पात्रको खोजीमा


फेसबुकमा शृंखलाबद्ध ढंगले पात्रहरूको खोजी गर्दै जाँदा थाकेर त्यसको विसर्जन गरियो । अनि ती टुक्राटाक्रीलाई ग्ल्यु लगाएर हेर्दा यस्तो बनेछ ।

भोलि के हुन्छ ?

(part 2)

मलाई राम्ररी थाहा छ, ऊ के सोचिरहेछ । ऊ मलाई बताउन चाहँदैन तर मैले एकेक जानकारी राखेको छु । बताओस् पनि कसरी ? म आखिर जनावर न हूँ । ऊ सोच्दैछ आफ्नो कथाको बारेमा ।
ऊ पात्रको खोजीमा छ । उसले अचम्मको कथा लेख्ने सोचेको छ । ऊ सोचिरहेको छ । एक्लै सम्झेर आफ्नै दुनियामा हराइरहेको छ । तर म उसलाई सम्पूर्ण रूपमा देखिरहेको छु, उसले सोच्ने हर कुरा छर्लंग बुझिरहेको छु । अब त अति भयो । कति साँध्नु मौनता । म उसलाई सम्झाउने निर्णय गर्दछु र भन्छु, "पात्र भेट्यौ त ?"
झसङ्ग हुन्छ ऊ । यताउता हेर्छ । कसैलाई देख्तैन । परतिर टेबुलमा झिंगाहरू झुम्मिरहेकै छन् । कुकुरहरू त्यहिं आइपुगेका छन् । घामकिरीहरू सुनौलो प्रकाशमा उड्दै छन् बगैंचामा । ऊ उठ्छ र बस्छ ।
"इ: यता हेर, आफैंभित्र । म तिमीभित्रको जनावर हूँ ।" म स्पष्टीकरण दिन्छु । "कस्तो पात्र खोज्दैछौ ?"
अलि आत्तिन छोड्छ ऊ । अब उसलाई सायद विश्वास हुन्छ । त्यसैले भन्छ, "जस्तो नि हुन सक्छ । तिमी पनि हुन सक्छौ । ।"
"उफ्, भोलिवादी पात्र चाहिएको तिमीलाई ।  मलाई बरु विगत मन पर्छ । जतिवेला तिमी र म यसरी छुट्टिएका थिएनौं, एकाकार थियौं ।।"
"विगतले नै त जन्माउने हो नि भोलि । र, भोलि पनि पर्सिको विगत त हो । पात्र बनेर त हेर । त्यसपछि तिमीले भनेअनुसार कथा बग्छ नि ।"
"हाहा ! म पात्र बनें भने त कथा बग्ने होइन जम्न सक्छ ।" म उसलाई अलिकति जिस्काइदिन्छु ।
"कुनै खोजेजस्तो पात्र भेट्यौ त ?"
ऊ बोल्दैन । म उसलाई सोध्छु उसको पात्रको गुण र कलाको बारेमा ।
ऊ भन्दै जान्छ, "मेरो चाहना यो कथाले भोलिको मिठास समेट्ला भन्ने थियो । अनि पात्र स्वतन्त्र होस् र यस कथालाई जता पनि लैजान सकोस् भन्ने इच्छा पनि । एउटा सुन्दर कथा तब बन्दछ, जब कथाकार र पात्रहरूबीच सफल सम्बन्ध स्थापित हुन्छ । म त पात्र खोज्दै थिएँ, वास्तविक दुनियाबाट । यसैले पात्र(हरू) र मबीच frequency मिल्नु जरूरी थियो । जसरी यो वायुमण्डलमा अदृश्य तरङ्गहरू लाखौं भए पनि FM station बाट आएको कुनै एउटा frequencyलाई हाम्रो रेडियोले समात्छ र आवाज प्रसारित हुन्छ त्यसरी नै असङ्ख्य पात्रहरूमध्ये नै कोही होस् जसको frequency मेरो कथाको भाव र बनोटसँग मिल्न जाओस् ।“...................................

Comments

Popular posts from this blog

February 14

Namaste Jharna: A short and sweet destination

पात्रको खोजीमा