तेह्रथुम र "मोडिफाइड बास" तरिका (यात्रा संस्मरण)

मार्च १६, २००९
सोलुखुम्बु जाने रहर थियो जुन विविध कारणवश पूरा नहुने देखेपछि ओखलढुंगा जाने योजना बनाइयो । यस भ्रमणलाई नितान्त भ्रमण मात्र नभई शैक्षिक ढंगले पनि उपयोगी बनाउने जाँगर हामीमा थियो । यसैले एउटा अनुसन्धानात्मक प्रश्नावलीको खाका तयार पारियो, आवश्यक उपकरण जुटाइयो र तयारी पनि गरियो । तर त्यो पनि बन्दको कारणले सफल नहुने भएपछि बरु तेह्रथुमतिरको बाटो तताइयो ।
घर पुग्दा साँझको छ बजिसकेको थियो । आगन्तुक सहरीयाहरूको स्वागतार्थ सबै बसेका रहेछन् । स्थानीय स्कूलमा पढाउने दुई शिक्षकहरूसँग पनि भलाकुसारी भयो । केहीबेर पछि दिनभरिको थकानलाई बिसाउन हामी ओछ्यानतिर लाग्यौं । निद्रादेवीले चाँडै समाइन् ।

मार्च १७, २००९
पारिलो घामले डाँडालाई ढाकिसकेपछि जीउ तन्काउँदै हामी उठ्यौं । आज हामी स्कूल जाने कुरा थियो । कामको कुनै आशा थिएन । खाना खाइसकेपछि हामी लगभग पन्ध्र मिनेट उकालो चढेर स्कूल पुग्यौं । स्कूलको नाम कालिका प्रस्तावित माध्यमिक विद्यालय थियो । त्यहाँ पुगेर हामीले केहीबेर शिक्षकहरूलाई आफ्नो कार्यक्रमको बारेमा बतायौं । 
एकाध घण्टापछि हामी एउटा कक्षाभित्र पस्यौं । नाम, ठेगाना, कक्षा, घरमा दाँतमुखको समस्या, उपचार, खानेकुराको दैनिक तवरतरिका, चुरोटसुर्ती आदि कुरा सोधेपछि हामी मुख खोलेर टर्चको मद्दतले कीरा लागेका दाँत हेर्ने गथ्र्यौं । गाला र ओठलाई तन्काउनुपर्दा प्लाष्टिकको चम्चा प्रयोग गथ्र्यौं । सबैको दन्तस्वास्थ्य परीक्षण गरिसकेपछि मोडिफाइड बास तरिकाद्वारा कसरी दाँत र गिजा सफा गर्ने भनेर प्रशिक्षण दिइयो ।
यसपछि हामी घर फर्कियौं । घरमा कोदाको रोटी पाक्दै थिए जुन हाम्रा लागि अमृतसमान थिए  । मोही र रोटी खाइसकेपछि  पर खेततिर लाग्यौं । हिंड्दाहिंड्दै हामी एउटा जङ्गलको नजिकैको भीरमा पुग्यौं । यो ठाउँबाट प्राकृतिक छटाहरूको राम्रो अवलोकन गर्न सकिन्थ्यो । एउटा कुलोलाई पछ्याउँदै हामी घरतिर फर्कियौं । खाना खाएपछि  एउटा हिन्दी चलचित्र हेरियो । यो रात आनन्दपूर्वक नै बित्यो ।

