In Search of A Character

पात्रको खोजीमा (पाँचौं भाग) 

1. S05, E01

बसमा यात्रुहरू कोचाकोच थिए । ठेलमठेल थियो । भीडमा बसेका यात्रुले "खै झोला दिनुस्" भनेर उठेका यात्रुलाई सहयोग गर्थे । बच्चा बोक्ने महिलाका लागि सिट छोड्दथे । अभाव, समस्या र कठिनाइ भए पनि उनीहरू सहिष्णु थिए, बुझ्झकी थिए, ज्ञानी थिए । किनभने देशमा गणतन्त्र आएको थियो । भर्खरै संविधान आएको थियो । 
यस्तैमा नक्सालबाट महाराजगंजतिर जाने त्यो बसमा एकजना महिला चढिन् । कोचाकोच भए तापनि उनले बसका अघिल्तिरका दुई सिट प्रष्टै देखिछिन् । ती सिटको मास्तिर "महिला सिट" लेखिएको पनि उनले देखिन् । र, तिनै सिटमा बसेका पुरुषलाई झनै मजाले देखिछिन् ।
"ल भाइ ट उट्नु परो । मइलाको सितमा काँ बस्याको ?" नेवारी लवजमा उनले भनिन् ।



केहीबेर पुरुषले आनाकानी गरे तर सकेनन् । अन्तत: महिलाले बस्न पाइन् ।
बसेपछि उनले मुस्काउँदै भनिन्, "क्या गर्नु, मइलाले पायाको अढिकार भनेकै यै एउता छ ।"
बस यतिखेर शीतलनिवास पुगेको थियो । नजिकै "राष्ट्रपति भवन" लेखिएको बोर्ड देखियो । केहिदिन पहिले दोस्रो राष्ट्रपति निर्वाचन भएकोले सायद त्यसलाई थप सिंगारिएको थियो ।
2. S05; E02

भाषा सिकाइको क्रममा सेन्सेइ(गुरुमा)ले चिनिया भाषाको प्रसंग निकाल्नुभयो । चिनिया भाषा रोचक हुनेरहेछ । उनीहरूको अक्षर भन्दा पनि हरेक शव्द नै फरक हुँदारहेछन् । मान्छे लेख्नुपर्दा यस्तो- 人 लेख्दारहेछन् । मलाई बच्चाबेलामा मान्छे बनाएको सिन्के चित्र याद आयो, जसमा टाउको र दुई हात पनि हुने गर्थे । तर आजको मान्छे यो चिनिया शव्दजस्तै मुर्कट्टा भएको छ । मान्छेको मानवता, स्नेह, प्रेम र कर्तव्यको केन्द्र मस्तिष्क नै हो, जुन आजको मान्छेले गुमाउँदै गएको छ । कैले यो शव्दमा फेरि टाउको गाँसिएला ?
3. S05, E03

कामले क्लान्त शरीरलाई सानो विश्राम दिन म एकछिन चियापसल छिरेको थिएँ । 
एउटा कुनो पसें । भित्तेघडीको सुईरो घुमिरहेको थियो । 

