्दै यात्रुले
जबर्जस्ती गरेछन् । रिसले फेरि एक गिलास खाइदिएछ । अनि त मोडिनुपर्ने ठाउँमा सीधै
कुदाएछ । अँ, ड्राइभर नि हैन
खासमा गाडी मिस्त्री थिएछ ! त्यसमाथि रक्सी खाको ।
उनले कि त दुर्घटनाका कथा सुनाए कि त भूतका । यो मार्गमा लामो समय गाडी चलाए
पनि उनी राराताल पुगेका थिएनन् (यो पल्ट पनि उनी बीस मिनेट हिंडेर तालसम्म पुग्न
रुचाएनन् ।)
गाडी रोकियो, दिन ढल्किसकेको
थियो । अब ६ किलोमिटर हिंडेपछि रारा तालको दर्शन हुने कुरा एउटा बोर्डमा अंकित
थियो । हामीलाई घोडाहरूले पछ्याउन थाले तर आफैं होइन । घोडामा सवार पन्ध्रदेखि
सत्र वर्षका केटाहरूसहित ।
“दाइ घोडामा जानुस्
। टाढो पो छ । तीन घण्टा लाग्छ । हिंडेर जान सक्नुहुन्न ।”
उनीहरू सम्झाउँदै हाम्रा पिछा गरिरहे । अर्कै एक व्यक्ति भने एउटा घोडा लिन
राजी भए । हामीले पैदल नै हिंड्न मन गर्यौं ।
छोटो बाटोको खोजी पैदल यात्राको रमाइलो पक्ष हो । यसैले हाम्रो एकजना साथी
जङ्गलको बीचबाट मूलबाटो छोडेर हिंड्न थाले । घोडा सवार केटाले परैबाट करायो र
भन्यो,
“दाइ त्यता नजानुस्
। बाटो छैन । हराइन्छ ।”
“कसरी चैं हराइन्छ ? यो बाटो आखिरमा त्यसैमा
मिसिइहाल्छ ।” हामीले तर्क
गर्यौं । तर ऊ मानेन । उसले थप सतर्क गरायो ।
“एकपल्ट हामीले
भन्दाभन्दै एकजना त्यतै गयो र हरायो । कति खोज्दा नि भेटिएन ।”
“कैलेको कुरा हो ?” हामी जिज्ञासु बन्यौं ।
“भो होला ६-७ वर्ष ।” उसले घोडा लघार्दै जवाफ दियो
।
“अनि कहिल्यै आएन त
?” मैले नपत्याएर सोधें ।
“हो दाइ, हराएको हरायै भयो ।”
नपत्याएर पनि हामी मूलबाटोमै हिंड्यौं । ताल पुग्न एक घण्टा लाग्यो होला ।
घोडा रोजेका अर्का यात्रु हामीभन्दा पछि थिए ।
ताल पुग्दा सूर्यास्तको मनोरम दृश्य थियो । मन फुरूङ्गै भयो ।
ताल पर्खिरहेछ सूर्यको स्पर्श |
बास बस्ने होटेल भने तालको अर्कोपट्टि थियो । अँध्यारोमा तालको किनारैकिनार
होटल पुगियो, ।
कोठाको चाँजोपाँजो भएपछि आगो ताप्न दाउरा मगाइयो । त्यसपछि खाना खान गइयो ।
भोलिपल्ट तालभन्दा माथि रहेको मुर्मा डाँडाको टुप्पो पुग्ने योजना थियो । खाना
दिने भाइलाई यसबारे सोध्यौं ।
उसका अनुभवहरू पनि रमाइला थिए ।
“हेर्नुस् दाइहरू, मेरो घर यही मुगु जिल्लाकै
(उसले बताएको नाम अलि अप्ठेरो भएर याद भएन) गाउँ हो । म यहाँ काम गर्न थालेकै दश
वर्ष भयो होला । मुर्मा पुग्न घटिमा तीन घण्टा लाग्छ । घोडामा गए डेढ घण्टा । तर म
ऐलेसम्म पुग्याछैन । एकपल्ट त रिसै उठेर घोडा लिएर गएँ पनि फेरि आधीबाटो पुगेपछि
साँझ पर्यो र फर्किएँ ।”
“यो होटलमा औसत कति
जति अट्छन् मान्छे ?” हामी गफमा भिज्न थाल्यौं ।
“हेर्नुस्, सिजनमा तीन चारहजार पुग्छ ।
तीनसय त जैले नि हुन्छ । तीनसय भन्दा कम त म गन्दा नि गन्दिनँ । म जैले विहान पाँच
बजेर एघार मिनेटमा उठेर काम गर्ने हो । पूरै सम्हाल्ने तरिका थाहा छ । तीनसय भन्दा
तल त आँखै लाग्दैन !”
