पाँचपोखरी यात्रा र केही अजीब कुराहरू
हरेक साल एउटा गन्तव्य जाने हाम्रो टोलीले यो पटक चयन गरेको ठाउँ थियो
सिन्धुपाल्चोकको पाँचपोखरी-थाङपाल गाउँपालिकास्थित पाँचपोखरी । समुद्र सतहदेखि
४१००मिटरको उचाइमा रहेको यो धार्मिक तथा पर्यटकीय स्थानको विविध सांस्कृतिक महत्व
रहेको छ । नाग कुण्ड, भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड र सूर्य कुण्डका
नामबाट चिनिने यी स-साना पोखरीहरूको
छेवैमा महादेवको मन्दिर पनि छ र त्यहींबाट उत्पन्न हुन्छ इन्द्रावती नदी । काठमाडौंबाट
२ दिनमै पुग्न सकिने यो ठाउँमा बस्न र खानको लागि त्यस्तो समस्या पनि देखिंदैन ।
छोटो पदयात्राको लागि उपयुक्त यो ठाउँको अन्य जानकारीतिर म केन्द्रित हुन चाहन्न ।
त्यस्ता कुरा अनेकौं ब्लग, भ्लग र युट्युवतिर छ्यालब्याल पाइने नै छन् । म बरु यस
यात्रा दौरानका केही मनोत्तेजक अनुभवहरू समेट्न चाहन्छु ।
माइक्रो बसले मन्दिरछेउबाट टिपेपछि हामी (प्रभातरञ्जन, अशोक, दीपक, मन्नु, जमल, लक्ष्मण, विशाल) सातजनाको सानो टोली “लाग्दैन धूलो गोडैमा, एमजी रोडैमा” लगायतका गीत सुन्दै बनेपा - बर्दिबासको बाटो लम्कियो ।
आजभोलि बसयात्रामा प्राय नेपाली कर्णप्रिय गीतहरू नै सुन्न पाइन्छ । पहिला भए कि त
पुराना हिन्दी गीत या त लामा नेपाली दोहोरीले काम चलाउँथे । सङ्गीतको कुनै भाषा त
हुँदैन तथापि नेपाली गीतसङ्गीतले पनि पछिल्लो समय गरेको प्रगति देख्ता रमाइलो
लाग्छ । यो बहस त्यो माइक्रो बसभित्र पनि अलिअलि भयो ।
जानुपर्ने काठमाडौंको जोरपाटी थियो तर हामी धूलिखेल ओह्रल्यौं र मेलम्ची
पुग्ने राय बनाउन थाल्यौं । तर धुलिखेलमा धुलो खेल्ने कुराइ लामो भयो । बल्लबल्ल एउटा
पुरानो बस आयो । यसै पनि त्यो भरिभराऊ थियो, त्यसमा हामी खाँदियौं । ‘क्षमताभन्दा बढी यात्रु बोक्ने’ भनेर बसको आलोचना गरिन्छ तर
त्यस्तो देख्तादेख्तै चढ्ने यात्रु पनि उस्तै त हुन् । यात्रुले पनि नचढेर के
गर्नु ? बाध्यता जो छ । बसका सहचालकलाई
भने मान्नैपर्छ, जति यात्रु आए
पनि मिलाएर (कोचेर नभनूँ) राख्ने उसलाई त बरु कर्मचारी
समायोजनको जिम्मा दिए हुने सरकारले । शिशुसहितका नारीदेखि बमन गर्ने खालका
यात्रीसम्मलाई मिलाएको छ । अरनिको राजमार्गको जिरोकिलोसम्म पुगेपछि बाटो
छुटिंदोरहेछ ।
मेलम्ची पुगेर रातको विश्राम मध्यमस्तरीय लजमा भयो । सुत्ने कोठाको छेवैमा
एफएम स्टेशन पनि थियो । अन्तर्वार्ता दिन जाने कि - हामीले एकअर्कालाई जिस्काएका पनि थियौं ।
बिहान एघार बजेतिर मात्रै जोरपाटीबाट आउने बसले हामीलाई टिप्नेवाला थियो ।
यसैले यसो खुट्टा तन्काउन भनी हामी निस्कियौं । इन्द्रावती नदीको ठूलो आकार थियो ।