चियाको वाष्पमा सूर्यको पहेंलो किरण प्रक्षेपित हुँदा परतिर भित्तामा तेसको छायाँ आकर्षक देखिएको थियो । 
मैले आफ्नो नजिकै हेरें । दुई मेचहरू र एउटा टेबल स्थाना थिए । तर चलायमान दुई टाउकाहरू देखिए ।
उसले सुस्तरी टाउको उठाएर उसको काँधमा राखी । त्यसैबेला उसले पर्दा तान्यो ।
सायद त्यो पर्दाभित्र विस्मृत थिए केहि यथार्थहरू । र, स्थापित थिए अरु भ्रमहरू ।
भ्रम र यथार्थको सुक्ष्म भिन्नता थियो । जसलाई देख्दथे केवल प्रकुपित नजरहरू । तेसो त यो क्षणभंगुर संसारमा कालजयी को नै छ र ? सबै सबै भ्रमहरू पनि यथार्थ मानिन सक्तछन् अनि यथार्थ मानिएका मान्यताहरू केवल भ्रम हुन पनि सक्तछन् ।
तैपनि दुनियाले मानेका मान्यताको एउटा प्रश्न उसले तेर्स्याई, “के हाम्रो मायाको यो सागरमा सदैव पौडिन सकौला हामी ?”
प्रेमले प्लावित भएर उसका कोमल अधरमा चुम्दै उसले सान्त्वना दियो, “समय त सधैँ यौटै त हो । तर आज किन यो फरक छ ? किन यो मिठो छ? सोच त। आज तिम्रो र मेरो समयको टुक्रा मिलेर सुरम्य समय बनेको छ ।
यसलाई भत्काउने कोशिश नगर । भोलि हाम्रो वशमा छैन, त्यसको बारेमा नसोच । ”
खुसी भएर वा चिन्ताले हो उसले दुई थोपा आँसु निकाली । हठात उनीहरू उठे र अपरिचित मान्छेहरूझैं बोल्दैनबोली एउटा पूर्व र अर्को पश्चिम लागे ।
घडी निरन्तर चलिरहेको थियो केही नदेखेझैं ।
4. S05, E04

उमेरले साठीको आसपासमा थिए उनीहरू | सँधै पत्नीले हात समातेर पतिलाई भित्र ल्याउँथिन् | लगभग आधा उमेरको मलाई दुवैजना नमस्कार गर्दथे | पतिको एउटा दाँत भाँचिएकोले उनी मेरा विरामी थिए | अरु दिनभन्दा आज फुर्सतिलो भएकोले यी प्रेमिल जोडीसँग केहीबेर कुराकानी गर्ने अवसर पाएँ |
"सारै दु:ख पाइयो डा.साब | दशैँको फूलपातीको दिन रातिको घटना हो |"
मैले जिज्ञासु भएर सोधें, "के भाको थियो त्यो दिन ?"
दुवैले बेलिबिस्तार लाए, धेरैजसो पत्नीले भनिन्, "राति पसल धेरैबेर चलाको त्यै दिन, अकस्मात् दुईतीनजना छिरेर सटर तानेछन् | बुडा भित्रै हुँदा कराउन चिच्याउन नपाई लाठोले हानेछन् | चारपाँच लाख लुटेर भागे | धन्य ज्यान बच्यो, भगवानको शरणले |"
"ओहो, अनि दाँत मात्रै यस्तो भाको ?" मैले सोधें |
"काँ हुनु ? दिमागमा चोट परेको नि | हिडाई नै बिग्रेको थ्यो, आँखा पनि पैला काँ यस्तो बाहिर निस्केको थ्यो त? कति हो कति दु:ख पनि | घरी न्युरो, घरी आँखा, घरी दाँत गर्दा गर्दा तीन लाख सकियो होला |"
"ती अपराधीहरूलाई पुलिसले केही गरेन ?"
निराशाको सुस्त सुस्केरा हाल्दै पतिचाहिँले भने, "के गर्थ्यो, पार्टीको मान्छेहरू रहेछन् | दुई दिनपछि छोडिदियो |"
उनीहरू गएपछि म सोचमग्न भएँ |
सरकार जनतालाई आयकर. बहालकर, यो कर, त्यो कर आदि अनेक कर तिर्न लगाउँछ, अनि गुण्डाहरू पाल्छ | तिनै जनतामाथि लाठो बजार्छ र फेरि महँगा अस्पतालको आम्दानी बाढाउंछ र ती अस्पतालबाट पनि कर उठाउँछ | हाय विडम्बना !
5. S05, S05
“उजाड पहाडको फेदमा अवस्थित विशृंखल बस्तीहरूभित्र कतै हराएको सानो गल्ली छ | बाटोको दुवैतिर विद्रुमले सजिएका रुखहरूले अवगुण्ठित सुन्दर बगैंचा छ, जहाँ थोरै फुल्न खोजेका गोदावरीका कोपिलाहरू छन् | मध्यभागमा एउटा पीपलको रुख छ, काँडेतारका डोरीहरूले घेरिएको त्यस वृक्षको समीप पुग्न कठिन छ | एउटा पृथक शितलता दिने हावा हम्किरहन्छ त्यसले | खै कसरी लत लाग्यो मलाई त्यस हावाको | सानो फुर्सतको टुक्रा पाउँदा पनि दौडेर जान्छु र लिन्छु त्यो मिठो हावा | फोक्सोभरि तानेर आफैंमा हराउँछु | त्यो हावाको स्पर्शमा के छ ? त्यसलाई पाउनुको प्राप्तिमा के छ ? त्यो पाउने संघर्षमा के छ ? त्यो मिलनको उत्कर्षमा के छ ? यी प्रश्नहरूले बिझाउन खोज्छन् तर सोच्दछु, जीवनमा सबै कुरा सँधैभरि कसैलाई पुग्ने होओइन | आखिर जीवन भनेको मनले मागेका चाहनाहरूको टाकुरामा उभिएर खुसीको सगर छुनु पो हो कि ?”


