लाङटाङ पदयात्रा र अनुभवहरू
दशैँ सकिनासाथ यात्रा गर्नुपर्छ भन्ने सल्लाह थियो । तर दशैँलगत्तै करिब देशैभरिको मौसम यात्रा गर्न मिल्ने खालको देखिएन । यसैले केही दिन कुरेर मौसमलाई सङ्लो हुन दिइयो । यसपछि एक शुक्रबार धरानबाट काठमाडौँ लागियो । अचम्मको कुरा बिहान माइक्रोबस कुर्न खडा भएको ठावैमा एक थान लौरो भेटियो । कसैले मेरो यात्राको लागि सुटुक्क छोडिदिएको उपहार भन्ठानी त्यसलाई लिइहालेँ । अन्यथा कतै बाटोमा किन्नुपर्ने वा खोज्नुपर्ने हुन सक्थ्यो । यात्रामा सामेल हुने अरु दुई मित्रहरूलाई शनिबार नै हिँड्नुपर्ने प्रस्ताव राखेँ । रात्रिकालीन ऊर्जा लिएँ र शनिबार बिहानी माछापोखरीको लागि बाटो तताएँ ।
पहिलो दिन (काठमाडौँ - स्याप्रुबेसी - बाम्बु)
राम्रो खालको पर्यटक बसमा आरामदायी सीट पाइयो । भाडाचाहिँ हजार रहेछ । मेरो छेउमा यसपालि विदेशी पर्यटक थिए । पछिको सीटमा दुई जनासहित तीन जनाको टोली । यो यात्रा काठमाडौँदेखि रसुवा जिल्लाको स्याप्रुबेँसीसम्मको लागि र दूरी १२२ किलोमिटर अनि । करिब आठ बजेकलङ्की हुँदै थानकोट जाँदै थियो बस, यता मलाई थाम्नै नसकिने गरी पिसाबले च्याप्न थाल्यो । यस्तो अनुभव मैले कहिल्यै भोग्नुपरेको थिएन । बसको सहचालक भाइलाई विनयी अनुरोध गरीकन बाटैमा रोक्न लाएँ । झाडी, बुट्यान केही नखोजी बसकै पुच्छरपट्टि गएर हलुङ्गो भएँ । त्यो सकसपछि भने यात्रामा मिठास आयो । विदेशी मित्रसँग कुनै वार्तालाप भएन तर कुन देशको होला भनेर सोध्न भने उखुमै मन लाग्यो । यसै कुरा सुरु गर्न सकिनँ । धादिङ सकेर बस नुवाकोट पस्यो र मैले गोसाइँकुण्ड जाँदा जहाँ खाना खाएको थिएँ त्यहीँ खाना खाएँ । बेत्रावती बजार, कालिकास्थान, राम्चे हुँदै धुन्चे पुग्न अगाडि बस रोकियो केहि बेर । निकुञ्ज प्रवेशको लागि चेकिङ गर्ने र अनुमति पत्र दिनको लागि राहदानी लिइँदो रहेछ विदेशीको । राहदानीमा आँखा तन्काउँदा तिनीहरू इजरायलको भएको बुझियो । मैले पनि प्रवेश लिएँ रू सय तिरेर । धुन्चेमा विदेशीहरू ओर्लिए । सायद उनीहरू जाँदै थिए गोसाइँकुण्ड । धुन्चेपछि बाह्रघुम्ती नामको घुमाउरो बाटोमा हुइँक्याए चालकले । करिब अन्तिम घुम्तीसम्म एउटा अर्को बसलाई पछ्याए जसले धूलो उडाइरहेको थियो । अन्तिम घुम्तीमा घ्याच्च रोकियो बस । त्रिशुली नदीको किनारैको बाटोमा बस रोकिँदा डर पनि लाग्यो । चालक त बसबाट निस्किएर अर्को बसको चालकलाई हप्काउन गएका रहेछन् । बाटो नछोडेको र धूलो उडाएको आरोपमा । बसभित्रका एक वृद्ध सम्झाउँदै थिए ‘जाने त आखिर स्याफ्रु नै हो किन गलफत्ती’ भनेर ।
स्याप्रु पुगेपछि म निस्किएँ । साधारण जुत्तामै थिएँ । उपहारमा पाएको लौरो टेक्दै बजारको बीचैबीचको बाटो लागेँ । कुनै बोर्ड वा जानकारीमूलक नक्सा खोज्दै हिँडेको तर पाइएन । यहाँभन्दा माथि कुन बाटो जान्छ भनेर बजारको अन्तिमतिर सोधेँ । मेरो कल्पनाभन्दा फरक त्रिशुली नदी तरेर पो गइने रहेछ लाङटाङ । अलिकति तलतिर फर्केर म ओरालो झरेँ । गाडी चल्ने पुल तरेर धूलौटे बाटो अघि लागेँ । एक व्यक्तिलाई सोध्दा ‘रोड नछोडी जानू’ भन्ने सल्लाह पाइयो । अलि परबाट नदीका दुई शाखा देखिए । दायाँतिरको मूल नदी सायद त्रिशुली होला र बायाँको लाङटाङ खोला । यो खोला भनिए पनि विशाल नदी नै हो । दुईको सङ्गममै स्याप्रुबेसी पर्दछ । लाङटाङ पदयात्राको सहयात्री हो लाङटाङ खोला । सुरुवातका केही घण्टा त नदीको छेवैमा पानीलाई छुने गरी नै हिँडिने रहेछ । नदीलाई देब्रे पारेर निरन्तर हिँडियो । तीन बजे सुरु भएको थियो हिँडाइ । बिस्तारै अन्य पदयात्रीलाई पछि पार्दै म दोमेन पुगेँ । यहाँ कुनै विद्युतीय योजनाको निर्माण भइरहेको हुँदो हो । कङ्क्रिटका संरचना बन्दै थिए । दोमेनबाट बाटो उकालो लाग्यो । नदीसँग दूरी बढ्यो र जङ्गलभित्रको रमाइलोमा प्रवेश गर्न पाइयो । केही बेरमा पहिरो भन्ने ठाउँ आयो । यो ठाउँमा कतै पहिरो देखिनँ मैले । यसैले स्थानीय भाषाको कुनै शब्द “पाइरो” पो हो कि भन्ने लख काटेँ । किनकि अंग्रेजीमा त “पाइरो” नै लेखिएको थियो । त्यहाँबाट मलाई थाहा भए अनुसार बाम्बु पुग्नु थियो बासको लागि । सूर्यास्त भइसकेको जङ्गलको बाटोमा केही फर्कने यात्रुहरू मात्र भेटिएको अवस्था थियो । कतै रूख ढलेको थियो बाटैमा जसको मुन्तिरबाट निहुरिएर जानुपर्ने ।
जङ्गलमा झर्दै गरेका एक यात्रुलाई सोधेँ, “अब बाम्बु कति बेरमा पुगिएला?”
उनले मिनेट तोकेरै भने, “राम्रै हिँडे त पैँतालीस मिनेट । ठीकठीकै हिँड्नुभयो भने पचपन्न मिनेटजति ।”
गाडीको कक्रक्क बसाइले पनि थकान दिएको थियो । आखिर पचपन्न मिनेटै लागोस् भनेर गति घटाएँ र साँझको छ बजेर पाँच मिनेटमा बाम्बु पुग्ने लक्ष्य राखेँ । तर केही बेरमा घरहरू देखिए । बीचको कुनै स्टेशन सोचेँ । हिँड्दै गएको त आखिर बाम्बु त्यही रहेछ । ठूलो ढुङ्गामा उचाइ लिखित थियो २०००मिटर । समय हिसाब गर्दा पन्ध्र मिनेट मात्रै । खुसीको सानो लहर छायो । सबभन्दा माथिको लज गएँ सरासर । कोठा सोधेँ । एकजना मात्रै भनेपछि त्यहाँकी सानी साहुनीले केही अकमकाएर “बस्दै गर्नू, पछि मिलाउँला” भनिन् । चिया मगाएँ र आगोछेऊ न्यानो भई बसेँ । लाङटाङ खोलाकै एकदमै नजिक थियो यो । चिया खाजा खाने टेबलहरू पनि खोला किनारमै पो थिए ।
विराट आवाजका साथ छङछङ गरिरहेको थियो खोला । त्यहाँ अर्की एक जना महिला यात्रु पनि रहिछिन् एकल यात्रामा लागेकी । कोठको चाँजोपाँजो भयो । दुई जना ठिटाहरूसँग कोठा साथ गरियो । उनीहरूसँग राम्रो भलाकुसारी हुन थाल्यो । यात्राका गफहरू । उनीहरू त दोमेनसम्म जीपमा आएर हिँडेका रे । तर मभन्दा पछि आइपुगेका थिए । खाना खाने बेलामा एकल भनिएकी यात्रु र म सामुन्ने भयौँ । रङ रुप नेपाली भए पनि बोली अप्ठेरो खाले नेपाली थियो । विदेशीले बोलेजस्तै । कारण बाहिरै बसेको वा उतै जन्मेको या यस्तै केही होला कि भनेर सोधेँ । यो प्रश्न सोध्नुप्रति आफैँलाई नराम्रो पनि लाग्यो । जेसुकै होस् नसोध्नुपर्थ्यो मैले । उनले सबै कुरा नकारिन् । नेपालमै जन्मे-हुर्केको, नेपालमै बसेको भन्ने अर्थ लाग्यो । ‘अनि एकल यात्रा किन?’ यो सोधेँ । यो पनि उचित प्रश्न त थिएन । तर जवाफ पो रमाइलो लाग्यो । उनको केटासाथी एक दिन अगाडि निस्किएको रहेछ एकल यात्रामा र उनी एक दिन पछि । आहा कस्तो अनौठो रहर । दुई जना भएर पनि समय मिलाएर एकल यात्रामा । यस्तो गर्नुको कारण उनले भनिन्, “हामीलाई यस्तै गर्न मन लाग्यो ।”
