तेस्रो शृंखला (पात्रको खोजीमा)

१.मेरा पात्र पुस्कर शाह (अघिल्लो शृंखलामा उनको अन्तर्वाता एफ एममा सुनेर उनी पात्र बनेका थिए) मेरै अगाडि बोल्दै थिए | "मलाई एक छाक खानुको न समस्या हो, जहाँ पुग्थें त्यहीं खानाको जोहो गर्थें | उदाहरणको लागि आजै मैले यहाँहरूलाई एक छाक खुवाउन आग्रह गरें भने कति जनाले खुवाउनु हुन्छ त ?"
अडिटोरियम हलभरि खचाखच दर्शकहरू थिए | अगाडि पुष्करजी खानको याचना गर्दै थिए | दुईतीन जनाले हात उठाएको देखियो | उदाहरणकै लागि मात्रै पनि भीडका जम्मैले हात उठाएको भए के जान्थ्यो र ? आखिर उनको आशय विश्व यात्रामा निस्कदाको अनुभूतिलाई उदाहरणले स्पष्ट पार्नु मात्रै थियो | कठै तपाईं हाम्रो संकुचित मनहरू !२. एउटा गित थियो र गीतसँग गाँसिएको संगीत थियो | त्यसले सम्झाउने क्षण थियो | त्यो क्षणको मधुर आकृति थियो | त्यस आकृतिलाई पछ्याउने फरक अवयवहरू थिए | ती अवयवहरूका ससाना अवशेषहरू थिए | त्यस्तै अवशेषहरू समाविष्ट मीठा पलहरुको थुप्रो थियो | प्रत्येक पलसँग गाँसिएका विचारहरू थिए | ती विचारलाई संग्रहित गर्ने योजना थियो | त्यस्तो योजना बोकेको योजनाकार थियो | र, त्यो योजनाकार नै मेरो पात्र थियो | तर आखिर यी सबै भर्च्युअल प्रणाली त्यही हार्डड्राइभमा सुरक्षित थियो जुन नबन्ने गरी बिग्रेर गयो | कठै मेरो पात्र !
३.बसको एउटै सिटमा एकजना शिक्षित हजुरमा भेटिनुभयो । उहाँसँगको पैंतीस मिनेटको कुराकानीको सार यस्तो थियो ।
----
कति राम्री पो थिएँ नि के भन्छौ र ! मेलाबजारमा केटाहरू भुतुक्कै हुन्थे । हेर्न मात्रै पनि कति आउँथे । अरुको भन्दा हलक्कै बढेको जीउडाल, सलक्क परेका गोडा । लाउन त सामान्य पहिरन हो, त्यैपनि उँचा उभार र कसिलो नितम्ब । रामराम ! ती दिनका कुरा । सिनित्त कोरेको कपालबाट तप्केको पानी देखेर कतिले गीत रचेथे, बारुली कम्मर जोडेर नाच्न तम्सेथे, आकासका तारा खसाउनेहरूले तोरीबारीमा पहेलिएका फूलहरूसँग तस्वीर खिचिमागेथे । खै अब त बूढ्यौली लागेपछि के चासो हुँदोरहेछ र बाबु । उमेर हुँदै गर्नुपर्ने रहेछ जे गर्नु । जीवनको भोग उमेरमै गर्नुपर्ने सृष्टिकै नियम होला, त्यो बेलाको जस्तो जोश, अनुराग र उत्तेजना अहिले किन नआएको हो ? बुझ्न सक्तिनँ म । हेर्छु आफैंलाई, कता पुग्यो त्यो छछल्किंदो जवानी ? कता हराए हृष्टपुष्ट शरीरका चञ्चल अवयवहरू ? कता सुक्यो त्यो तिर्खा ? नीरस भैसकेपछि, जवानीको मिठास सुकिसकेपछि, शरीरको इच्छा मरिसकेपछि केही कुराको वास्ता नलाग्दोरहेछ । त्यो प्रेम, माया, स्नेह कति हो कति ? अगिपछि लाग्नेहरूलाई वास्ता नगरी जिन्दगी यतिकै बित्यो । वैराग लागेर आउँछ नि अहिले त । जवानी भनेको दुई दिनको त रहेछ नि । उ: बेला मेरा यी ओठ सुक्लान्, गाला चाउरी पर्लान्, रङ् फुङ्ग उड्ला, कपाल सेतै फुल्ला भनेर कहिले सोचियो र ! पुराना कुरा सम्झिंदा अहिले पनि काउकुती लाग्छ नि । अब त खै त्यो बेला फर्केर आए पनि केही गर्न सकिन्न होला । जीवनको असिम खुसी त्यै हो जतिबेला शरीर र मनले मागेका सपनाहरूको टाकुरामा उभिएर क्षितिजलाई आफ्नै हातले छुन सकिन्छ ।
----------------------------------------------------
एउटी वृद्धाको स्मृतिमा उनको युवतीकाल । पात्रको खडेरी यिनले टार्ने हुन् कि?