झोलुङ्गे पुल हुँदै तरियो । बगरैबगर हिंडेपछि दोभानमा पुगियो । मेलम्ची खोला पनि
ठूलै रहेछ । यस्तै अर्को झोलुङ्गे पुलबाट इन्द्रावतीलाई पुनः तरियो र फेरि मेलम्ची
तरेर खाना खाने ठाउँ आइयो ।
सबै सीटहरू बुक गरेर डा. हेमराज गैरे आइसकेका थिए काठमाडौंदेखि । अनि सुरु भयो
कच्ची बाटोको रमाइलो यात्रा - तिपेनी, भोताङ, यार्सा हुँदै छिम्तीसम्म ।
मेलम्चीदेखि छिम्तीसम्मको बसमा बज्ने गीतहरू एकदमै रमाइला थिए । जस्तो कि केटो
भन्छ “आउँदैछु भेट्न, स्याउ ल्याउँ कि केरा ?” अनि केटी जवाफ दिन्छे, “पर्दैन केही ल्याउन, बरु म चैं खसी ल्याउँ कि
कुखुरा ?” यस्तै अरु २-४ वटा गीतहरू मेलम्चीकै
सेरोफेरो र पाँचपोखरीको वर्णन गरिएका गीतहरू थिए । मैले अनुमान गरें सङ्गीतबजारमा
यही स्थानको कुनै नामुद गीतकार हुनुपर्छ । एउटा पूर्णतः प्राकृतिक र धार्मिक बयान
गरिएको गीतको अन्तिम शव्द यस्ता थिए, “एकचोटि घुम्नु आउनुस् है यो ठाउँ, तर घुम्दा चै ………. बस चढेर ।” त्यो त हामी चढेकै बस थियो । बसले
धरि आफ्नो गीत निकालिसकेको रहेछ ।
बस गुड्दै जाँदा बसभित्र टमाटर खस्न थाले । भूँईभरि गोला-गोला, मोटा टमाटरहरू । खै कसका थिए
। तर एकजनाले टपक्कै टिपेर खान पो थाले स्याउ खाएजसरी । यो देख्ने अर्कोले सुझाव
दिए - ‘पखालेर खानुस् ।’ खानेले भने - ‘होस् । खाएर पखाल्छु ।’
छिम्तीको बस रोकिने ठाउँ नजिकै एउटा खोला थियो र त्यो तरेर ठाडो उकालो । एकदमै
गाह्रो बाटो । ठूलठूला ढुङ्गाहरू र अग्ला सिंढीहरू । मैले पदयात्रीको लागि अप्ठेरो
भनेको होइन । मैले त ती सानी नानीको लागि भनेको । उनी पाँच वर्षकी थिइन् ।
देउरालीबाट त्यही ओरालो झरेर हरेक दिन स्कूल जान्छिन् रे । अनि साँझ छिम्तीबाट
त्यही उकाली चढेर देउराली पुग्छिन् रे । म द्रवीभूत भएँ सहरका राजकीय बच्चाहरू
सम्झेर, जो घरको भर्याङ चढाउन-ओराल्न नि बाउआमाले दुई हात
नसमाती जान्दैनन् । मैले उनको तस्वीर लिएँ, मन भारी भयो । देशको राजधानीमास्तिरको बस्ती हो यो । तिनै
नानीका पितासँग हामी थियौं । एकाध घण्टा हिंडेर उनकै घरमा बास गरी बिहान ५ : ४५ बजे निस्कियौं हामी । टुपी
डाँडामा पुग्दा त होटल नै बन्द थियो । पानी खोज्दाखोज्दै होटलवाला छिरिङ आइपुगे र
चिया - चाउचाउ बनाइदिए ।
“टुपी डाँडा” नामको अर्थ केही होला कि भनी
टुपी खोजियो, तर टुपी कतै
देखिएन । हुन त पाँचपोखरी पुग्ने बेलाको अर्को नाम पनि त रमाइलो छ । लौरी विनायक ।
भन्नेहरूले “लौरी विना” भन्दा रहेछन् र किंवदन्ती के
छ भने पाँचपोखरी जाँदा यस ठाउँमा लौरी चढाउनुपर्छ र रित्तै जानुपर्छ - लौरीविना । सोचें, सूर्य विनायक र कमल विनायकमा
के गर्ने होला ?