6. S05, E06

सहर रक्तश्वेत ध्वजहरूले रंगीन बनेको माहोल छ | जताततै विविध नाराहरू छन् | यस्तै एउटा नारामा मेरो आँखा पर्छ | 
"...............को नेतृत्वमा बनायौं संविधान, विकास र निर्माण अबको हाम्रो काम" | छेउको तस्वीर हेर्छु | उही चीरपरिचित अनुहार छ | अझै परतिर हेर्छु उनको बयान छ, ......, स्पष्टवक्ता, हठी, त्यागी, सही निर्णय गर्न सक्ने, आफ्नो विचारमा नडमगाउने, आदि आदि |
ओहो ! कस्तो अचम्म छ समय ? केहि समय अगाडीसम्म सबैभन्दा बढी सत्तोसराप गरिने उनी थिए | लोभी, अनिर्णयकोबन्दी, अस्पष्ट बोल्ने, पदलोलुप, बाह्यशक्तिको निर्देशन मान्ने आदि आदि | स्वयम् आफ्नैहरू यस्ता आरोप लगाउँथे, आज सबै विशेषणहरू ऐनाले आकृति उल्टो देखाएझैँ बदलिएछन् | किन त ?
त्यो तस्वीर. जुन ऐले केवल तस्वीर छ, केहि समयअघि सशरीर उपस्थित हुने गर्थ्यो |
नेता असल बन्न केवल तस्वीर बन्नुपर्ने रहेछ |
हर्न बजेपछि झस्किएँ, म सोच्तासोच्तै केहीबेर हराएछु |
7. S05, E07

संयोग पनि कस्तो ! न्युरोडको पाँचौ तलाको शपिंग मलमा किनेको छहजार छसय पचासको झिल्के जुत्ता र रत्नपार्कको आकाशे पुलमा सातसयमा किनेको झुत्रे जुत्ता एउटा घरबाहिर फुकालिन पुगेछन् | मालिकहरू घरभित्र भएको मौकामा झिल्के जुत्ताले झुत्रे जुत्तालाई घुर्की लाउन थालिहाल्यो |
“ए तिम्रो भाग्य, मजसरी ठूलठूला महल चाहार्न पाएको छौ होला त ? आफू त रातभरि महँगो काठे र्याकमा बसिन्छ, बिहान उठ्यो वातानुकुलित कारमा पस्यो, अनि अनेक रुपरङ्गका महलहरू पुग्यो |”
झुत्रे एकछिन त वाल्ल पर्यो तर केहिबेरमा बोल्यो, “साथी, जता पुगे पनि जहाँ बसे पनि आखिर तिमी जुत्ता त जुत्तै त हौ नि | तिमी जस्तोसुकै महल, गाडी र र्याकमा रहे-पसे पनि आखिर मान्छेले तिमीलाई टाउकोमा कदापी लगाउने छैन |”
झुत्रे जुत्ताले भनेजस्तै कतै हामी पनि आफ्नो औकात, स्तर र उद्गमलाई हठात् बिर्सेर फोस्रो घमण्ड त गरिरहेका छैनौँ ?