४. वर्षौपछि अकस्मात् ऊ झुल्किई | उजाड समय, रङहीन सोचाइहरू, अस्थिर अभिलाषाहरूको माझमा वर्षौंअगाडि त्यसरी नै ऊ झुल्किएकी थिई | र, ऊ झुल्किनासाथ समय फक्रिएको थियो, सोचाइहरू इन्द्रेणीएका थिए अनि अभिलाषाहरू स्थाना भएका थिए | फगत एक निमेषका लागि सन्ध्यामा सूर्योदय भएको थियो, मेघाच्छन्न गगनमा ताराहरू चलमलाएका थिए | मेरो पात्रले पुराना ती दिनहरू सम्झेर ल्यायो |
वर्षौंअगाडि ऊ अस्ताएपछि फेरि उदाउँदासम्मको अतितद्योतकलाई सरसर्ती हेर्यो | आहा ! सर्पले मात्र होइन मान्छेले पनि काँचुली फेर्दोरहेछ | र, मेरो पात्रले फेसबुकमा स्ट्याटस राख्यो, "पुराना ती दिनहरू सम्झेर हाँस्न बाँकी छ |"
५. मेरो पात्र वाक्पटु थियो, सुन्दर होइन | शिष्ट तर अलि रोमान्टिक | पहिला खुल्दैनथ्यो तर नजिकिदै जाँदा प्रेमपूर्ण वार्तालापमा सरिक हुन्थ्यो | उसले एक दिन कामकै सिलसिलामा त्यो सुन्दर स्त्रीलाई देख्यो | तिनीहरूले परिचय गरे | मित्रताको हात बढाए | फोनसम्पर्क स्थापित गरे | पहिला मित्रता भयो, घनिष्ठता बढ्यो अनि प्रेमका कुरा हुन थाले |
मेरो पात्रले उसलाई बिछट्ट मन परायो | उसले प्रेमप्रस्ताव राख्यो तर शर्त पनि | उसको शर्त थियो, "दुई वर्षकी सानी छोरी र छोरीकी ममतामयी आमालाई पनि स्वीकार्नुपर्ने |"
केटी झस्कीई अनि ठाडै अस्वीकृति दिई |
एकदिन अकस्मात् मेरो भेट भयो उसँग |
"कस्तो झुर पात्र तपाईको |" ऊ रिसाई |
"के गरूँ त ? यो कथा नै आधुनिक थियो |" मैले भनें |
"छि: यस्तो नि सम्भव छ ?" ऊ जंगिन थाली |
"कथा भनेकै फरक धारको हुन्छ | साधारण कुरा त जहिले पनि हुन्छन् नै |"
"भो, त्यस्तो कथामा पात्र बन्नुछैन मलाई |" टाउको बटार्दै उसले भनी |
म भने पात्रको खोजीमा आफ्नो बाटो लागें |
६. मलाई राम्ररी थाहा  के सोचिरहेछ   मलाई बताउन चाहँदैन तर मैले एकेक जानकारी राखेको छु  बताओस् पनि कसरी  आखिर जनावर  हूँ   सोच्दैछ आफ्नो कथाको बारेमा 
 पात्रको खोजीमा   उसले अचम्मको कथा लेख्ने सोचेको    सोचिरहेको   एक्लै सम्झेर आफ्नै दुनियामा हराइरहेको   तर  उसलाई सम्पूर्ण रूपमा देखिरहेको छुउसले सोच्ने हर कुरा छर्लंग बुझिरहेको छु । अब त अति भयो । कति साँध्नु मौनता । म उसलाई सम्झाउने निर्णय गर्दछु र भन्छु, "पात्र भेट्यौ  ?"