गजब जवाफ ।
खानपानपश्चात् आरामपूर्वक सुतियो ।
दोस्रो दिन (बाम्बु - क्यान्जीङ)
बिहान मीठो रोटी खाइयो, चिया र सब्जीका साथमा । करिब छ बजे मैले बाटो तताएँ । सुरम्य पहाड । माथिबाट झरिरहेका खिरिला झरनाहरू । जङ्गल । चराहरूको आवाजसँगै लाङटाङ खोलाको मधुर ध्वनि । अझ काठे पुल भएको सहायक खोला । ढुङ्गामा पानी निरन्तर ठोकिएर पानीको रङ पुरै सेतो लाग्ने । पुल भनिने ठाउँमा खोला तरियो र अब भने खोला बन्यो दाहिनेतिर । पहिरोको बिसिलो बाटो र सानो उकालो सकिएपछि रीम्चे (२४४०मि) आयो । अनि केही बेरमा प्रसिद्ध लामा होटल (२५१५मि) । यो ठाउँमा पनि तीन-चार ओटा होटलहरू थिए तर ठाउँकै नाम नै लामा होटल भइसकेको । सायद सबै होटलहरू लामाकै थिए । कुनै एकमा पसेर मैले दुईटा अण्डा र चिया खाएँ । यसो मूल्य बुझ्नलाई सोधेको उसिनेको एउटा अण्डाकै सय रुपियाँ रहेछ ।
“हामीले नि बोकाएर ल्याउने हो । सबै गर्दा हामीलाई नै चालीस पर्छ, साठी नाफा राखेको हो ।” साहुजीले भने ।
अलिक ऊर्जा लिएर म सुस्तरी बाटो लागेँ । ओझेलबाट घामको किरणमा पुगियो करिब ८:४०मा । तेर्पाया तेर्पाया नै लाग्यो बाँकी बाटो । नदीको किनारैमा अवस्थित ठाउँ थियो जसलाई नाम दिएको रिभर साइड (२७९०मि) । सामान्यतः यात्राको दोस्रो दिन यहाँ बास बस्ने जानकारी गइसकेका यात्रुहरूले मलाई दिएका थिए । करिब पन्ध्र मिनेटमा फलामे पुल तरियो र खोलाको अर्कोतिर पुगियो । पानीको आवाजले मन पुलकित । त्यसमाथि पुलभरि अनेक बौद्ध लिपिअङ्कित लुङ्दरहरू । ससानो एउटा उकालो आयो । थकित हुनेगरी चढेपछि सानो घाँसेचौर आयो । हिमालहरूको मुहार देख्न पाइने ठाउँ । वरिपरि अग्ला पहाडहरू अनि अलि पर हिमाल । बाटो फराकिलो । केही बेर त्यहाँबाट पनि हिँडेपछि अझ ठूलो पुलबाट खोलालाई फेरि तरियो र केही भिरालो गेग्रेन बाटो कटेपछि पुगियो घोडातबेला (३००८मि) । घोडाहरू त थिएनन् तर नाम यही । यहाँ मैले लगाएका कपडा, जुन पसिनाले निथ्रुक्क थिए, तिनीहरूलाई फेरेँ अनि खानाको बन्दोबस्त गर्न लगाएँ । स्वादिलो खाना खाइयो । हुनलाई आलु-बन्दाको तरकारी, पातलो दाल र साधारण चामलको भात हो, तर हिँडाइले र त्यो वातावरणले होला जिभ्रोलाई भने मिठास दिने ।
यहाँको विश्राम लामै भयो । अनि सुस्तरी पाइला उकासेँ । अगाडि त हिमालहरू र विशाल पहाडहरूको दृश्य कायमै थियो त्यसमाथि बाटो पनि एकदम सहज खालको । न त उकालो न त ओरालो । अलिअलि उचाइ लिइरहेको बाटो । वरिपरि हरियाली कायमै थियो । हरियाली मात्रै होइन ‘रातोयाली’ भने हुने, कुनै जातको फल लागेका राता रूखहरू टन्नै देखिन्थे । यसरी क्रमशः हिँडाइ जारी राखेर म थाङ्स्याप (३२०५मि) पुगेँ केही क्षण बिसाएँ । पाइपबाट पानी पिएँ । यसपछि अर्को स्टेशनमा बिसाउँदा त्यहाँको साहुनीले सोधनी गरिन् । “कहाँसम्म जाने?”