जङ्गलको बाटोभरि पहेंलिएका पातहरू छरिएकोले हिंडाइको आवाज नै मनोरम बनेको थियो
। अंग्रेजीका पारखीले यसलाई ‘म्यापल लिफ’ भन्दाहुन् । दीपक दाइले यसको नेपाली गाउँले नाम बताउनुभयो - फदेलो । मलाई मीठो लाग्यो यो
नाम । एउटा फदेलोको पात मैले डायरीको पानाभित्र पनि घुसारें । मलाई त्यो पातभन्दा
पनि नामले मिठास दिइरह्यो । जङ्गल कटेपछि खोलामा विश्राम लिइयो । दुईजना माथिबाट तलतिर
झर्दैथिए । मैले नोश्यामपाटी पुग्न कति लाग्छ सोधिहालें । उनले भने, ‘दुई घण्टा लाग्छ’ ।
यात्रामा ‘त्याँ पुग्न कति
समय लाग्छ’ भनी सोध्नु नै
बेकार लाग्छ मलाई । मान्छेपिच्छे फरक हुन्छ समय । एकजनालाई सोध्यो, ‘पैंतालिस मिनेट’ भन्छ । पन्ध्र मिनेट हिंडेपछि
अर्कोलाई सोध्यो, भन्छ - ‘तीन घण्टा’ । तर यो पालि थप के अनौठो भयो
भने एउटै मान्छेले दुईथरि समय बताए । दुई मिनेटमै मुन्तिर बसेको मेरो साथीलाई चैं तीन घण्टा भनेछन् । खोला तरेपछि बाटो थियो ठाडो उकालो ।
यहींनेर चार अचम्मका यात्रुहरू भेटिए । उनीहरू नेपाली थिए तर विदेशी तरिकाका । उनीहरू
विभिन्न भेषमा थिए र पेशा पनि फरक फरक । ओढ्ने, ओछ्याउने, पकाउने - सारा कुरा साथमा थिए । हिंडाइ ठिकै हो तर बिसाउँथे मजाले ।
अँ, साथमा एउटा कुकुर पनि थियो ।
ड्रोन क्यामेराले दृश्यहरू खिच्थे, गाँजा र झ्वाइँखट्टे पिउँथे र जाडोमा पनि आधा-आधा पहिरनमै हिंडिरहेका हुन्थे
। बाटोमा उनीहरूले भने “हामीलाई केही हतार छैन । यसै पनि सहरको कोलाहलबाट केही समय
शान्ति मिलोस् भनेर त आएका हौं ।”
नोश्यामपाटीमा एकजोडी तामाङ दम्पतीकोमा हाम्रो बास भयो । तिनीहरूकी ३ - ४ वर्षकी सानी छोरी बिरामी
थिइन् । अर्कै खालको रुवाइ थियो उनको । टाउको दुखेको भनिन् आमाले । नजिकमा स्वास्थ्य संस्था छैन । त्यसमाथि आमाबाउ पनि फुर्सतिला छैनन् । र
उनीहरूले गम्भीरतापूर्वक लिएका पनि छैनन् । हामीमध्येकै केहि मित्रले लक्षण बुझेर उनलाई
औषधि दिनुभयो । (भोलिपल्ट स्वास्थ्य सुधार त भएछ तर चक्कु चलाएर तिनले हात पनि
काटिछिन् । हातमा सानो झुम्रो बाँधिएको थियो । मलाई लाग्यो यी बालबालिकाहरूको
संरक्षण प्रकृति स्वयंले गर्दो हो ।)
त्यो राति कुकुरवाला टोली पनि होटेलमै सुते । हामी सबेरै उठेर हेर्दा त साठी
कटिसकेका प्रेमिल दम्पतीजसरी कुकुरलाई पनि सँगै सुताएका थिए ।
शनिबार बिहान टोली पाँचपोखरी निस्कियो । खासै उकालो
त होइन तर पनि ढुङ्गैढुङ्गाको बाटो हिंड्दाहिंड्दै समय लाग्ने रहेछ । पाँचवटा
पोखरीहरू देखेपछि सारा थकान मेटियो । मास्तिर ‘भ्यू