8. S05, E08

गाउँमा....
एउटा भैंसी, एकहल गोरु, घरमा सानो नानी, अनि दुईकोस हिडेर पुग्नुपर्ने स्वास्थ्यचौकीको सामान्य नर्सिंग पेशा, घरभरि पाहुना | सघाउ गर्ने कोही छैन | तैपनि मुखमा सदैव मुस्कान | कहीकतै गुनासो छैन | हामी पुग्दा जसरी हाँसेर स्वागत गर्नुभयो, फर्किदा हाँसेर बिदाई गर्नुभयो साथमा आफैले दु:ख गरेर फलाएको आलु पनि कोसेली राखिदिनुभयो | 
अनि सहरमा....
तीनओटा कोठामा तीन ओटै महँगा टिभी, दुइटा कार, साँढे चारतले घर, तीनजना नोकर, घरबाट पाँच किलोमिटर टाढा रहेको मन्त्रालयमा अधिकृत स्तरको जागीर | तर मुहारमा सँधै तनाव | मैले नमस्कार गरें, फर्काउनु पनि भएन | चिया ल्यायो एउटा नोकरले, अलि खल्लो थियो | चिनी मागें, कसैले सुनेन |
चुपचाप निस्किएँ, बाटोमा हिड्दै गर्दा लाग्यो, ‘सम्पन्नताले मानवताको क्रुर हत्या गर्दोरहेछ’ 

9.S05; E09
चियापसलमा बस्ने ठाउँ थिएन । अन्त जाउँ कि सोचें । फेरि "यसपालि सिपमा मजा आयो यार" भन्ने आवाजले ध्यान खिच्यो । उभिएरै उनीहरूको कुरातिर कान लगाएँ र चिया मगाएँ ।
"माल्दिभ्स दामी लाग्यो यार ।"
"न्युयोर्कमा सुड्डीहरूको पार्टी थ्यो, बबाल मोज भाको यार । बिर्सनै सकिन्न ऐलेसम्म ।"
"तर ब्रो नेदरल्यान्ड्सको ट्रेन चैं हो यार ।"
"मलाई डेनमार्ककै मजाको लाग्यो ।"
पाँचवटा फरक ग्रुप, फरक कुराकानी । सबैका मीठा अनुभवहरू । सबैका रोमाञ्चक कहानीहरू । वाह ! युवाहरू ।
एकछिनमा एउटा ग्रुप उठ्यो, म बसें । अबको कति वर्ष अथवा दशक अथवा शताव्दीपछि नेपालको यसैगरी वर्णन गर्लान् त हाम्रा युवाले ? म सोचमग्न भएँ, चिया सेलाइसकेछ ।