झसङ्ग हुन्छ   यताउता हेर्छ  कसैलाई देख्तैन  परतिर टेबुलमा झिंगाहरू झुम्मिरहेकै छन्  कुकुरहरू त्यहिं आइपुगेका छन्  घामकिरीहरू सुनौलो प्रकाशमा उड्दै छन् बगैंचामा   उठ्छ  बस्छ 
"यता हेरआफैंभित्र   तिमीभित्रको जनावर हूँ "
6. चिल्लो रेलगाडी | अनेकौं अपरिचित अनुहारहरू | मेरो पात्र त्यसै भीडमा अल्झिएको छ | मोबाइलमा व्यस्त तन्नेरी युवतीहरू, कालो चस्मामा लुकेका युवकक लोभी आँखाहरू | कामको तालमेल मिलाउंदै फोनमा बोलिरहेको व्यापारी (सायद), बच्चा सम्हाल्दै बसिरहेकी महिला | ओह झर्ने ठाउँ आइसकेछ | त्यहाँबाट फेरि अर्को रेलगाडी चढ्नु थियो | स्टेशनमा अर्को गाडी देखेर हतारहतारमा उसले गाडीमा ठाउँ जमायो | गाडी खुरुरु हिडीहाल्यो | ए ए ए अघि आएकै बाटोतिर पो फ़र्किएछ | "रोक न |" कसलाई भन्नु र ? खलासी भाइ कता हो कता ? त्यो आधुनिकताले भरिपूर्ण शहरको डिजीटल खलासीले मेरो पात्रको अनुनय सुन्ने कुरै भएन | अर्को स्टेशनसम्म पुग्नुको कुनै विकल्प रहेन |
८. पात्रमा अनुवन्धित हुनुअघि खेलको नियम मैले बताइदिएको थिएँ | सुस्तरी हिंड्ने, बाटो राम्ररी काट्ने, बेलाबेलामा विश्राम गर्ने तर हिंड्न नछोड्ने | तर मेरो पात्र दौडिरहेको छ | कतै नहेरी | शिखर पुग्ने ध्याउन्नमा बेस्मारी कुदिरहेछ | म प्रश्न गर्छु, "साथी, यसरि दौडिन पनि आवश्यक छैन है |"
ऊ सुन्दैन र झन् दौडन थाल्छ | मलाई डर लाग्दैन, यस्तरी दौडेर त मेरो पात्र स्वर्ग पनि छिट्टै पुग्ने त होइन ?
९.अस्ति बाटोमा बेवारिसे भेटेको थिएँ, अहिले त त्यता पुगेछ । ठाँटिएको, चिटिक्कको, अंगहरू पनि विकसित भएका, साँच्चिकै सुन्दर । सोधें, "तपाईं कसरी यहाँ ?"
उसले भन्यो, "रहरले आको हूँ र थोरै । च्याप्पै समाते । टाउकोमा घनले बजारे, जताततै फलामले हिर्काए । त्यसपछि रङ्गीन कपडाका टुक्राहरू बाँधिदिए । रङ पनि लगाए थरिथरिका । सोझै ल्याएर यहाँ थुनिदिए । त्यसपछि मलाई बहिरो सम्झेर जोडजोडले घण्ट बजाउँछन्, शङ्ख फुक्छन् । मलाई चाप्लुसी गर्न थालेका छन्, 'बिन्ति त्यति गर्देऊ म यति पैसा दिउँला' भन्छन्, अलिअलि पैसा फाल्छन् पनि, तर म लैजान्न । उनीहरूमध्येकै खै कुन आएर लैजान्छ । सबै गर्न सक्ने मलाई ठान्छन् अनि आफ्नो क्षमता चटक्कै बिर्सन्छन् । सबै जिम्मेवारी मेरो ठान्छन् बरु आफ्नो कर्तव्य भुल्छन् । हेर्दाहेर्दै यस्तो भइसक्यो, हिजो म ढुङ्गा थिएँ मलाई मन्दिरमा ल्याएर उनीहरूले भगवान् बनाइदिए । तर सँधै सँधै मन्दिर धाउने उनीहरू स्वयम् ढुङ्गा भएका छन् ।"
मन्दिरमा भेटिएको ढुङ्गा, आजको पात्र ।
१०. खुला मैदानमा रमाउंदै थियो मेरो पात्र |
"कहाँ हराइरहेका छौ स्वतन्त्रतामा ? जाऊ त्यो गाउँमा |" बाटो पछ्याउंदै ऊ गाउँ पस्यो |
"यसरी बरालिने हो ? जाऊ त्यो बस्तीमा |" ऊ त्यतै लाग्यो |
"किन बेकारी बनेको ? उ: त्यो घरमा जाऊ |"
ऊ खुरुखुरु घरतिर गयो | असंख्य कोठाहरू थिए | "यसरी अलमलिने हो ? त्यस कोठामा प्रवेश गर |"
बीचको कोठा देखाइयो | मेरो पात्रले शिरोपर गर्यो |
"किन डराइरहेको ? आऊ कुनामा बस |"
अझ भित्र छिर्यो ऊ | "अरे तिमी यहाँ ? जाऊ उ: त्यो कोठामा |"
अझ भित्रको अन्धकार कोठामा पुग्यो ऊ |
"हरे कति संकुचित भएको ? कति साँघुरिएको ? खुला आकाशमुनि जाऊ | विचरण गर खुला मैदानमा | रमाऊ, स्वतन्त्रताको उडान भर |" त्यहाँ प्रवचन दिइदै थियो मेरो पात्र र ऊजस्तै धेरै शिष्यहरूलाई | तर सबैले आफू आएको बाटो बिर्सिसकेका थिए |


Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

लाङटाङ पदयात्रा र अनुभवहरू