दुधे दाँतको समस्या र उपचार
http://kantipur.ekantipur.com/news/2016-03-12/20160312101046.html
(kantipur national daily)
(kantipur national daily)
फाल्गुन २९, २०७२- हामीमध्ये धेरैलाई मानिसको पुरा जीवनमा दाँत दुईचोटी आउने तथ्य अवगत नै छ । मानिस जन्मेपछि २० वटा दाँत उम्रिन्छन् र यिनीहरू क्रमश: साटिन्छन् । वयस्कमा ३२ वटासम्म दाँत हुनेहुनाले बाँकी १२ दाँत भने पछि आउँछन्, जुन साटिँदैनन् । जन्मेपछि सुरुमा देखापर्ने दाँतलाई जनजिब्रोमा दुधेदाँत भनिन्छ ।
यी दाँतका परावर्तीय सूचक दूधसँग मिल्ने भएकाले यसो भनिएको हो । सामान्यतया बच्चा ६ महिना भएपछि मुखको अगाडितिरको च्यापुमा पहिलो दाँतहरू देखापर्छन् र लगभग ३ वर्षसम्ममा २० वटै दाँत आउँछन् । अनि ६ वर्षदेखि दाँत साट्ने प्रक्रिया सुरु भई १२–१३ वर्षसम्ममा सम्पूर्ण नयाँ दाँत आइसक्छन् । परन्तु कसैमा यो क्रम ढिलो—चाँडो हुनसक्छ ।
दुधे दाँतहरू पनि वयस्कमा हुने दाँतजस्तै खाना चपाउने प्रयोजनका लागि प्रकृतिले हामीलाई दिएको हो । तसर्थ खानालाई चपाएर मिहिन तुल्याएर पाचनयोग्य बनाउन दुधेदाँत सबल हुनु आवश्यक छ ।
यस बाहेक बढ्ने उमेरका बच्चाहरूको च्यापुको हाडको वृद्धि र विकासमा दुधे दाँतको भूमिका हुन्छ । यस्तो भनिन्छ कि खानामा परहेज गर्ने सम्भावना मुखको स्वास्थ्य कमजोर भएका बच्चामा स्वस्थ बच्चाको तुलनामा १२ गुणा बढी हुन्छ । मुख र अनुहारको सौन्दर्य पनि यी दाँतले कायम राखेका हुन्छन् ।
बच्चाको बोलीको सिकाइ पनि सानो उमेरमा सुरु हुनेहुँदा दाँतको सहायताले उत्पत्ति हुने बोलीको विकासमा अवश्य यिनीहरू काम लाग्छन् । दुधे दाँतको अर्को महत्त्वपूर्ण काम भनेको पछि आउने दाँतका लागि बाटो देखाउने र स्थानलाई सुरक्षित गर्ने पनि हो ।
अर्को शव्दमा भन्नुपर्दा स्थायी दाँत आउन्जेलसम्म त्यो भागमा दुधेदाँत रहिराख्नु अत्यावश्यक छ, यदि समय नपुगी दुधेदाँत निकालिएमा स्थायी दाँतले ठाउँ नपाउने, बाङ्गोटिङ्गो गरी आउने वा निकालिएको भागतिर छेउछेउका दाँत ढल्किने जस्ता विविध समस्याहरू उत्पन्न हुन सक्छन् ।
दुधे दाँतमा देखापर्ने सबैभन्दा समस्या भनेको दाँतमा लाग्ने किरा नै हो । वयस्कमा होस् या बच्चामा यो दाँतको स्वास्थ्यको ठूलो शत्रु हो । झन् बच्चामा यसको विगविगी धेरै हुनु स्वाभाविक हो, किनभने बच्चाहरू गुलियो खानेकुरा अत्यधिक सेवन गर्छन् भने दाँतको सफाइ गर्न उतिसारो अग्रसर हुँदैनन् ।
२०१३ मा भक्तपुरमा विद्यालय जाने उमेरका व्यक्तिहरूमा गरिएको अनुसन्धानमा ६६५ जनाले एकपटक, ३४५ जनाले दुईपटक, ७३५ जनाले बिहानमात्र, अनि २७५ जनाले रातिमात्र दाँत माझ्ने गरेको पाइएको थियो ।
किरा लाग्ने बाहेक दाँतको वरिपरि रहेको गिँजा सुन्निने, पाक्ने, दाँतमा चोटपटक लाग्ने, दाँतको किराको संक्रमण भित्री नसासम्म पुगेर हाड, गला, मुखको भित्री भाग र घाँटीसम्म सुन्निने समस्या पनि यदाकदा पाइन्छ ।