10. S05; E10

बिहीबारको दिन खूब थाकियो | मस्त निदाइएछ | एकाबिहानै मोबाइल बजेर ब्युँझिएँ |
“हेलो.....” लेग्रो तान्दै भनें |
“ए अल्छी, कति सुतेको ? खुरुक्क गौशाला आऊ |” केक्के न भएजस्तो उसले च्याठ्ठिदै भनी |
“आज ? कहाँ के को गौशाला ? अफिस जानुपरेन ?” म अझै निद्रामै थिएँ |
“ए बुद्दु, आज विदा हो | छिटो उठ |”
अब भने उठ्न मन लाग्यो | क्यालेन्डरमा बिदाको सूचक चिन्ह थिएन | घडी हेरें, सात बज्ने आँटेको | तर गते-बार निस्कने ठाममा हेरें, SAT लेखेको | आफैंलाई हेरेर फिस्स हासें | तुरुन्त निस्किएँ |
स्याँस्याँ गर्दै पुगेको मलाई उसले भनी, “आज मौसम कति मनोरम छ हगि ?”
वरपर हेरें, शिरिषका फूलहरू फक्रिएर मिठो सुवास आइरहेको थियो | फराकिलो बाटो, थोरथोरै सवारी, आकाश नीलो, एउटा पनि बादलको टुक्रा नदेखिएको | कलकल आवाजमा बागमती बगिरहेकी |
“जाउँ वनकाली |” उसले मलाई समाती |
“हिंड, जाउँ |” म राजी भएँ | वनकालीमा घना रुखहरू भए त कति मजा हुन्थ्यो, मैले सोचें | नभन्दै वनकाली बेजोडले बाक्लो वन थियो, नामै वनकाली, निस्पट्ट कालो अन्धकारझैं वन |
“यहाँ एउटा सानो चौतारोजस्तो हुनुपर्ने नि ?” मैले लाडिदै भनें |
“उ: देखेनौ ?” उसले देखाई | एउटा सानो खिरिलो पिपलको रुख, वरिपरि बारेको, एकजोडी परेवा प्रेमालापमा व्यस्त त्यसैको सानो हाँगोमा | “अझ सानो पोखरी होस् जंगलको बीचमा”, उसले जिस्क्याई | नजिकै पोखरी पनि त रहेछ | हामी त्यतैतिर लाग्यौं |
पोखरी नजिकै बस्ने ठाम पनि | त्यो सुनसान थियो, मैले खोजेजस्तै | मलाई भन्न अप्ठेरो लागिरहेको थियो | उसले मेरो मन पढेझैँ भनी, “आऊ एकछिन बिसाउँ |”
म नजिक पुगें, काखमा टाउको तानेर राखी | केहिबेर मैले त्यहाँ पल्टिएर आकाश हेरें, नीलो आकाशमा बिस्तारै उसका रक्तिम अधर देखिए, केहिबेरमा अँध्यारो मात्र देखियो |
मनमा च्वास्स बिझ्यो, कसैले देख्यो भने | ऊ हठात् झस्कीई | एकजना मान्छे हामीतिर दौडिदै आयो | “गइहाल्ने, भागीहाल्ने, झट्ट |” उसले चेतावनी दियो |
कस्तो नराम्रो मान्छे | मैले मनमनै सोचें | “बरु पानी परेको भए कोही आउन्नथ्यो होला है |” ऊ मसँग टाँसिदै भन्दै थिई | झ्वार्र पानी दर्किन थाल्यो, झन् भिजियो | भिजेको मुसोजस्तै भएर सडकमा ओर्लियौं हामी | गन्तव्य फरक थियो, छुट्टियौं |
कोठा पुग्दा साँझ पर्नै लागेको थियो | मनमा ग्लानि या चिन्ता छायो | आज बिदा नभएको भए यस्तो हुन्थेन नि, यस्तै सोच्दै थिएँ, फोन बज्न थाल्यो |
“ए ....जी, कता हो तपाईं ? खबरै नगरी यस्तो त गर्नुभएन नि !” अफिसको हाकिमको नमिठो स्वरले कान टिनिनी गर्न थाल्यो |
“हैन सर, आज शनिवार पनि के खबर गर्नु ? बिदा ...” मैले पूरै बोल्न नपाई उसले कुरा काट्यो |
“तपाईं सद्दे त हुनुहुन्छ ? एकचोटी घडी हेर्नुस, क्यालेन्डर पल्टाएर हेर्नुस् |” मैले नाडीको बाहुला सुर्किएर घडी हेरें, FRI लेखिएको थियो | म किंकर्तव्यविमुढ भएँ | टोलाइरहें |
_________________________
यस अंकको न शीर्षक दिन सकें, न निष्कर्ष ! पाठकको जिम्मा ल |