मैले आफूलाई अझ कति टाढा छ भन्ने जानकारी नभए पनि भनिदिएँ, “क्यान्जीङसम्म पुगिएला कि?”
“लौ सेवकथनको जुस खाऊ, इनर्जी आउँछ” भनेर उनले उकासिन् ।
नयाँ चीजको स्वाद लिइहालूँ भनेर मैले मगाएँ ।
सुन्तला रङको चीसो रस ल्याइदिइन् । एकदमै स्वादको लाग्यो यो । म पछिका चार जना यात्रुहरूले पनि मेरो ख्वाइ देखेर मगाइहाले । साँच्चै ऊर्जा नै पो आएको हो कि जसरी म लुरुलुरु हिँडे । लाङटाङ गाउँ (३४२०मि) पुग्दा पौने दुई बजेको थियो । यहाँको बजारकै बीचबाट बाटो थियो । घरहरू अलि बाक्ला । यहाँनेर २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पको दुःखद घटनाको सानो स्मरण गर्नैपर्छ । हाल बनेको बस्ती नयाँ हो । पुराना संरचनाहरू हिमपहिरोमा पुरिएको थिए । २४३ जनाले ज्यान गुमाएका थिए । लाङटाङ लिरुङको दक्षिणी मोहडाबाट आएको हिमपहिरोले गावैँ सखाप पारेको थियो । खासमा यो गाउँदेखि तल भेटिएको गुम्बाबीचमा रहेको थियो रे पुरानो बस्ती । अहिले त्यहाँ उजाड पहिरो देखिन्छ ।
म पाइला चाल्दै थिएँ फेरि एक साहुनीले सोधिहालिन् । मलाई थाहा भएअनुसार अब बाँकी भनेको उही क्यान्जीङ गोम्पा हो । यसैले त्यहीँ पुग्ने भनिदिएँ । बाटोमा आगन्तुकलाई रोकिहाल्न यता सबै लागिपरेका हुँदारहेछन् । त्यहाँ माथिबाट अर्की सानी साहुनी आएकी रहिछन् । उनी प्रकट भइन् र “हाम्रोमै बस्नुपर्छ” भन्न थालिन् । ठीकै छ नि त भनेर म रोकिएँ । अरु चार यात्रुलाई पनि उनले रोकिसकेकी रहिछन् । तिनीहरूले खाना खाइसकेपछि बिस्तारै जाने सल्लाह भयो । सानो कुराकानी भयो केटाहरूसँग । रमाइलो साटियो । उनीहरू युवावयका जोशिला थिए । सायद उपत्यकाबाटै आएका ।
मलाई त्यहीँ चिया पनि खुवाइयो (जसको पैसा पनि लिइएन । अन्यथा सय वा डेढसय थियो होला मूल्य) । तर ढिलो भने गरियो । करिब एक घण्टा गफगाफ वा विश्राममा बित्यो । एक जना भाइ पनि थियो जसले अर्को यात्रुको झोला बोक्यो । दुई किलो आलु पनि लानु रहेछ सानी साहुनीलाई । त्यो आलुको सानो झोला मैले बोक्ने भएँ र मेरो झोला उनले बोकिन् । धरानको भन्नासाथ फेरि आफ्नो बोयफ्रेन्ड पनि धरानकै भएको नाता गाँसिसकेकी थिइन् । आफ्नो होटलको कार्ड दिइन् जसको पुच्छरमा “पाहुना बनी आऊ, साथी बनी जाऊ” लेखिएको थियो । जे होस् करिब तीन बजेतिर सात जना बाटो लाग्यौँ ।
यति नै खेर त्यहाँ आयो हेलिकोप्टर । दुई फन्का लाएर बस्यो । लेक लागेको कुनै विदेशीलाई लिन आएको रे । त्यसको फोटो भिडियो खिच्न थाल्यौँ हामी । गति घटाइयो, गफ बढाइयो । सुस्त सुस्त पाइला चालियो । चारमध्येका दुई घोडा कुदेजसरी कुदेका । साहुनी फेरि उता अर्कैले ग्राहक लगिदेला भनेर चिन्तित । पछिका पनि नछुटुन् भन्ने थियो उनलाई । बीचमा हिँडिरहेकी । बाटोभरि