अफसोच ! भोलिपल्ट ५:२४ मा हाम्रो टोली
उकालो चढ्न तयार भैसक्ता पनि ऊ उठेको देखिएन । चकलेट चुस्तै हामी अँध्यारो छिचोल्न
थाल्यौं । म स्वयम् शिखरमा पुग्न करिब डेढ घण्टा लाग्यो । सूर्योदय हुँदै गरेको
सुन्दर दृश्य तालको पूर्वी छेउका हिमालहरूमा देख्ता अपार आनन्द आयो ।
मुर्मा टपबाट सैपाल हिमाल |
सहयात्रीहरू आउने बेलासम्म म त्यहीं माथि घुम्न थालें ।
एउटा टेलिफोनको टावर थियो । वरिपरि काँडेतारले बेह्रेको र ढोकामा ताल्चा
झुण्ड्याएको । कतैबाट पस्ने ठाउँ थिएन । छेउमा लेपास्सिंदै म अलिक पर पुगें । बझाङ
जिल्लाको सैपाल हिमालमा सौर्यकिरणको पदचाप मनमोहक देखियो । यो डाँडो एउटा समस्थली
जस्तो थियो । सबैतिर भीर थियो आउने एकतर्फी बाटोबाहेक ।
सबैजना आएपछि झन् रमाइलो भयो । तस्वीरहरू खच्याक्कSS खिचिक्कSS । तर ताल र मान्छे दुवै
देखिने तस्वीर लिन उल्टोप्रकाश परिदियो । सबै कालो मात्र देखिने । त्यस्तै भए पनि
एउटा ‘सामुहिक तस्वीर लिनैपर्छ’ भन्यौं हामीले । तर लिने कसले ?
संयोगवश एकजना युवक हामीतिरै आए । उनी त विपरित दिशाबाट आएका थिए । उनले
त्यस्तो जाडोमा पनि साधारण खालका वस्त्र भिरेका थिए । उनी भीर चढेर आए कि यत्तिकै
उत्पन्न भए, जे होस् उनले तस्वीर
लिइदिए । उनलाई मैले जिज्ञासा राख्तै भिडियो रेकर्ड गर्न थालें, “यहाँबाट त ७ जिल्ला देखिन्छ रे
नि, कुन कुन हो हामीलाई
भन्दिनुहुन्छ ?”
“कर्णालीका पाँचवटा - मुगु, कालीकोट, हुम्ला, जुम्ला र डोल्पा भइगयो, अनि बझाङ र बाजुरा पनि
देखिन्छ ।”
यतिबेलासम्म हाम्रो ६ जनाको टोलीको रहर भरिइसकेको थियो । ओरालो झर्ने बेलामा
तिनै व्यक्तिलाई पछ्याउँदै म पनि झरें । केहीबेर पछि उनलाई देख्न छोडियो, बरू पछ्याएको सजायस्वरुप
उल्टो बाटो पो गइएछ । मैले आफूलाई सच्याएँ र एकघण्टा पनि नलाग्दै होटल पुगिहालें ।
सबै आइपुगेपछि केहीबेर ताल वरिपरि घुम्ने सल्लाह भयो । यसको कारण हामीले वखत-वखतमा तालले रङ फेर्छ भनेको
सुनेका थियौं । र, केही रङहरू महसुस
पनि भयो । सुनेको कुराप्रति अधिक ध्यान भएर हो कि पछि त क्षणक्षणमै तालका फरक
रङहरू देखेको दाबी पनि गर्न थाल्यौं ।
यस्तैमा एकजना मान्छेले भने, “यहाँबाट के राम्रो देखिन्छ र ? बरू उ त्यो मुर्मा डाँडो जानु’भाको भए हुने ।”
“हेहेहे । हामी अघि
विहानै पुगेर आइसकेका ।” हामीले गजक्क पर्दै उसलाई उडायौं ।
“लु पत्याउनै
नसकिने कुरो । यतिबेलै कोही पुगेर पनि आइसक्छ ?”