11. S05; E11
-----------------------
अकस्मात् गाडीले धर्म छोड्यो । चलाइरहेका गुरुजीले भने, "पिक अप लिएन ।"
हामी हताश भयौं । सडक विभागले सडक विस्तारार्थ बाध्य पारेको चारघण्टे सवारी निषेधलाई उनले पार गरेका थिए भर्खरै । अन्यथा चार घण्टा पट्यारलाग्दो हुने थियो । तर फेरि कुरा उही । बीच बाटोमा गाडीले तान्न छोडेपछि झन् तनाव भयो ।
गुरुजी यत्रतत्र फोन गर्न थाले । म भने तल्तिर बगिरहेकी नदी हेर्दै बसें । दुईजना यात्रु आए । "गजब ठाउँ भेट्नुभएछ ।" एकजनाले भने ।
म मुस्कुराएँ । "यो नदीले कति मान्छे खायो त?" उनीहरू बोल्न थाले । "कति नेता, कार्यकर्ता ।" अर्कोले थप्यो ।



"विचरा नदीले के खानु, उपयोग गर्न जान्नेले यसैलाई स्वर्ग बनाउँछन् । बाहिरी मुलुकमा कस्ता जोखिमपूर्ण ठाउँमा मजाका रोड बना'का छन् ।" एकजनाले दुईचार मुलुकको उदाहारण थप्यो । नदी कलकल बगिरहेको थियो, एक हुल गाउँलेहरू माछा थाप्न नदी किनारमा थिए । उनीहरूको धिमी आवाज नेपथ्यमा सुनिदै थियो । परतिर तुइनबाट एक दुईजना मान्छेहरू नदी तर्नै लागेका थिए । "ल गाडी बन्यो ।" गुरुजी हाँस्दै त्यतै आए । हामी उठ्यौं ।

12. S05, E12

गफ गर्दागर्दै था भो; म नन-भेज, उनी भेज । भेजका बारे आकाश पाताल कुरा गर्दै थिइन् । आफ्नै ज्यान जस्तै सम्झनुपर्ने, विचरा कति दुख्दो होला । म त हेर्न पनि सक्दिन आदि आदि ।
मुग्लिङ पुगेपछि पोलेको मकै खाने प्रस्ताव गरें । उनले भनिन्, "मृत मान्छे पोलेको कोइलामा पोल्छ । आत्मा त्यसैमा हुन सक्छ ।"
रामबजारमा माछा देखेपछि मन थाम्न सकिनँ । उनले काँक्रा खाइन् ।
खाइसकेपछि सोधें, "जन्मजात भेज ?"
"हो, खास त ननभेज मान्छे मन पनि पर्दैन ।" मुस्काउँदै भनिन् ।
एकछिनमा आ:ह गर्दै मेरो छेउ आइन् । "आँखामा के पस्यो हेर्दिनू न ।"
मैले उनका परेली फट्टाएर हेरें । एउटा मृत भुसुना प्रष्ट देखियो ।
"भुसुना रहेछ ।" निकालेर उनको हातमा राखें ।
अघिदेखिका कुराहरूमा यो कुरा जोडूँ कि लाग्यो । सोचें; फेरि चूप बसें । उनले चाउचाउ निकालिन् र सोधिन्, "भेज चाउचाउ खाने हो ?"
13. S05, E13
-
"आज होइन, हरेक पूर्णिमामा मात्रै खुल्छ |" मन्दिरको ढोकामै मलाई रोकियो | 
"हैन ईश्वरसँग भेट्नुछ |" मैले भनें, मानौं ईश्वरले मलाई आजै बोलाएका थिए | मैले थपें, "ईश्वरलाई भेट्न पनि रोक्न मिल्छ र ?"
पूजारी मुस्कुराए, "ल दर्शन गरेर फर्किहाल्नू |"
भित्र पसें | ईश्वर भर्खरै दिनचर्या सुरु गर्दै रहेछन् |
मैले अन्जुली फैलाएँ उनको अगाडि |
"यो त खालि छ त !" आश्चर्य मान्दै ईश्वर प्रकटमा आए |
"यसमा हावा छ प्रभू, हजूरको आहारा | मैले पाप चिताएँ होला ईश्वर, तर मलाई माफ गर्नुहोस् |" मैले विस्तारमा भनें | "मलाई प्रभूको पूजामा निर्दोष फूलहरू निमोठ्न मन लागेन, आखिर ती पनि हजूरकै रचना हुन् | मलाई हजूरकै थुप्रै भोका भक्तहरूको पेट मारेर चामल ल्याउन पनि मन लागेन | अनि पैसाको हजूरलाई के काम ? जैले मुख बाएर हावा ज्युनार गरिबक्सेको देखेको थिएँ, त्यसैले यो अन्जुलीभरि हावा टक्र्याएको छु प्रभू |"
ईश्वरले केहि बेर हेरे अनि भने, "हो, म पनि मोडर्न मान्छेको संगतले करप्टेड भैसकेछु | तिमीले मेरो आँखा खोल्यौ |"
उनले हात उठाएर आशीर्वाद दिए, म निस्किएँ |
14. S05; E14