बौद्धधर्म जनाउने मानेहरू । अनि समथर खालको बाटो । पर सेतो हिमालमा सूर्यास्तको मनोरम दृश्य । बाटोमा एउटा ढुङ्गोलाई साहुनीले ढोगिन् त्यो हात्तीको सुँडजस्तो थियो । उनले हात्तीको आकृति भएको यहाँदेखि त्यहाँसम्म हो भनेर देखाइन् । हामीले पनि ढोगिदियौँ । बाटोको एउटा सानो पसलमा चियापान पनि भयो र केही मिनेट बिसाइयो पनि । यस्तै भेटेजति बिसाउन मिल्ने स्थानमा बिसाउँदै पछाडिका यात्रुलाई कुर्दै गरियो । अगाडि पुगेकालाई साहुनीले बहिनीलाई अलिक वर आएर लग्न फोन गरिन् ।
एउटा गुम्बा खोला र फुस्रा डाँडाहरू भएको ठाउँमा पुगियो । सानो विद्युत परियोजना रहेछ । जसमा पानी ल्याउने नालालाई पनि कपासले बेह्रिएको थियो । नत्र पानी जम्न सक्थ्यो र बिजुली निकाल्न गाह्रो । त्यो पावर हाउस नाघेर अलिकति उकासिएको ढिस्कुरो उक्लियौँ । टुप्पोमा पुग्दा मनै फुरुङ्ग । ओहो यहाँ पो लुकीबसेको रहेछ क्यान्जीङ अथवा क्यान्जीङ गोम्पा (३८००मि) भनिने सानो सानो बस्ती । नीला जस्तपाताले छाएका झ्यालैझ्याल भएका थुप्रै घरहरू । जाँदै गर्दा कतैबाट पनि नदेखिएको त्यो बस्ती अकस्मात् झुल्किँदा मनै हरर भएर आयो ।
साहुनीले सरासर आफ्नो होटलमा हामीलाई पुऱ्याइन् । सामान्य बसाइ र तातो पानी सेवन सुरु भयो । मलाई साहुनीका पितासँग सुत्ने कोठा दिइएकोले केही बेर आराम गरेँ । यता भान्छाकोठामा सुरु भयो जोशिला युवाको नाचगान । मलाई आत्मीय सम्मानसाथ बोलाए अनि उनीहरूको नशालु नाचहरू हेर्न थालियो । सानो गिटार लिएर “लेकाली चोयाको डोको……… आँखैमा गाजलु लपक्कै………..” को भाकामा छमछमी नाच्न थाले फुर्तिला भाइ । अरु साथीहरू जोशिँदै गाउन थाले । वातावरणै रमाइलो बनिहाल्यो ।
अब यिनै चारजना मेरा साथी बने । सल्लाह भयो भोलिपल्टको योजना । नजिकै दुई डाँडाहरू थिए । दुईभन्दा नि तीन भने हुने । पहिलो र दोस्रो गाँसिएका डाँडा क्यान्जीङ री तल्लो र माथ्लो । उचाइ करिब ४५००(इन्टरनेटमा कतै ४७७३ र कतै ४६०० उचाइ दिइएको) मिटरको, अनि अलिक टाढा चेर्को रि । यसको उचाइ पनि कतै ४९८४ र कतै ५०८० लेखिएको पाएँ । यसको भने ज्यान खैरो फुस्रो तर टुप्पो सेताम्मे थियो । उनीहरूमध्ये कोही पहिलोपटक आएका अनि थकानको कारण पनि क्यान्जिन री चाहिँ चढ्ने भनियो । मैले पनि आखिर डाँडै न हो भनेर चेर्को रिलाई पन्छाएँ ।
सुताइ मजेदार भयो । साहुबा पनि आएनछन् । एक्लै निदाइएछ ।
तेस्रो दिन (क्यान्जीङ - क्यान्जीङ री - क्यान्जीङ - बाम्बू)