उनले पत्याएनन् । जोशिंदै मैले विहान खिचेको तस्वीर देखाएँ, तर त्यो मान्छे भएको भिडियो
भने हराएको हो कि बिर्सेर आफैंले मेटेको हो देखिएन ।
होटेल छोडेर तालमा डुङ्गा चढेर अर्कोपट्टि जानु थियो । डुङ्गाका माझीहरू भने
परस्पर नबुझिने भाषामा गलफत्ती गर्दै थिए । भाषा नेपालीकै एक हाँगो भए नि स्पष्ट
भएन, परन्तु सार बुझ्दा एकले अर्कोलाई ‘साला’ भनेकोले विवाद भएको थियो ।
“तपाईँहरू हैन, बरू हामी सबै साला” भनेर हामीले सम्झाउँदै डुङ्गा
पार लगाइयो । डुङ्गाबाटै देखिने कञ्चन नीलो पानी, सेताम्मे हिमालका ताँतीहरू, अनि वरिपरिको हरियो जङ्गल । रारालाई यसै त “स्वर्गकी अप्सरा” भनिएको थिएन ।
फेरि जीप भेटियो, हिजो छोडेको
ठाउँभन्दा धेरै नजिक (यहाँबाट त ताल किनार पुग्न दश मिनेट लाग्दो हो बढीमा बीस
मिनेट) ।
अघिल्लो दिन घोडालाई गाडीले उछिनेकै मोडमा आइपुग्दा रत्न मिश्र भाइले मतिर
जिज्ञासा राख्यो, “हैन दाइ, कसरी तयारी गर्ने हो ? यस्तो गरी विहानै उठेर डाँडो
चढ्नुभा छ । हैन के गरेर सकिन्छ यो सब ?” (ऊ मुर्मा नगएर होटेलमै विश्राम गर्नेमध्येको एक थियो ।)
तालको कुनै एउटा रङ |
म केही भन्न शव्द खोज्न मात्र के लागेको थिएँ जमल र लक्ष्मणले यसबारेमा रोचक
कथा बनाइसकेका रहेछन् । कथा यस्तो थियो -
“उहिले द्वापर
युगमा यिनी (म) उड्न सक्थे । खै के बिगार गरेर उनको यो कला देवताले खोस्ने निर्णय
गरेछन् र उनले अनुनय गरेपछि देवताले एउटा शर्तमा उनको कला फिर्ता गरेछन् । ‘हेर् तँ उड्न त सक्छस्, तर तैंले कसैलाई थाहा दिन
पाउने छैनस् ।’ यसपछि यिनी हामी
सँगै हुँदा अलिअलि हिंड्छन् । अन यसो रूखले छेकेपछि भुर्र उड्छन् ।”
कथा यस्तो थियो र युग द्वापर रे ।
तर मैले यसो सोचिल्याउँदा कथा फापरयुगमा (जतिबेला त्यो पहाडी इलाकामा टन्नै
फापर फलेको होओस्) घटेको साँच्चैको घटना हुनुपर्छ । र उड्न सक्ने फापर-मानव त्यै जङ्गलबाट गायब मनुवा
हुनुपर्छ, जो मुर्माको डाँडोमा हामीलाई
संक्षिप्त दर्शन दिन झुल्केको थियो ।
हामीले घोडाचालक र सुरक्षाकर्मी लगायतलाई थप सोधेको भए केही पत्ता लाग्थ्यो कि
?
तपाईँहरू जीवनकालमा रारा अवश्य पुग्नुहुनेछ । फापर मानवको बारे सोध्नुहोला है !
Great Sir.
ReplyDelete