बाटोमा फिरिङ्गी भेटियो । नाम ह्यारी रैछ । मैले ठट्टामै "राजकुमार हौ?" भनें । हुन त ब्रिटेनकै हो तर नाराजकुमार ! हिन्दी सापटी लिएर उसले ठट्टा गर्यो । एकछिन कुरा भयो ।
सानो काम गर्दोरहेछ उता ।
"दुई महिना जोडले काम गर्छु अनि बाँच्न सजिला देशहरू घुम्छु । साइकलमा हिंड्छु; सस्तो खान्छु । यताको त महँगै तरिकाले बाँच्न सक्छु, उता पो धौधौ पर्ने हो ।"
ऊ मजाले हाँस्यो, म फिस्स । मलाई कताकता देश दुख्यो, यहाँको मुद्रा दुख्यो, अर्थतन्त्र दुख्यो । र, उभिरहँदा खुट्टा दुख्यो । "यु आर वेलकम टु नेपाल" भनेर टाप कसें ।

15. S05; E15
\
विगत एक हप्ताका तीन-चार घण्टा यथार्थपुरबाट कल्पनापुर पुगेको थिएँ | कल्पनापुरमा पुगेका अमर न्यौपानेले हरिवंश आचार्यसँग उनको जीवन कथा सुनेर "करोडौं कस्तुरी"मार्फत् पस्केको एउटा रोचक, उत्तेजक, ज्ञानमुखी किताबमा हराउँदै गर्दा एउटा पानामा लेखिएका केहि पङ्क्तिले असाध्यै मन छोए |
ती यस्ता थिए...........................................
अहिले मलाई आफ्नो जीवनको सुगन्ध थाहा नपाएर भौतारिइरहेका करोडौं कस्तूरीहरूको याद आइरहेछ, जो आफ्नो जीवनको सुगन्ध थाहा नपाएर भौतारिरहेका छन् र भौतारिँदा भौतारिँदै थाकेर निष्कृय जीवन बाँचिरहेछन् |
जीवन धुँवामा उडाइरहेका लक्ष्मीप्रसाद देवकोटाहरू, भट्टीमा भड्किरहेका नारायणगोपालहरू, भैसी चराइरहेका रामवरण यादवहरू, चोक र चौताराहरूमा हँसाइरहेका मदनकृष्ण-हरिवंशहरू, यसै कुँजिएर बसेका झमक घिमिरेहरू, आवारा भई बरालिइरहेका विकासानन्दहरू, सय रूपियाँ बोकेर बरालिएका पुष्कर शाहहरू....
पटकपटक एसएलसी फेल भइरहेका रविन्द्रनाथ टैगोरहरू, तृतीय श्रेणीमा एसएलसी पास भएर दु:खी भइरहेका महात्मा गान्धीहरू, चिया बेचिरहेका नरेन्द्र मोदीहरू, खलासी काम गरिरहेका रजनीकान्तहरू, लम्बु भनेर सबैबाट होच्याइएका अमिताभ बच्चनहरू.....
अन्धो र बहिरो भएर तड्पिरहेका हेलेन केलरहरू, दाउरा चिरिरहेका अब्राहम लिंकनहरू, मन्द्बुद्धिका भनेर हेपिइरहेका अल्बर्ट आइन्स्टाइनहरू, स्कुलबाट निकालिएका थोमस एल्बा एडिसनहरू, भिख मागिरहेका च्यार्ली च्याप्लिनहरू, घरेलु कामदार भइरहेका म्याक्सिम गोर्कीहरू, कवाडी काम गरिरहेका स्टिभ जब्सहरू, सडकमा चना बेचिरहेका पेलेहरू, बिचैमा कलेज छोडिरहेका बिल गेट्सहरू, कुँजो भएर निरीह जीवन बिताइरहेका स्टेफन हकिंग्सहरू......
करोडौं कस्तुरीहरू, जो आफ्नो जीवनको सुगन्ध थाहा नपाएरै मरे |
___________________________________________
पढिसकेर यसो ऐनामा हेरें | लाग्यो, कतै "डान ब्राउन" सेतो कपडा लगाएर दाँत कोट्याएर बसिरहेको त छैन ?