बिहान कसैले ढोका ढक्यायो । उनी थिए अर्का पर्यटक, जो चार भाइसँग परिचित थिए, मसँग परिचय नभइसकेको । चार भाइलाई उठाउन खोजेका रहेछन् । मैले पनि क्यान्जिन री त जाने तर खाजा खाएर भनेँ । उनीहरू बाटो लागे । हामी पाँचले हिजैको सल्लाहअनुसार दुई अण्डा र चिया लियौँ । गोजीमा केही चकलेट खाँदेर तयार भइयो । तिनीहरूमध्ये कोही कहिले झोला, कहिले टर्च, कहिले स्पिकर खोज्ने गरेर ढिलो गर्दै थियो । जे होस् ५:२५ भयो होला टोली उकालो लाग्दा । उनीहरूको बीचमा थिएँ म । बाटो अस्पष्ट । कहिले दायाँको तेर्सो, कहिले बायाँ, कहिले काँडेदार बुट्यानलाई पक्रेर उकालो । किनकि अँध्यारोले पदछापहरू देखिएको थिएन । हिँडाइ उनीहरूसँग नमिल्दो भयो । अलिक कुद्ने केटाहरू त माथि पुगेर पर्खिन थाल्थे । बिसाएर एक घुट्को पानी दिए । खाँदै गफ गर्दै हिँडियो । एक ठाउँमा उनीहरू गएको भन्दा सोझो तर ठाडो उकालो भेटेर मैले उछिनेँ । त्यो उछिन्याइ त कस्तो भयो भने उनीहरू तलै परे मसँग दूरी बढ्दै गयो । स्वीस र फ्रेन्च पर्यटकसँग नमस्ते भन्दै म अझ अगाडि लागेँ । एउटी पर्यटकले यसो बाटो दिइन् र हाँस्दै भनिन्, “Namaste. Keep Running.”
म भने आफ्नो सामान्य गतिमा हिँडिरहेको थिएँ । जब पहिलो टाकुरा पुगियो करिब एक घण्टा भएको थियो । त्यहाँबाट सेता हिमचुचुराहरूको सपाट दृश्य देखियो । भरखर घामले छुँदै गरेको त्यो मनमोहक दृश्यको बयान शब्दातीत छ । मुस्काइरहेका जस्ता लश्करै थिए हिमालहरू । नाम प्रष्ट त थाहा भएन । सबभन्दा उँचो लाङटाङ लिरुङ (उचाइ ७२४६ मिटर) चाहिँ चिनियो र अर्को सायद किमशुन (६७४५मि) हो । दक्षिणतिर दोर्जे ल्हाक्पा (६९६६मि) र अरु हिमशिखरहरू ।
अनि अगाडि जाने बाटो देखियो खिरिलो, पहिरोको छेउमै भएको, धमिलो । डरै लाग्ने । त्यसमाथि शीत परेको बाटो । तर जब हिँड्दै गइयो त्यति बिसिलो पनि थिएन । त्यहाँ चार जना यात्रीहरू उक्लिँदै थिए । दोस्रो टाकुरोको लागि उनीहरू चार कमिलाजसरी हिँडेको परैबाट देखेँ । केही क्षणको हिँडाइले भेट जुरायो । आखिर उनीहरू उही होटलबाट निस्केका थिए । मलाई बिहान उठाउने अंकल पो । ताजुब माने यति छिटै भेटेकोले ।
अब यिनीहरू मेरा साथी भए । उमेर ५८ वर्ष, घर मनाङ । साथमा पत्नी छोरा र छोरी । यस्तो पो त यात्रा । पूरै परिवार हिमाल हेर्न लम्किएका । उनीहरू अर्को दिन बाउछोरा मात्रै चेर्को रि चढ्ने योजनामा थिए आमाछोरी हिँड्न नसक्ने भएकोले । अनि उनीहरू सरासर काठमाडौँ नफर्किएर त्यताबाट गोसाइँकुण्ड गएर फेरि फन्को मारेर हेलम्बु हुँदै काठमाडौँ आउने । यो करिब बाह्र-पन्ध्र दिनको यात्रा हुने मेरो अनुमान थियो । बात मार्दै हामी चढ्न थाल्यौँ । गफिला अंकलले सोधे, “एक्लो यात्रा मजा कि सामुहिक?”
मैले भनेँ, “दुवैका फाइदा छन् । साथीहरू नहुँदा फोटो खिच्न चाहिँ नमिल्ने ।”
“त्यसको लागि त बाटोमा कोही भइहाल्छन् नि । अब ऐले हामी खिच्दिउँला । बरु डर लाग्दैन र?” उनको जिज्ञासा ।
“खै डराउनै पर्ने के हुन्छ र यो पदमार्गमा?”
