कथाको भारीबाट केहि अंश

हो, मलाई कथा सुनाउन मन छ, तपाईंहरूलाई सुन्न मन नलाग्न सक्छ | परन्तु मैले थालिसकेको छु, सुन्ने-नसुन्ने तपाईंको रहर !


(तस्वीर १) विमान चढ्नेसाथ उत्तेजित म, उसलाई भेटेपछि केहिबेर सन्तुलित भएँ | उसको आवरण आकर्षक नभए पनि तुरुन्तै छाप बनाउन सफल भैसकेकी थिई | सिटको अगाडीको भिडियो स्क्रिन हेर्ने तरिका सिकाउने देखि खानेकुरा मगाउने लगायतका कुराहरूमा सहयोग गर्न थाली | मैले आफ्नो विमानकै पहिलो अनुभव भएको भनेर निरीहपन प्रकट गरें | उसले आफ्नो वखान थाली, "म ऐले १९वर्ष त पुगें | तर मेरो प्राय समय विमानमै बित्छ | कैले सिंगापुर, कैले मलेसिया, कैले हंगकंग, कैले कोरिया | २-३ महिनामा एक करोड वचत हुन्छ |"
म छक्क परें | उसले हेण्डीक्र्याफ्टको व्यापार गर्दीरहिछे | पहिले त पत्याईन मैले तर उसले विभिन्न ठाउँ पुगेको फोटो पनि देखाई | यथार्थ उही जानोस्, या इश्वर जानोस् | तर उसले यात्रामा रमाइलोपन ल्याइदिई | ट्रान्जिटमा के कसो गर्ने पनि सिकाइदिई |

तस्वीर २ :- मेरो भ्रमणको उद्देश्यको सानो हिस्सा एउटा कार्यक्रममा पुग्नु पनि थियो | तर सायद यै एउटा तस्वीर खिचेर कार्यक्रममा सहभागिता जनाइयो | सिक्नुपर्ने कुराहरू कैले पो सकिन्छन् र ? भित्र बसेर अलिअलि ज्ञानगुनका कुरा सुन्दा मन खुसी भएको थियो | हुन त जापानी भाषामा बोल्दै थिए प्रस्तोता | तर एउटा सानो यन्त्रको डोरीबाट निस्केको टुक्रो कानमा घुसारेपछि अंग्रजी लगायत थुप्रै भाषामा अनुवादित कुरो सुनिने प्रविधि रहेछ त्यहाँ | जे जे बोल्छ वक्ता, कानमा अंग्रेजीमा आइहाल्छ | 

 सुशील बैनीले अघिल्लो दिन नै जापानको अमेरिका लान्छु भन्दा मलाई के चै होला भन्ने लागेको थियो | कुरो यस्तो रहेछ  (तस्वीर ३) कलात्मक र दुरुस्तै "न्यायको मुर्ति" |


 (तस्वीर ४) यो खानालाई सुसी भन्दा रहेछन् | मेरो परिभाषामा चामलको भातमाथि एक पत्र काँचो मासु वा माछाको टुक्रो राखेर लेउले बेरेको एक गाँस !
हतपति मन नपर्ला भनेको त, मलाई सांचै मन परेर आयो |
 अनि यिनीहरूले सबैजसो अंग्रेजीलाई बिगारेर भनेजस्तै sky treeलाई सुकाई त्रि भन्ने गर्दा रहेछन् | यो अर्को विशेष आकर्षण रहेछ | विश्वकै सबभन्दा अग्लो स्तम्भ हो रे यो |
 ६३४मिटर अग्लो यो स्तम्भ विश्वको दोस्रो अग्लो चीज पनि रहेछ, ८२९मिटर अग्लो बुर्ज खलिफापछिको | चढ्न नपाए पनि परबाट हत्केलामा राखेर तस्वीर ५ खिचेर खुसी व्यक्त गरें मैले !
 "हासी" भन्छन् उनीहरू, अंग्रेजीमा chopsticks, नेपाली नाम के होला यसको ?
कसैले जुराएका छैनन् भने म भन्छु, खाप्टेरा ! (मकै भुट्ने सिन्काहरूलाई कप्टेरा भनिन्थ्यो गाउँतिर, खाने सिन्कालाई खाप्टेरा भन्दा अत्युक्ति नहोला नि ?)
जे होस्, चाउचाउ र चाउमिन त नेपालमै पनि खान्थें मैले | उता जे पनि यसैले खाने | म अछुतो रहिन | तस्वीर ६ मा पोज दिएको मात्र हैन | उता रहुन्जेल भातसमेत खाप्टेराले नै खाएँ मैले !