प्रारम्भिक चरणमा गरिने प्राथमिक तथा रोकथामजन्य उपचारहरू सजिला र सस्ता हुन्छन् भने जटिलता बढ्दै गएपछि हुने प्रबद्र्धनात्मक, उपचारात्मक र पुन:स्थापना सम्बन्धी उपचारहरू निकै जटिल, समय लाग्ने अनि खर्चालु पनि हुन्छन् ।
समयमा लगाएको बारले पशुबाट बालीनाली बचाए जस्तै समयमा गरिने उपचारले बच्चाको शारीरिक स्वास्थ्यको सुरक्षा त गर्छ नै, मानसिक तनाव हुन पनि दिँदैन । त्यस्तै बच्चाको शिक्षामा असर पुग्दैन र अभिभावकको समय र पैसाको बचत हुन्छ । विश्वभरि ६०–९० प्रतिशत स्कुले बालबालिकालाई दाँतमा किरा लागेको तथ्यांक रहेको छ ।
सन् २००४ मा नेपालमा गरिएको एक अनुसन्धान अनुसार १२/१३ वर्षका २५.६ प्रतिशतलाई दाँतमा किरा लाग्ने समस्या छ भने ६२.८ प्रतिशतलाई गिँजाको समस्या रहेको पाइन्छ ।
विश्वव्यापी रूपमा आँकलन गर्दा वार्षिक रूपमा मुखको स्वास्थ्य समस्याका कारण ५ करोड शिक्षा घन्टा गुमेको पाइएको छ । यी तथ्यहरूले पनि दुधेदाँत त हो, साटिएर गैहाल्छ भनेर नकार्न नहुने संकेत गर्छन् ।
नानीहरूको मुख र दाँतको स्याहार जन्मेपछि हैन कि जन्मनुपूर्व नै सुरु भैसकेको हुन्छ । कसरी भन्दा आमाले सन्तुलित आहार गर्नु, कुलतबाट मुक्त रहनु, आमाको दाँत र मुखमा रोग भए त्यसको उपचार गर्नु, प्रयोग गर्न नमिल्ने औषधी प्रयोग नगर्नु जस्ता कुरा बच्चाको समग्र स्वास्थ्य अनि दाँतको स्वास्थ्य दुवैसँग गाँसिएका विषयहरू हुन् ।
नानी जन्मेपछि दाँत नआउँदासम्म सफा र नरम कपडाले मुखको सफाइ गर्नुपर्छ भने दाँत आइसकेपछि भने सुरुमा अभिभावकले अनि पछि बच्चा आफैंले दाँतको सरसफाइ गर्न थाल्नुपर्छ । यसका लागि चार कुरामा ध्यान दिनु जरुरी छ ।
पहिलो, बच्चालाई सानैदेखि सिकाउने । दोस्रो, आफू पनि सँगै दाँत माझ्ने । तेस्रो, दाँत माझ्ने वा मुखको सफाइलाई झन्झटिलो हैन कि रमाइलो क्रियाको रूपमा विकास गर्ने । चौथो, सरसफाइमा बच्चालाई बढी सहभागी गराउने ।
अब चर्चा गरौं, बच्चाको दाँत र मुखसम्बन्धी स्वास्थ्यमा छुटाउनै नहुने केही कुराबारे । अभिभावकले बच्चाको दुधेदाँत भनेर खेलवाड गर्नु हुँदैन ।
निरन्तर सफाइ गर्ने, गुलियो खानेकुरा खान नदिने, दिनुपरे दिनभरि दिनुको सट्टा अन्य खानेकुरा खाएकै बखत दिएर तुरुन्त कुल्ला गर्ने वा दाँत माझ्ने बानी बसाउनु पर्छ । यस्तै यदि दाँतमा किरा लाग्न सुरु भएको छ भने ढिलो नगरी स्वास्थ्यकर्मीकोमा लैजानुपर्छ ।
अनि बच्चालाई दाँत दुख्नसमेत थालेको भए त झनै सतर्कता अपनाइहाल्नुपर्छ । बेला—बेलामा स्वास्थ्य संस्थामा लगेर बच्चाको दाँतको स्वास्थ्य परीक्षण गरियो भने भविष्यमा हुनसक्ने समयको नोक्सानी, आर्थिक व्ययभार र मानसिक तनावबाट बच्न सकिन्छ ।
प्रकाशित: फाल्गुन २९, २०७२
Comments
Post a Comment