मैले गफैगफमा अघिल्लो दिन भेटिएकी जिभ्रो बटार्ने केटीको कुरा गरेँ ।
उनी पनि छक्क परे । केही बेर उनीहरू बिसाउन थाले । मेरो गति पनि उस्तै थियो । उकालो काटेर चुच्चोमा पुग्दा “ल दाइ बधाइ” भन्यो भाइले । ऊ अघि नै पुगिसकेछ । हामी घुमीघुमी फोटोहरू खिच्न थाल्यौँ । केही बेरमा मात्र अंकल, आन्टी र बहिनी आइपुगे । उनीहरूको पारिवारिक तस्वीर मैले लिइदिएँ । मेरो उनीहरूले । खाजा र पानी पनि खुवाए । कफीको लागि भने कप रहेनछ । चार वटा आआफ्ना कपहरू मात्र थिए । केही समय बिताउने र झर्ने उनीहरूको योजना थियो । म पनि चार पुराना साथीहरूको प्रतीक्षामा थिएँ ।
आधा घण्टासम्म त्यहाँ रमाएपछि झर्ने मनसाय राखेँ । झर्ने बाटो अर्कैतिर थियो । आएको बाटो झर्न मन पनि थिएन ।
घाम उदाइसकेपछि माथिबाट त्यो क्यान्जिन बस्ती अलौकिक देखिने । करिब पचासदेखि साठी घर त होलान् । गुजमुज्ज परेको । बाँकी उजाड । अलिक तलतिर लाङटाङ खोला । अनि पहरेदारजस्ता विशाल हिमालहरू ।
म कोठामा पुग्दा साँढे नौ भइसकेको थियो । एक भाइ त त्यहीँ पो देख्छु ।
“दाजु मैले त सकिनँ । पेट दुख्यो । अरु गए । म फेरि जान्छु दिउँसो ।” उनले भने ।
“ल भाइ, म चाहिँ फिर्ति लाग्छु” भनेर पैसो तिरेर म लम्किएँ ओरालो अब ।
यात्राको मिठास मनभरि सँगाल्दै सुस्त गतिमा झर्न थालेँ । एक वा डेढ घण्टापछि हिजोका भाइहरू भेटेँ । तिनीहरूको मनोबल बढाइदिँदै म हिँड्न थालेँ ।
मुन्दुममा तीन बच्चाहरू दाइ साह्रै भोक लागेको छ चकलेट दिनू भन्न थाले । भोकै त अवश्य थिएन तर चकलेट मसँग थियो नै कसैले प्रेमपूर्वक दिएको । मैले पनि प्रेमपूर्वक उनीहरूलाई बाँडिदिएँ । ल याहू गर म फोटो खिच्छु भनेपछि फुरुङ्गै भए । उनीहरूले नाम पनि सोधे । मैले पनि सोधेँ । पर पुग्दासम्म “थ्याङ्क्यू…” भनिरहे । म हात हल्लाउँदै लम्किएँ ।
लाङटाङ गाउँ आएपछि निःशुल्क चिया खुवाउने आन्टीकोमा जान मन लाग्यो । हुन त बाटैमा थियो घर । तर बिर्सेला कि भनेर हरेक घर चियाउँदै पुगेँ । सेबकथर्नको झोल पैसो तिरेर खानुथियो मलाई निःशुल्क पिएको चियाको मूल्य यसरी तिर्नु थियो । तैपनि उदार साहुनीले साविकभन्दा (हिजो खाँदा २०० थियो) आधा नै लिइन् । धन्यवाद दिँदै बाटो लागेँ ।
बल्ल पो एउटा सूचना पाटि देखियो यो जुस दिने फल सेवकथन होइन सी-बक-थर्न (Sea Buck thorn juice) रहेछ । यसको थुप्रै फाइदाहरू उक्त पाटिमा लेखिएको थियो ।
म खाङस्याप आउँदा एक बजिसकेको थियो । यहाँनेर समयको तुलना गरेँ । हिजोको दिन म यहाँ आउँदा बाह्र मात्र बजेको थियो । यसरी उही समय लाग्ने हो भने म बाम्बू पुग्दा साँझको सात बज्ने हिसाब निकालेँ । क्रमशः झर्दै गएँ । बाटो ओरालो भएकोले गति अलिक बढी हुँदो हो । यात्रुहरू बाटैभरि । विशेषगरी विदेशीहरू । गह्रौँ भारीले थिचिएका स्वदेशीहरू । पानीको भाँडो कतै हराइसकेको थियो अस्ति नै । त्यसैले बाटोमा भेटिएका हरेक साना कुलेसा वा खोलाहरूमा तनतन पानी पिएँ । त्यस्तो स्वादिलो पानी कहाँ पाइयोस् ।