डाँडा’ जाने सल्लाह दिइन् एकजना आमाले । त्यो डाँडाबाट मनोरम
हिमश्रृङ्खलाहरू देखिने अनि पाँचैवटा पोखरीलाई एकसाथ देखिने पनि रहेछ । मन
भरिउञ्जेल घुमेपछि हामी महादेवको मन्दिर गयौं, यो मन्दिर
इन्द्रावतीको मुहानमै बनाइएको रहेछ । यहाँ त इन्द्रावती नदी होइन ‘कुलो’ भन्नुपर्ने अवस्था थियो । यसपछि फर्कने क्रममा
नोश्यामपाटी पुगेर खाना खाइयो अनि टुपी डाँडामा स्थानीय स्वादको भाले खानको
लागि फोन पनि लगाइयो ।
सन्ध्याकालमा हामीमध्येका तीन जना टुपी डाँडा पुग्दाको माहौल ज्यादै अनौठो
थियो । नेपथ्यबाट एकजना संस्कृतका मन्त्रहरू उच्चारण गरिरहेका थिए । बेलाबेला घण्ट
र शङ्ख पनि बजाउँथे । धेरैबेरसम्म उनले पूजा गरे । हामीले उनलाई देख्न सकेनौं । तर
लाग्थ्यो कुनै कोटीहोम वा रुद्रीपूजा भइरहेको थियो ।
एकछिन पछि आगो ताप्न भनेर भान्छातिर पस्यौं । त्यसदिन होटल खचाखच थियो । आठजनाको
एउटा टोली र दुईजनाको अर्को टोली पाँचपोखरी जाँदैरहेछन् । हामी फर्किरहेकाहरूसँग
माथि जाँदै गरेकाहरूले केही जानकारी मागे । यस्तैमा एकजना विदेशी नारी पनि आगो
ताप्न पसिन् । उनी फ्रेन्च रहिछिन् । अर्को टोलीका मान्छेसँग उनले नजानी नजानी अंग्रेजी
बोलिन् । बरु ती नेपालीले गोराको भन्दा पनि बढ्ता जिभ्रो बटारेर सोधीखोजी गर्दै
थिए । यस्तो देख्ता मलाई लाग्छ - अंग्रेजी जान्नु त्यस्तो महानता हो र ?
'घरमै पालेको भाले' भन्दै ब्रोइलर कुखुराकै मासु नै खान पाइयो । हाम्रो जिभ्रोले
पत्याएन, होटलवालाले जिद्दि गरे ।
हामीले पत्याइदियौं ।
केही समयमा पूजाकर्ता पनि देखिए । फुलेर सेतो, कालो र खेरो मिश्रित दाह्री गुजमुजिएको कपाल अनि कम्मरमा
लँगौटीले उनलाई योगी भन्न सुहाउँथ्यो । उनै त रहेछन् ती फ्रेन्च नारीलाई लिई आएका अर्को
टोलीका भ्रमणकर्ता । कतै उनी तान्त्रिक त हैनन् ? राति पनि उनी त्यो जाडोको वास्ता नगरी अर्धनग्न भएर
डुलिरहेका थिए ।
अर्को दिन त झन् अन्धकारमै हिंडेर बिहानीको बस समात्यौं छिम्तीबाट काठमाडौं
जाने । यसरी हाम्रो यात्रा समापन भयो ।
हरेक यात्रामा केही नवीन अनुभव, नयाँ घटना र अजीब दृश्यहरू देख्न पाइन्छ । यसैले त यात्रा
गरिरहनुपर्दछ । अरुले गरेको यात्राबाट तस्वीर देखिएला, पुगेझैं अनुभव पनि होला; तर यस्ता अनौठा कुराहरू भोग्न
त आफैंले बाटो तताउनुपर्छ । अस्तु ।
पाँचवटा पोखरीको पृष्ठभूमिमा लेखक |
मुहानबाट निस्किएको इन्द्रावती नदी |
भ्यु डाँडाबाट देखिने हिमालहरू |
WOW
ReplyDeleteWOW
ReplyDelete