मार्च १८, २००९
बिहान टाउको पखालियो । पानीले एकछिन त टाउकै गायब भएझैं लाग्यो । स्कूलमा परीक्षा एकबजेसम्म चल्ने भएकोले हामीले गाउँतिर पस्ने योजना बनायौं । तर यो मध्य दिउँसो हामीलाई कुरेर को बस्दथ्यो र ? जे होस् भेटिएका मानिसहरूलाई प्रश्न सोध्यौं, दाँतमुख हेर्‍यौं र शिक्षा पनि बाँड्यौं । उनीहरूको व्यवहार अत्यन्त सौहाद्र थियो । उनीहरू उत्साहित थिए । र, हामीले सिकाएको कुरा राम्ररी बुझेको बताउँथे । 
स्कूलमा व्यवस्थित ढंगले कक्षा ६, ७ र ९ का विद्यार्थीहरूको स्वास्थ्य परीक्षण सम्पन्न भयो । आज भने मन सन्तुष्ट थियो । हामीले सिकाएको कुराप्रति विद्यार्थीहरू पनि उत्सुक थिए । उनीहरूले हामीले सिकाएको कुरा बुझेको पनि हामीले पायौं ।  खुशी हुँदै हामी घर फर्कियौं । घरमा उसिनेको आलु, फर्सि र मोही खान पाएपछि सुनमा सुगन्धझैं भयो । 

मार्च १९, २००९

हिजोको अनुभवले गर्दा आज हामीले सखारै गाउँ चाहार्ने योजना बनायौं । मानिसहरूको राम्रो प्रतिक्रिया थियो । धेरैजसो महिलाहरू सहभागी थिए । जे भए पनि उनीहरू नयाँ कुरा सिक्न पाएकोमा खुशी थिए । उनीहरू काममा व्यस्त थिए । हामी घरघरमा पुगेर दाँतको स्वास्थ्यबारे हेर्न आएका भन्नेबित्तिकै एक जना महिला धूलो मञ्जन लिएर दाँत माझ्न हिंडेकी थिइन् । त्यस्तै एक वृद्ध भने त्यति बिहानै जाँड खाएर हामीलाई जिस्काउन उद्यत थिए ।
पानी पर्दापर्दै पनि पीठो कुट्ने काम सम्पन्न भयो । यसैले राति त झन् घुमाएको रोटी -सेल_ ले हाम्रो पेटप्रवेश गर्न पायो । अर्को दिन फर्किने भएकोले पनि हामीले बेर नगरी सुत्नु उपयुक्त ठान्यौं ।

मार्च २०, २००९
आज फर्किनुपर्ने दिन भएकोले मनमा अलिअलि संकोच र नरमाइलो लाग्दै थियो । विशेष गरी त्यो रमणीय वातावरण र सौहाद्र व्यवहारले मनमा डेरा जमाइकेको थियो । तर अझ समस्या बिहानै खाना रुच्ने सम्भावना पनि थिएन । यसैले जबर्जस्ति अलिकति खाना खाएर हामीले बाटो ततायौं । यसपटक हामीले वसन्तपुर नगई सिंधुवा हुँदै जाने सोच बनाएका थियौं ।
हामी अल्मलियौं । कसलाई सोध्ने < एकछिन यता र एकछिन उता गर्‍यौं । एउटा बाटोमा दश कदम हिंडेर विपरीत दिशातिर हेर्दा सानो बजार देखियो । त्यतै लागियो । तर  तीन घण्टा उल्टो बाटो हिंडेको चाल पाउँदा मन खिन्न भएको थियो । अब फेरि त्यही बाटोको समानान्तर अर्को बाटो फर्किनुको विकल्प थिएन ।झुक्किएर शुक्रबारे पुगेर फेरि  सिंधुवा पुगियो । 
खाजा खाइसकेर गाडी खोजेको बन्द भएको थाहा भयो । भाग्यवश एउटा ट्रक पाइयो र यात्रा सुरु भयो । साँझपख आरामसँग धरान  आइपुगियो । यो यात्राभित्र मीठो खानेकुरा मात्र खाइएन, गाउँपाखाको विचरण गरियो, सहरी दुर्गन्धी वातावरण र दुराशयी जीवनशैलीबाट मुक्ति पाइयो र अझ राम्रो कुरा आफ्नो ज्ञान बाँड्न पनि पाइयो । धन्यवाद भूषण, विभूषण, हजुरमा–हजुरबा अनि अंकल–आन्टी र सम्पूर्ण दाङ्गपाबासीहरू π

Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

लाङटाङ पदयात्रा र अनुभवहरू