रिभरसाइड नपुगी भेटिएको होटल वुडल्यान्ड सायद ठाउँको नाम हो । यहाँ पीरो चाउचाउ खाएँ । पानी पिएँ । अनि सुस्त सुस्त झरेँ । लाङटाङ खोलालाई त्यो दिनको तेस्रो पालि तर्दा पाँच बज्न पाँच मिनेट । अनि बीस मिनेटको थकित हिँडाइपछि पुगियो बाम्बु ।
पहिलो होटलमा त कोठै दिएनन् । जाँदा त्यहीँ ससम्मान बसेको नाता काम लागेन । दोस्रोमा पनि आनाकानी ।
“कम्तीमा दुई जना त हुनु,” भन्छिन् साहुनी त । हुन पनि चार जना सुत्ने कोठा एक जनालाई दिएपछि तीन खाट रित्तै । अनि ग्राहक नै नअडिने । तैपनि आस देखाइन् । कफी खाएँ । एकजना जापानीज यात्रुको भरिया+पथप्रदर्शकसँग गफिएँ । आगो ताप्न थालेँ । वाइफाइ मागेँ साहुको छोरो सानो भाइसँग ।
मसँग जान समय नमिले पनि ‘कता कता पुगियो दाइ’ भनेर मेसेज पठाएको रहेछ भूमेश भाइले । बल्ल त समय मिल्यो जवाफ फर्काउने । ओहो! संयोगको लीला । उनीहरू दुई जना त्यहीँ पो रहेछन् । पहिलो होटलमा ।
तुरुन्तै भेटघाट भयो । फकाइफुल्याई साहुनीबाट बिदा भइयो र पहिला कोठा नदिने होटलमै पुनः पुगियो । मेरो स्नातक पढ्दाको साथी अनूप पनि आएपछि खानपान र रमाइलो बिछट्ट भइगयो । यस क्रममा के भइदियो भने त्यो रहस्यात्मक लौरो भने छुट्यो । सोचेँ कोही आउनेछ यही पदयात्रामा र त्यसले फेरि लाङटाङसम्म उसलाई पुऱ्याउनेछ । आखिर यात्रीको यात्रा पो टुङ्गिन्छ लौरोको यात्रा त कहाँ टुङ्गिन्छ र?
“बिहान त जतिबेला उठियो उतिबेलै बाटो लाग्ने हो ।” अनूपको भनाइ ।
“हैट् दाइ । तपाईँ चार बजेर एक्काइस मिनेटमा उठाउनुहुन्छ ।” भूमेशको भनाइ ।
“बिहानै त नहिँड्नू । भालू आउँछ ।” साहुनीको सतर्कता ।
मेरो मनमा पनि डर पस्यो । आखिर म झर्ने बाटो नि जङ्गल नै थियो ।
चौथो दिन (बाम्बू - स्याप्रुबेसी - काठमाडौँ)
भालुको डर र अनूपसँगको गफले गर्दा भोलिपल्ट यात्रा सात बजे मात्रै सुरु भयो । उनीहरू लम्किए उँभो र म उँधोउँधो । जाने बेला बाँसको लौरो मेरो लागि पनि कसैले जमिनमा गाडिदिएको थियो । त्यसकै सहारामा चीसो बतासको मनोरम बिहानीसँग ओरालो भरेँ । यो यात्राभन्दा केही दिन अगाडि पारिजातको चर्चित किताब शिरीषको फूलकी नायिका सकम्बरीलाई सम्बोधन गर्ने कविता “”प्रिय सकम्बरी लेखेको थिएँ । यसैले किताब झोलामै थियो । कतै पनि यसलाई झिक्न, पढ्न वा तस्वीर लिन भ्याएको थिइँन । अब भने फुर्सत मिल्यो । रूखको आडमा रहेको ढुङ्गामा राखेर फोटो खिचेँ ।
दुई घण्टाजतिमा दोभान आयो । मूल त्रिशुलीमा गई लाङटाङ मिसिने । अनि ठूलो नदीको पुल तर्ने बेलामा एकदमै युवावयका पाँच छ यात्रुहरूमध्येको एकले सोध्यो, “दाइ लठ्ठी किन्न पाइन्छ माथि कतै?”
“माथि त थाहा भएन । लाने भए यो लानुस् ।”
उसलाई भने पनि ऊभन्दा अगाडिकी केटीले धन्यवादसहित लौरो लिई । म रित्तो हात पाँच मिनेट हिँडे । अनि त काठमाडौँको लागि बाटो तताइहालियो ।
Comments
Post a Comment