 तोक्यो फुत्त पुगेर फर्किने हो भने जापान तराई लाग्न सक्छ | तर यताउता डुल्दा पहाडको बाहुल्यता देख्न पाइयो | तर अचम्म ती पहाडमा उकाली-ओराली गर्ने बाटोहरू देखिएनन्, बरु मुसाले परेका दुलाजस्ता सुरुङहरू | यति धेरै कि, सुरुमा त गनौं कि झैं लाग्यो तर सकिएन | तस्वीर ७
 यी फ्रिज (तस्वीर ८)जस्ता पसल हुन् | पसले हुँदैन तर सजाएर राखेका अनेक पेय जिनिसको मुनि मूल्य लेखेको हुने रहेछ, अनि पैसा हाल्ने सानो च्याप, त्यसमा पैसा हालेर मूल्य दबाएपछि भनेको चिज फुत्त  निस्कने | तर एउटा कुरा याद गरिहालें मैले, ती टिलिक्क टल्किएका सामानजस्ता देखिने चैं केवल कागज/प्लास्टिकका प्रतिनिधि मात्र रहेछन् | खास सामान चैं तलको बाकसपछाडि राखिने रहेछन् | हल्का बाठो भैदिएको क्या  म !


 ट्रेनभित्र मेरा जिज्ञासु आँखाले त्यहाँका मान्छेहरूलाई हेर्न थाले | अचम्म ! सबजना व्यस्त छन् मोबाइलमा | हरेक दिन, हरेक ट्रेन, हरेक समय यो दृश्य देखिने रहेछ | (तस्वीर ९)
 सेल्फी त जतासुकै प्रसिद्ध छ | यो भ्रमण अपवाद रहेन | सेल्फी स्टिकले गर्दा सेल्फी झन् सजिलो | तर स्टिकमा जोडेको बेला फोन आयो भने गाह्रो हुने पो रहेछ, जस्तै रुपेश भाइ (तस्वीर १०,) !
तर तत्काल हामीले यसलाई नयाँ विकास भन्न थाल्यौं | पछि यस्तो खालको मोबाइलको आविष्कार भए झन् मजाको पो हुन्थ्यो कि !
 सेल्फीको अर्को सेल्फी, यो चैं मेरो आफ्नै प्रयोग ! राम्रो छैन त ? (तस्वीर ११)
 तस्वीर १२ ले एउटा रिक्सासम्बन्धी अंग्रेजी कविता याद दिलाउँछ | विश्वमै बुलेट ट्रेनजस्ता सवारी चलाउने देशले मान्छेले तान्ने रिक्सा यसरी चलाइरहेको अचम्म छैन त ? यसको आफ्नै ऐतिहासिक स्थान होला अनि पर्यटकको रुचि पनि धेरै होला | तर आफैंमा अमिल्दो भएको मैले महसुस गरें |
 अग्ला घरको नकुरा गरौँ, जता नि थिए | एउटा चैं त्यहाको नगरपालिकाजस्तो रहेछ, जसमा निशुल्क पसेर ४०तला माथि पुग्न पाइने रहेछ, त्यहाँबाट तल हेर्दा यस्तो देखिएको थियो (तस्वीर १३)|
 सिनकानसेन, अर्थात् बुलेट ट्रेन | पुरै तस्वीर खिच्न त खै कोण मिलाउन गाह्रै परेकोले होला झट्ट यो खिचियो | (तस्वीर १४)
 बाटोमा गुड्दै गर्दा चियाबारी देखें, बग्रेल्ती खम्बाहरू अनि पंखाहरू (तस्वीर १५) | हैन उता हामी गर्मीले खलखल हुँदा घरमा नपाउने सुविधा यहाँका चियाहरूलाई किन ?
मामाले भन्नुभो, "तुषारो धपाउने प्रविधि हो चिया बचाउन |"
म छक्क परें !
 तस्वीर १६ गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको प्रमाण पत्र हो, राति खिचिएकोले स्पष्ट नहोला | यसमा संसारकै काष्ठनिर्मित लामो साँघु "होराई बासी"लाई सम्मान गरिएको छ | पूर्णत: काठबाट बनेको यो साँघुको लम्बाई ८९७ मिटर रहेछ |

 दिउँसै तारा देख्नु भनेको त नेपाली भाषामा एउटा टुक्का छ | जुन असम्भव भावमा भनिए तापनि सिजुओकाका एक वैज्ञानिकले यो दुरबिनबाट तारा देख्न सकिने बनाएका रहेछन् | उनले यस्ता थुप्रै दुरबिन बनाएका रहेछन् तर सबभन्दा ठुलो चाहिं उनले आफ्नै जन्मभूमिमा राख्न रहर गरेका थिए रे | तस्वीर १७ 

३७७६मिटर अग्लो टाउको सेतो भएको उ:त्यो परको हिमाल जापानको सबभन्दा अग्लो शिखर फुजी हो | बच्चाहरू पनि यसलाई देख्नेसाथ "फुजीसान" भनेर उफ्रिन थाल्दा रहेछन् | मैले पनि एउटा रमाइलो पार्कबाट टाढाको फुजियामाको यो तस्वीर तानिहालें |(तस्वीर १८)

Comments

Post a Comment

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

लाङटाङ पदयात्रा र अनुभवहरू