16. S05, E16; अन्तिम भाग
------------------------
म पुग्दा सेनसेइ (गुरुमा) आइपुग्नुभएको थिएन | एउटा कुनामा बसेर यी बांगाटिंगा, देख्दै अप्ठेरा लाग्ने धर्साहरूसित पौंठेजोरी खेल्दै थिएँ, अगाडि बसेका एकजनाले मतिर हात बढाए |
कालो फ्रेम भएको चश्मा, गोरो अनुहार, ओठमाथि भर्खरै फक्रिएका जुँगा; एक पल्ट सरसर्ती हेरें र किताबतिर फर्किएँ | 
“यो.. कति बज्यो भन्न चैं के भन्नुपर्छ ?” उनले मैतिर हेरेर सोधे | 
“इमा नान्जी देस्का ?” मैले भनें | उनले गोजीबाट मोबाइल झिके र मैले भनेको कुरा नेपाली अर्थसहित रेकर्ड गरे |
“साँढे आठ भन्नलाई ?” फेरि प्रश्न |
“हाचिजीहान |” जवाफ |
रेकर्ड |
नौ, दश, एक, दुई.... गर्दै धेरैबेर सोधेपछि पट्यार पनि लाग्यो | उनलाई सल्लाह दिएँ, “युट्युब हेर्नुस् न, सबै हुन्छ | घरमा नेट होला नि ?”
“युट्युबको त मलाई कामै छैन |” उनले मुस्कुराएर जवाफ दिए |
“हँ ?” मैले आश्चर्य प्रकट गर्दै सोधें |
“म देख्न सक्दिन |”
मैले उनको बारे जान्न चाहें |
उनले बताउँदै गए | “साइन्समा प्लस टु पास गरेको छु | मजस्ता (दृष्टिविहिन) दुईजना मात्रै होलान् साइन्स पढेका सायद | आइटी पढ्न खोजेको, नेपालमा ‘सरी’ भनेर फर्काइदिए, बाहिर तेस्तो गर्दैनन् | भाषा सिकाउन खोलेका निजी संस्थाले पनि ‘सरी’ नै भने | त्यै भएर यो सरकारी कलेज आएको |”
उनको दृढ इच्छाशक्ति र अठोट देखेर म नतमस्तक भएँ |
-










Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

लाङटाङ पदयात्रा र अनुभवहरू